कोरोना महामारीले शैक्षिक संस्था खुलेका छैनन्। अनलाइनलगायतबाट सिकाइ निरन्तरता दिने काम भइरहेका छन्।
अनलाइनबाट पठनपाठन सम्भव नभएका क्षेत्रका बालबालिका खेलेरै दिन बिताइरहेका छन्, उनीहरूको पठनपाठनमा समस्या भइरहेको छ।
शिक्षण संस्था बन्द भएका बेला फुर्सदमा रहेका विद्यार्थीले आफ्नो रूची अनुसारका काम गरेका उदाहरण पनि छ।
बुटवलका विशाल लम्साल र कपिल लम्सालले फुर्सदलाई सदुपयोग गरेका छन्।
उनीहरूले स्वचालित सेनिटाइजर मेसिन बनाएका हुन्।
गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ६ अर्जे फूलवारीका उनीहरू बुटवलस्थित कालिका मानविज्ञान माध्यमिक विद्यालयका विद्यार्थी हुन्।
दाजु कपिल कक्षा १२ र भाइ विशाल कक्षा १० मा पढ्छन्।
स्थानीय बजारमै पाइने कच्चा पदार्थको प्रयोगले उनीहरूले स्वचालित सेनिटाइजर मेसिन बनाएका छन्।
उपयोगी भएको भन्दै ती मेसिनको विक्रीसमेत हुन थालेको छ।
एक महिनाको मेहनतले स्वचालित सेनिटाइजर मेसिन बनाइएको उनीहरूको भनाइ छ।
अस्पताल, बैंक तथा सपिङ मलजस्ता भिड हुने स्थानमा उनीहरूले बनाएका स्वचालित सेनिटाइजर मेसिनको प्रयोग हुन थालेको छ।
‘भिड हुने स्थानहरू- अस्पताल तथा बैंक र पसलबाट मेसिनको माग हुन थालेको छ,’ कपिलले सेतोपाटीसँग भने।
तीन हजारदेखि १० हजारसम्म उक्त मेसिन विक्री हुने गरेको उनले बताए।
ती मेसिन रूपन्देही र गुल्मीमा विक्री गरिएको उनी बताउँछन्।
‘गुल्मी मालिका मावि, अर्जे मावि, फूलवारी प्रावि, धुर्कोट गाउँपालिका, मालिका गाउँपालिका ६ अर्जे स्वास्थ्य चौकीमा पनि हामीले बनाएको मेसिन जडान गरिसकिएको छ,’ उनले भने।
मेसिनमा अल्ट्रासोनिक सेन्सरसहित आडिनो आइसीप्रोग्रामिङ रहेको उनले बताए। मेसिनमा साबुनलगायत तरल पदार्थ राख्ने ठाउँसमेत रहेको विशाल बताउँछन्।
उनीहरूले बनाएको मेसिन विद्युतबाट चल्छ। ६ इन्चको पिभीसी पाइपमा मोटर जोडेर अल्ट्रासोनिक सेन्सरसहित आडिनो आइसीप्रोग्रामिङ गरेर मेसिन तयार गरिएको कपिलले जानकारी दिए।
मेसिनमा साढे २ लिटरदेखि ५ लिटरसम्म सेनिटाइजरको झोल राख्न मिल्ने उनले बताए।
यसअघि उनीहरूले सेन्सरमार्फत् सेनिटाइजर झर्ने अटोमेटिक गेट र रोबोट पनि बनाएर प्रयोगमा ल्याएका थिए।