रुपन्देहीको तिनाउ नदीको पर्यावरणीय सन्तुलन कायम गर्न माछाका भुरा छोडिएको छ। विश्व मत्स्य दिवसको अवसर पारेर शनिबार रूपन्देहीको मायादेवी गाउँपालिकास्थित बेथरी पुल नजिकबाट तिनाउमा माछाका भुरा छोडिएको हो।
लुम्बिनी प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय, मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्द्धन स्रोत केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ, जिल्ला मत्स्य व्यवसायी संघलागायत संघसंस्थाले एक लाख माछाका भुरा तिनाउमा छोडेका हुन्।
तिनाउमा माछाका भुरा छोडिएको यो पाँचौ पटक हो। पछिल्ला पाँच वर्षदेखि हरेक विश्व मत्स्य दिवसको अवसर पारी तिनाउमा भुरा छोड्ने गरिएको छ।
यसवर्ष विभिन्न चार प्रजातिका एक लाख माछाका भुरा तिनाउमा छाडिएको लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव रेवतीरमण पौडेलले जानकारी दिए।
माछाले उपभोग मात्रै नबढाएर यसले नदीको पर्यावरणीय सन्तुलन कायम गर्दै पर्यटकसमेत भित्र्याउने भएकोले नदीमा माछाको संख्या बढाउन भुरा छोडिएको पौडेलले बताए।
‘नदी, ताल र तलाउको जैविक विविधिता कायम गर्न, पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्वपूर्ण हुन्छ, जैविक विविधता नभएको नदी तथा तालको कुनै महत्व हुँदैन,’ पौडेलले भने।
उनले हरेक वर्ष नदीमा माछाका भुरा छोडेरमात्र माछा नबढ्ने भएकोले बाढी पहिरो, नदी कटान, जथाभावी उत्खनन्, उद्योगबाट निस्कने रसायनिक पदार्थ, फोहोर मैला, विद्युतीय करेन्ट लगायतबाट पनि खोलालाई जोगाउनु पर्ने बताए।
उद्योग कलकारखानाबाट निस्किएको रसायनिक पदार्थ सिधै खोलामा पठाउँदा, नदीजन्य पदार्थको जथाभावी उत्खनन् गर्दा र विद्युतीय करेन्ट र विषादी हालेर माछा मार्ने गलत परिपाटीले खोलाको जैविक विविधतामा असर गरेकोले त्यस्ता कार्य रोक्न उनले आग्रह गरे।
‘जथाभावी करेन्ट लगाउँदा र विषादी हाल्दा खोलामा जाल हानेर माछा मारी जीविकोपार्जन गर्दै आएका समुदायको रोजीरोटीसमेत खोसिने अवस्थामा पुगेको छ, त्यस्तो कार्यलाई पूर्ण रूपमा रोक्नुपर्छ,’ उनले भने।
पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक तुल्सीराम भण्डारीले माछामा प्रोटिनको मात्रा धेरै हुने भएकाले स्वास्थ्यको हिसाबले लाभदायक मानिने बताए।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, माछा सुपरजोन सञचालक समितिका संयोजक गणेशबहादुर शाहीले किसानलाई माछापालनमा आकर्षित गर्नेसँगै खोलामा माछाको संख्या बढाउन आफूहरूले विगतदेखि नै प्रयास गर्दै आएको बताए। नदी तथा तालतलैयाको अस्तित्व बचाउन पनि नदीमा माछा हुनै पर्ने बताए।
पछिल्लो समय चुरे क्षेत्रमा भएको अत्याधिक दोहन, तराईका खोलामा हुने उत्खनन् तथा बजार र कलकारखानाबाट नदीमा बगाइने फोहोरले खोलाको पानी दुषित बनेको छ। खोलामा प्रदुषण बढेपछि त्यसको असर नदीमा हुने माछा तथा अन्य जीवहरूमा परेको छ।
जिल्ला मत्स्य व्यवसायी संघ रूपन्देहीका अध्यक्ष दिवाकर भुसालले व्यवसायीले किसानलाई माछापालनमा उत्साहित गर्न, पानी शुद्ध राख्न र जैविक विविधतालाई बचाई राख्न प्रत्येक वर्ष एक लाख माछाका भुरा तिनाउमा छाड्ने गरिएको बताए।
भुसालले रुपन्देही माछापालनका लागि उर्वर बन्दै गएको उल्लेख गर्दै यहाँ १ हजार ५ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा ५ हजार हाराहारी पोखरीमा माछापालन हुँदै आएको बताए।
उनका अनुसार जिल्लामा मात्रै वार्षिक करिब ६ हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ। यहाँ उत्पादित जिउँदो माछा छिमेकी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, चितवन, पोखरा, काठमाडौंसम्म बिक्री हुँदै आएको छ। माछाका भुरा नदीमा छाड्नुअघि व्यवसायीहरुले सचेतना र्याली निकालेका थिए।