रुपन्देहीको भैरहवास्थित मत्स्य विकास केन्द्रको नाममात्र होइन, उद्देश्य पनि फेरिएको छ।
यसअघि मत्स्य विकास केन्द्र नाम रहेको कार्यालयले माछापालक किसानका लागि आवश्यक भुरा उत्पादन गरी बिक्री र माछापालनसम्बन्धी तालिम दिने गर्थ्यो।
अहिले केन्द्रको नाम फेरिएर मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्द्धन स्रोत केन्द्र बनेको छ। नाममात्र होइन केन्द्रले आफ्नो उद्देश्य पनि परिवर्तन गरेर माछाको भुराको सट्टा माउ माछाको बिक्री सुरू गरेको छ।
केन्द्रका प्रमुख महेशचन्द गुप्ताले भुरा उत्पादन गरी किसानलाई वितरण गर्दै आएको केन्द्रले किसानभन्दा ह्याचरीबाट नै शुद्ध नश्लको माछा तयार गर्ने गरी उद्देश्य नै परिवर्तन गरेको बताए।
‘माछाको भुरा वितरण गरे पनि सबै माछापालक किसानको माग केन्द्रले धान्न सक्दैन, बरू भुराको सट्टा ह्याचरी किसानलाई शुद्ध नश्लको माउ माछा नै बिक्री-वितरण गर्न सकियो भने माछाको गुणस्तर सुधार गर्न सकिन्छ,’ गुप्ताले भने।
अहिले केन्द्रले ह्याचरीलाई नै माछा बिक्री गर्नेगरी पोखरीमा २५ हजारभन्दा बढी माउ माछा हुर्काइरहेको छ।
पुराना माउ हटाएर किसानलाई नयाँ र गुणस्तरीय माउ दिने तयारी गरिरहेको गुप्ताले बताए।
‘धेरै वर्ष पुगेका, पुराना र बुढा माउबाट उत्पादित भुराबाट धेरै उत्पादन लिन सकिँदैन, तर दुईदेखि चार-पाँच वर्षका माउबाट उत्पादित भुराबाट धेरै उत्पादन लिन सकिन्छ,’ उनले भने।
केन्द्रले यहाँका मात्र नभई ह्याचरी किसानसँग भएका बुढा माउलाई पनि हटाएर नयाँ माउ तयार गर्ने र सबैमा ट्याग लगाएर ह्याचरीमा पठाउने तयारी गरे उनले जानकारी दिए।
लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, नवलपरासी, दाङलगायत जिल्ला माछापालनको लागि उर्वर बन्दै गएका छन्। यी जिल्लामा सयौं किसानले व्यावसायीक रूपमा माछापालन व्यवसाय गर्दै आएका छन्।
माछापालक किसान बढ्दै जाँदा शुद्ध नश्लका माछा उत्पादनतर्फ किसान सँगै केन्द्रले पनि पहल गर्दै आएको छ। तर यस क्षेत्रका ८० प्रतिशत किसानले पाल्ने माछाका भुराको माग भने निजी ह्याचरीले पुरा गर्दै आएका छन्।
गत वर्ष यहाँबाट उत्पादित सिल्भर कार्प, बिगहेड कार्प, ग्रासकार्प, रहु, नैनी र भ्याकुर प्रजातिका ४ करोड २४ लाख भुरा नेपालका १२ जिल्लाका साथै भारतमा समेत बिक्री गरिएको थियो।
त्यस्तै १० लाखभन्दा बढी फ्राई उत्पादन गरिएको थियो भने विभिन्न ८ प्रजातिका २४ लाखभन्दा बढी फिंगर लिङ बिक्री भएको थियो। गत वर्ष नै केन्द्रबाट शुद्ध नश्लका ४० लाख बढी ह्याचलिङ र २ लाख बढि फिंगरलिङ समेत उत्पादन गरी बिक्री-वितरण गरिएको गुप्ताले बताए।
यस वर्ष ह्याचलिङ, फिंगरिङ र फ्राईसमेत उत्पादन नगरी माउ माछा उत्पादन गर्न लागिएको त्यसको मागसमेत निजी ह्याचरीले पुरा गर्नु पर्ने गुप्ता बताउँछन्।
यहाँ उत्पादित माउ माछामा ट्याग लगाइने छ। माछामा ट्याग लगाउँदा र हुर्काउँदा एउटै माउको लागि चार हजारसम्म खर्च लाग्ने भए पनि सुरूवात भएकाले किसानलाई कम दररेटमा भए पनि माछा उपलब्ध गराइने छ।
माउ माछा तयार गर्न पक्की पोखरी बनाएर सानै तौलको माछामा ट्याग लगाएर सोहीअनुसार दाना खुवाउनु पर्ने हुन्छ।
यसरी हुर्काइएको माछा पनि अण्डा दिन दुई वर्ष पुगेपछि मात्र तयार हुन्छ। कमन कार्पले एक वर्षमै अण्डा दिने भए पनि दुई वर्ष पुगेपछिको उत्पादित भुराबाट माछा धेरै तौलको हुने गुप्ताको अनुभव छ।
माछा ५-६ वर्षको भएपछि कम संख्यामा अण्डा र भुरा उत्पादन हुने भएकोले पोखरीबाट हटाउनको लागि पनि ट्याग जरूरी रहेको उनले बताए।
एक दर्जन बढी ठूला पोखरी उपयोगविहीन
रुपन्देहीको ओमसतिया गाउँपालिका- १ ठुटिपिपलमा रहेको मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्द्धन स्रोत केन्द्र ३८ विघा क्षेत्रफलमा फैलिएको छ। बेलहिया बुटवल ६ लेन सडकसँगै जोडिएर एकै स्थानमा रहेको यो क्षेत्र माछाका भुरा, माउ तथा खाने माछा उत्पादनको लागि अत्यन्त उपयुक्त स्थानमा रहेको छ।
सडकनजिकै रहेको र बुटवल भैरहवाको बीचमा पर्ने भएकाले केन्द्रलाई मत्स्य पर्यटनको रूपमा पनि विकास गर्न सकिन्छ। प्रर्याप्त पानीको उपलब्धता भए पनि केन्द्रका पोखरी भने सबै उपयोगमा ल्याउन सकिएको छैन।
रुपन्देहीको सियारी, शुद्धोधन, सैनामैना, तिलोत्तमा गैंडहवालगायत क्षेत्रमा साना र थोरै पोखरीबाट समेत किसानले राम्रो प्रतिफल लिइरहँदा सरकारले सञ्चालन गरेको केन्द्रले भने भएका पोखरीलाई समेत उपयोग गर्न सकेको छैन।
केन्द्रमा साना ठूला गरी ४८ वटा पोखरी रहेका छन्। तीमध्ये करिब ३० वटा पोखरी उपयोगमा आएका छन् भने बाँकी पोखरीमा बनमारा र झाँडी उम्रिएर ढाकिएको छ।
केन्द्र प्रमुख गुप्ताले प्रयाप्त जनशक्ति नहुँदा र आर्थिक अभावका कारण सबै पोखरीलाई व्यवस्थित गर्न नसकिएको बताए।
शुद्ध नश्लको भुराका लागि निजी ह्याचरीमा माउ माछा वितरण गर्न सुरू गरिएपछि अहिलेको जनशक्तिले ह्याचरीको अनुगमन गर्न पनि कठिन हुने उनी बताउँछन्।
‘यो क्षेत्रमा ९८ वटा निजी ह्याचरी छन्, सरकारी ह्याचरी पनि ८ वटा छन्, यहाँबाट माउ लगिए पनि उनीहरूको अनुगमनको जिम्मेवारी समेत केन्द्रमा पर्न आउँछ, त्यसको लागि पनि कर्मचारी अभाव छ,’ गुप्ताले भने।
शुद्ध नश्लको माउ माछा केही महंगो पर्ने भएकोले किसानले कस्तो माछाको भुरा उत्पादन गरेका छन्, त्यसको अनुगमन गर्नु पर्ने उनको भनाइ छ। केन्द्रमा जम्मा १४ जनाले मात्रै काम गर्नु परेको गुप्ताले बताए।