अनुप र पूजा आलोपालो गरी कुखुराको स्याहार र रेखदेखमा खटिन्छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १४ टिकुलिगढस्थित तिनाउ नदीनजिकै उनीहरूको घर र लोकल कुखुरा फार्म छ।
कोरोना महामारीका बेला लकडाउनमै सुरू गरिएकोले फार्ममा चार सयमात्रै लोकल कुखुरा राखिएका छन्। कुखुरासँगै करिब १ सय बट्टाई पनि पालेका छन्। दुबै जना राजनीतिमा सक्रिय भए पनि घरसँगै जोडिएको फार्म भएकोले उनीहरूलाई कुखुराको रेखदेख र दानापानीको लागि खासै समस्या छैन।
अनुप र पूजाले जीवनको उर्जाशील समय करिब २५ वर्ष राजनीतिमै बिताए। हुन त उनीहरू अहिले पनि राजनीतिबाट अलग्गिएका भने होइनन्। लामो समय भूमिगत राजनीतिमा होमिएको यो जोडीले अहिले राजनीतिसँगै परिवार र व्यक्तिगत जीवनको लागि पनि समय छुट्याउन लागेका छन्।
‘जीवनको लामो समय पार्टी, संगठन, देश र जनताको लागि खर्च गरियो, क्रान्तिद्वारा राज्यसत्ता परिवर्तन गर्ने, जनता र राष्ट्रको मुक्तिको लागि भनेर युद्धमा होमियो, तर अब उत्पादनमा नजोडिने हो भने परिवार पनि आर्थिक अप्ठ्यारोमा पर्छ र समाजवादको यात्रा पनि सहज हुन सक्दैन भन्ने लागेर कुखुरा पालनतर्फ लागेका छौं’ अनुप भन्छन्।
गणतन्त्र आइसकेपछि संविधान र पार्टीले पनि समाजवादको बाटो अंगिकार गरिसकेकोले क्रान्तिका अगुवा वा जोसुकै पनि उत्पादनमा सहभागी नहुने हो भने यिनीहरू के गरेर बाँचेका छन् भन्ने प्रश्न उठाउनु पर्ने उनको भनाइ छ।
उनीहरूलाई उत्पादनको काममा अलि ढिलो जोडियो कि भन्ने पनि लाग्छ।
‘अलि पहिले नै व्यवसाय सुरू गरेको भए अहिले व्यवस्थित भइसकिन्थ्यो, परिवार चलाउन सजिलो हुने र अरूका बीचमा सन्देश पनि राम्रै जाने थियो, तर ढिलै भए पनि सुरू गर्यौं, सन्तुष्ट नै छौं’ उनले भने।
कास्कीको मादी गाउँपालिका वडा नं. १२ मा जन्मिएका अनुप (विश्वराज बराल) सानैदेखि राजनीतिप्रति रूची राख्थे।
विद्यालयदेखि नै राजनीतिमा झुकाव राख्ने उनी २०५३ सालमा चितवन क्याम्पस पढ्दै गर्दा माओवादीनिकट विद्यार्थी संगठनमा आवद्ध भइसकेका थिए।
क्याम्पस पढ्दै गर्दा २०५५ सालको असारदेखि उनी भूमिगत भएर धादिङ, चितवनलगायत जिल्लामा चार वर्ष बिताए।
भूमिगत रहँदा नै २०५७ सालमा उनी माओवादीनिकट विद्यार्थी संगठनको चितवन जिल्ला अध्यक्ष भएर काम गरे।
भूमिगत भए पनि उनले माओवादी सैन्य संगठनमा लामो समय काम गरेनन्। उनलाई सैन्य संगठनभन्दा पार्टी संगठन प्रिय लाग्थ्यो। ग्रामीण क्षेत्रका गरिब तथा सर्वहारा वर्गलाई पार्टी र संगठनमा आवद्धताका लागि विश्वास गराउन उनी खप्पिस थिए। तर पनि २०५८ सालमा सैन्य संगठनको चितवन प्रमुख भएर चितवन तथा धादिङसम्म सैन्य कारबाहीमा पुगेका थिए।
चितवनपछि २०५९ सालमा संगठन निर्माणका लागि रुपन्देही खटिएका अनुप ०६३ सालमा नवलपरासीमा र ०६५ सालमा कपिलवस्तुमा पार्टीको जिल्ला सचिव भएर काम गरे। कपिलवस्तुबाट २०७० सालमा रुपन्देही फर्किएका उनी त्यसपछि भने रुपन्देहीमै पार्टीको काममा व्यस्त छन्।
अर्घाखाँची शितगंगाकी गंगा कार्की (पूजा) ले पनि माओवादी सैना ६ वर्ष काम गरिन्। २०५७ सालमा तत्कालीन माओवादी सैन्यमा आवद्ध भएर भूमिगत जीवन सुरू गरेकी पूजा सैन्य कारबाहीकै क्रममा देशका अधिकांश जिल्ला पुगेकी छन्।
‘रोल्पादेखि गोर्खासम्म त पैदल हिँडेरै पुगियो, रोल्पा, रूकुम, प्युठान, धादिङ, अर्घाखाँची, गुल्मी जिल्ला त धेरै नै हिँडियो’ उनी विगत सम्झिन्छन्।
पूजालाई ६ वर्षमा कति वटा लडाइँमा सहभागी भएँ भन्ने सम्झना छैन। आफू सहभागी भएर गरिएका कारबाहीका ठूला घटना भने उनलाई सम्झना आइरहन्छ।
‘हतियार बोकेर पहिलो पटक गुल्मीको वामिटक्सारमा रहेको प्रहरी चौकीमा आक्रमण गर्न गएकी थिएँ, त्यसपछिका ठूला आक्रमण बेनी, अर्घाखाँचीको सन्धिखर्क, दुम्किबास, गोर्खाको ताकुकोट, स्याङजाको वालिङ, कपिलवस्तुको तौलिहवा यी सबैमा सहभागी भएँ,’ उनले भनिन्।
दर्जनौं ठूला र साना लडाइँमा जोगिएकी पूजा अन्तिम पटकको तौलिहवा लडाइँमा भने सामान्य घाइते भइन्।
‘६ वर्षमा जोगिएरै धेरै लडाइँ लडियो, तर अन्तिम लडाइँमा गोली लाग्नबाट छेलिए पनि छर्रा लागेको थियो, अहिले पनि शरीरमै छ,’ उनले भनिन्।
पार्टी शान्ति प्रक्रियामा आएपछि पनि उनी पार्टी र संगठन निर्माणमा सक्रिय रहिन्। २०६३ सालमा वाइसिएलको अध्यक्ष भएर जाँदा अनुप र पूजा वैवाहिक सम्बन्धमा बाँधिएका थिए। उनी अर्घाखाँची छँदा अनुप नवलपरासी थिए। ६५ सालमा पूजा वाइसिएलको रुपन्देही अध्यक्ष भएर आए पनि अनुप भने पार्टी काममा कपिलवस्तु खटिएका थिए।
माओवादी युद्धमा भएको भेटघाट र चिनजान पछि २०६३ मा विवाह गरेको यो जोडी त्यसयता ८-१० वर्ष एकै ठाउँ बस्न पाएन। पछिल्लो तीन वर्षदेखि भने उनीहरू बल्ल सँगै बस्न पाएका छन्।
युद्धको समयमा राइफल र बन्दुकमात्र होइन एसएलआर, एसएमजी, माउजर, एलएमजी, एम १६, एके ४७ जस्ता अत्याधुनिक हतियार चलाएको यो जोडीले विगत ५ महिनादेखि लोकल कुखुरा स्याहार्दै छन्।
जीवनको उर्जाशील समय राजनीतिमा लगाउँदा आफ्नो र परिवारबारे खासै सोच्ने फुर्सद नपाए पनि अहिले भने परिवार र आफ्नो लागि व्यवसाय सुरू गरेको अनुप बताउँछन्।
अनुप र पूजाले पार्टी र संगठनमा जहिलेदेखि काम गरे, इमान्दारिताका साथ निर्वाह गरे। अहिले पनि अनुप नेकपाको लुम्बिनी प्रदेश सदस्य छन् भने पूजा युवा संघको केन्द्रीय कमिटीमा आवद्ध छन्।
प्रदेशको निर्वाचनमा रुपन्देहीबाट प्रत्यक्षतर्फ नेकपाका उम्मेदवार रहेका अनुप झिनो मतले पराजित भए पनि देशका तीन वटै तहमा नेकपाको बहुमत प्राप्त सरकार निर्माण भए।
आफ्नै दलको नेतृत्वमा बलियो सरकार बनेको बेला कतिपय कार्यकर्ता लाभको लागि शक्तिकेन्द्र धाइरहँदा यो जोडीले भने त्यो बाटो नरोजी मेहनत र पौरखलाई रोज्यो।
‘हामी कुनै लोभ लालचले युद्ध र राजनितिमा होमिएको भए अहिले पद र पैसाको मोह जाग्थ्यो होला, गरिब सर्वहारा वर्गको मुक्तिको लागि भनेर युद्धमा होमिएका थियौं,’ अनुप भन्छन्।
हिजोको नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन माओवादी आन्दोलन सही भए पनि ती आन्दोलनको लागि जे सपना देखाइएका थिए आज ती पुरा नहुँदा भने उनीहरुलाई खिन्न लाग्छ रे।
‘त्यतिबेलाको पार्टी भूमिका र अहिलेको काम विल्कुल फेरिएको भए पनि आन्दोलन र युद्ध सही थियो, त्यतिबेला त्यही आवश्यक थियो’ अनुप भन्छन्।
कम्युनिष्ट आन्दोलनले कम्युनिष्टलाई जसरी सांस्कृतिक रूपमा परिवर्तन गर्न सक्नुपर्थ्यो त्यो हुन नसकेको उनको बुझाइ छ।
निराश बनेर विदेश पलायन हुने युवालाई देशमै रोजगारीका अवसर सिर्जना गरी स्वरोजगार बनाउन सरकारले सघाउनु पर्ने उनीहरू बताउँछन्।
‘नदेखिएको स्रोतबाट पैसा कमाउने र रातारात धनी बन्ने सपना बोकेर कहिल्यै सफल बन्न सकिँदैन,’ अनुपले भने।
कोरोना महामारीका कारण स्वदेश फर्किएको युवाशक्तिलाई स्वदेशमै रोक्न सरकारले सहजीकरण गर्नुपर्ने उनीहरूको भनाइ छ।
‘कोरोनाले समस्यामात्र ल्याइदिएको छैन, अवसर पनि ल्याएको छ, राज्यले थोरै सहजीकरण गर्ने हो भने कृषिमा पर्याप्त सम्भावना छ,’ पूजाले भनिन्।
अरूलाई गाली गर्दै विदेश पलायन भइरहँदा देश सधैँ परजीवी बन्ने भएकोले देशलाई आत्मनिर्भर र स्वाधीन बनाउन उत्पादनमा लाग्न जरूरी रहेको उनी बताउँछन्।
अनुप र पूजाले पछिल्लो तीन वर्षमा अरू व्यवसाय गर्ने सोच पनि बनाएका थिए। तर सानो व्यवसायले खर्च नचल्ने ठूलो व्यवसायको लागि पुँजी लगानीको अभावले ती काम पनि आँट्न सकेनन्। अहिले भने साथीभाइसँग ऋणधन खोजेर भए पनि सुरू गरेको बताए।
आफ्नै जग्गा भए पनि खोर बनाउन र चल्ला किन्न २५ लाखजति खर्च भइसकेको उनीहरू बताउँछन्। कुखुराको लागि दाना, औषधी, भ्याक्सिन सबैको लागि उनले ऋण खोजेरै खर्च चलाउने गरेको बताए।
‘खोर, चल्ला, दाना, खोपलगायतको लागि पटक-पटक खर्च भइरहने भएकोले कति खर्च पुग्छ आँकलन गरिएको छैन, सबै साथीभाइसँग ऋणधन गरेर चलाएको छु, कुखुरा बिक्री गरेर ऋण नै तिर्ने हो’ अनुपले भने।
लकडाउनकै बीचमा सुरू गरिएको र जग्गासमेत थोरै भएकोले अहिले थोरै कुखुरा पाले पनि एक वर्षभित्र २ हजार बढी लोकल कुखुरा पाल्ने योजनामा रहेको उनीहरूले बताए।
‘महिनामा डेढ दुई सय कुखुरा बिक्री गर्न सकियो भने पनि ४०-५० हजार आम्दानी गर्न सहजै सकिन्छ भन्ने लागेको छ, त्यति भयो भने घरपरिवार चल्छ’ पूजाले भनिन्।