भैरहवाका सडकमा हिजोआज डमी ट्राफिक देखिन्छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले भैरहवामा राखेको डमी ट्राफिकले ट्राफिक व्यवस्थापनमा प्रभावकारिता देखिन थालेको छ।
गत महिना भैरहवाका विभिन्न तीन स्थानमा राखिएका डमीबाट सवारी चालकलाई मात्र होइन पैदलयात्रीलाई समेत ट्राफिक नियमबारे सचेतना जगाउन सघाउ पुगेको छ।
अहिले भैरहवाको व्यस्त हुने देवकोटा चोक, बुद्धचोक र मिलनचोकमा ट्राफिक डमी राखिएको छ।
दिउँसोसमेत फाट्टफुट्ट रुपमा देखिने ट्राफिक प्रहरीको अभाव यिनै डमीले पूरा गर्न थालेका छन्।
जसलाई देखेपछि सवारी चालक र पैदलयात्री आफैँ नियममा बांधिन बाध्य हुन्छन्।
मंगलबार भैरहवाको बर्मेलीटोलमा दुई युवा डिभाइडरबाटै सडक पार गर्दै थिए, अगाडी डमी ट्राफिक उभिएको देखेपछि फर्किएर जेब्राक्रस तर्फ अगाडी बढे।
सडकमा ट्राफिक प्रहरी देखे मात्र ट्राफिक नियम पालना गर्ने नत्र वेवास्ता गर्दै हिँड्ने प्रवृत्ति छ।
ट्राफिकको आँखा छलेर नियम उलंघन गर्नेहरुलाई डमी ट्राफिकले भए पनि सतर्क बनाउने गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी निरीक्षक दिवशबहादुर जिसी सडकमा राखिएका डमीको माध्यमबाट पनि ट्राफिक नियमबारे चालक र यात्रुलाई सतर्क बनाएको बताउँछन्।
‘ट्राफिक डमीले सडकमा सवारी चलाउँदा वा हिँड्डुल गर्दा लापरवाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव पार्छ। नागरिकलाई पनि सधै निगरानीका लागि ट्राफिक प्रहरी सडकमा खटिएको छ भन्ने अनुभूति दिलाउँछ,’ उनले भने।
पैदलयात्रु र सवारी चालकलाई ट्राफिक नियमसम्बन्धी सचेतना जगाउने, लेन अनुशासन, जेब्राक्रसिङका बारेमा चेतना अभिबृद्धि गरी दुर्घटना न्युनिकरण गर्नु प्रमुख उद्देश्य रहेको जिसीले बताए।
सडकमा उभिएको डमी टाढाबाट हेर्दा दुरुस्तै ट्राफिक प्रहरी जस्तै देखिन्छ।
ट्राफिक प्रहरीकै टोपी, पेटी, टाई र पोशाकमा सजिएको डमी देखेपछि सवारी नियम सम्झना हुने र सवारी साधनको गति नियन्त्रण गर्न दवाव हुने सवारी चालकहरु बताउँछन्।
‘प्रहरी नदेख्दा बाटो पार गरिहालौं, छिटो सवारी हाकौं भन्ने लाग्छ। तर अगाडि ट्राफिक देखेपछि भने आफैँ सतर्क भइन्छ,’ माइक्रोका चालक पिताम्बर जिसीले भने।
डमीका दुई हातमा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक सन्देश लेखिएको बोर्ड राखिएको छ।
जसले चालकलाई सतर्क मात्र होइन ट्राफिक नियमबारे जानकारी दिन्छन्।
भैरहवामा राखिएका डमीको प्रभावकारिता देखिन थालेपछि अन्य क्षेत्रमा समेत डमी ट्राफिक राख्ने तयारीमा ट्राफिक प्रहरी रहेको छ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले भैरहवामा डमीको सकारात्मक प्रभाव देखिएपछि लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा डमी राख्ने तयारी गरिएको बताए।
‘आफ्नै रफ्तारमा गाडी चलाएको चालकले सडकमा एक्कासी ट्राफिक प्रहरीजस्तै डमी देखेपनि आफूलाई सच्चिने मौका पाउँछ, यसले दुर्घटना न्युनिकरणमा सघाउ पुर्याउँछ,’ उनले भने।
डमीमा राखिएको बोर्डले सचेतना दिए पनि ट्राफिक देख्दा मात्रै नियम पालना गर्ने नागरिकलाई कानुनअनुसार सवारी चलाउन मद्दत गर्ने उनले बताए।
उनले टाढाबाट हेर्दा ट्राफिक प्रहरीजस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण र ट्राफिक नियमको पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने उनी बताउँछन्।
सडकमा गुड्ने सवारी साधन र यात्रीहरुको तुलनामा अत्यन्त न्यून संख्यामा रहेको ट्राफिक प्रहरीले ट्राफिक नियम र कोरोना संक्रमण नियन्त्रण सम्बन्धी सचेतनाका लागि डमीको प्रयोग गर्ने उपाय निकालेको हो।
हाल लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयमा प्रहरी उपरीक्षकको नेतृत्वमा जम्मा चार सय ८७ जना जनशक्ति कार्यरत छन्।
यहि जनशक्ति १२ जिल्लाको ट्राफिक व्यवस्थापन तथा दुर्घटना पछिको उद्धारमा समेत खटिने गरेको छ।
तीमध्ये पनि लुम्बिनी प्रदेशको मुकाम रहेको बुटवलमा एक सय २ र भैरहवामा ६० जना कार्यरत रहेका छन्।