रामवरण लोहारले तातो फलाममाथि घन बजार्न थालेको ५० वर्ष नाघ्यो।
७० वर्ष पुगेका उनले फलाम पिटेर घरेलु औजार बनाउने काम भने छोडेका छैनन्।
उनका बुवा भरोसे लोहार पनि फलाम पिट्दा पिट्दै बितेर गए।
बाबु बाजेले सुरू गरेको पुर्ख्यौली पेशालाई धान्दै आएका रामवरणले आफ्ना छोराहरूलाई पनि यहि पेशा हस्तान्तरण गर्दै छन्।
रूपन्देहीको शुद्धोधन गाउँपालिका सिसवामा रामवरणको आरन छ।
सडकको किनारमा इँटाको गारो जोडेर बनाइएका दुई कोठे घरमा दुवैतर्फ आरन चलिरहेको हुन्छ।
एकातर्फको आरन रामवरणको हो। अर्को उनका भाइ राममंगलले चलाएका छन्। उनीहरूले आरनको अगाडि सडकसम्म त्रिपाल लगाएर विभिन्न औजारहरू राखेका छन्।
रामवरणले बुवासँगै १३ वर्षको उमेरदेखि आरनमा फलाम पिट्न सुरू गरेका हुन्। अहिले उनलाई पनि छोराहरू शिवलाल र रामलालले सघाएका छन्।
रामवरणजस्तै राममंगल पनि तीन छोरासहित आरन चलाएर परिवार पाल्दैछन्। शिवमंगल, भोला र जीवनारायण तीनै जनालाई बुवाले सुरू गरेको आरन चलाउन भ्याइनभ्याइ छ।
बुवा भरोसेले लुम्बिनीमा आरन चलाउँथे। बुवाले आरनमा काम गर्न नसक्ने भएपछि रामवरण र राममंगल ३५ वर्ष अघि परिवार लिएर शुद्धोधनको सिसवा आएका थिए।
सुरूमा दुई चारपाथी धान लिएर किसानका कृषि औजार वर्षभरि अर्जाप्ने र नयाँ बनाइदिने गरेका उनीहरू अहिले भने पैसा लिएर काम गर्छन्। पुर्ख्यौली पेशालाई व्यवसायीक बनाउँदै लगेपछि उनीहरूको आम्दानी बढेको छ।
पुराना औजार मर्मत गर्ने मात्र नभई नयाँ बनाएर बिक्री गर्ने भएकोले दिनमा ३/४ हजारसम्मका औजार बिक्री हुने शिवमंगलले जानकारी दिए।
नयाँ पुस्ताले आरन चलाउन छोडे पनि रामवरण र राममंगलका छोराहरू भने बाबु बाजेको पेशालाई उद्यमको रूपमा विकास गर्ने बताउँछन्।
‘हामीले यसलाई आफ्नो काम मानेका छौं। व्यवस्थित नहुँदा पनि बुवाबाजेले यही कामबाट हामीलाई हुर्काउनुभयो। हामीले त व्यवस्थित बनाउँदै लगेका छौं, राम्रै चलेको छ,’ ३१ वर्षका भोलाले भने।
उनले भनेजस्तै उनीहरूको आरनमा बिहान सबेरैदेखि साँझ अबेरसम्म ग्राहकको भिड लाग्ने गर्छ। आरनअघि खुंडा, दाउ, खुर्पा, हँसिया, बन्चरो, कोदालो, चक्कु, फरूवा लस्करै राखिएका छन्। उनीहरू ग्राहकको अर्डर अनुसार तरवारसमेत बनाउने गर्छन्।
आरनको वरपर किसानहरूको बसोबास रहेकोले कृषि सम्बन्धी सामग्रीको धेरै माग आउने गर्छ।
त्यसैले पनि उनीहरू फरूवा, बञ्चरो, दाउ, खुँडा, कोदालो, हँसिया, कुटी, चक्कु जस्ता सामग्री धेरै बनाउँछन्।
आरनमा फलाम पिट्न मेहनत लागे पनि कमाइ पनि राम्रै हुने उनीहरूको भनाइ छ। 'बिहानदेखि साँझसम्म काम गरे पनि दैनिक ३ हजार सम्म कमाइ हुन्छ,' भोलाले भने।
दुवैतर्फका कोठा कोईलाले भरिएका छन्। बीचको गल्लीमा आरनमै बनाइने हतियारको बिंडको लागि काठको काम गर्छन्।
हतियारका काठे बिंड बनाउने काम पनि उनीहरू आफैँ गर्छन्।
‘यसरी काम गर्दा राम्रै कमाई हुन्छ, आम्दानी एउटै घरभित्र जान्छ, अरुलाई बाड्नु पर्दैन,’ रामलालले भने।
बजारमा मेसिनबाट बनेका फलामे औजार आए पनि आफूहरूको काममा भने कुनै कमी नआएको रामवरणले बताए।
‘आरनमा बनाएजस्तो बलियो हतियार मेसिनले बनाएको हुँदैन। यहाँ बनाएको औजार खिइएर जान्छ तर भाँच्चिदैन मेसिनले बनाएको भाँच्चिन्छ। त्यसैले पनि ग्राहकले हामीलाई विश्वास गर्नुहुन्छ,’ उनले भने ।
पुस्तौपुस्तादेखि फलामको काम गर्दै आएकोले कुन फलामको कस्तो औजार बनाउन सकिन्छ आफूहरूलाई सजिलै थाहा हुने उनले बताए।
'आरनमा मेहनत लगाएर बनाइने हुँदा सामान आकर्षक र टिकाउ हुन्छ,' उनले भने, ‘फिनिसिङ पनि आरनले बनाएको औजारमा राम्रो हुन्छ। कहाँ हामीले पिटेर बनाएको कहाँ मेसिनले बनाएको, तुलना नै हुँदैन नि!’
धान काट्ने बेलामा हँसिया, धान रोप्ने बेलामा कोदालो, फरुवा, मेला पर्वका बेला काटमार गर्ने हतियार सिजनअनुसार औजारका विक्री हुने उनीहरू बताउँछन्।
फलामको लागि गाडीका भाँच्चिएको पट्टाको पनि प्रयोग हुने गरेको उनीहरूले जानकारी दिए। गाडीको पट्टाको औजार बलियो हुने भएकोले बुटवल भैरहवाका ग्यारेजबाट कवाडी सामान किनेर ल्याउने उनीहरू बताउँछन्। गाडीको पट्टाबाट खुंडा, दाउ, हँसिया, बन्चरो, कोदालो बनाउन सकिन्छ।
'यसरी किनेको फलाम सस्तो पनि पर्छ। हामीले कडा फलामको बनाउँछौं। हामीले पट्टाको कडा फलामको बनाएर दिन्छौं,' उनले भने।
उनीहरूले यही पेशाबाटै परिवारको खर्च धानेका छन्। पाँच छोराहरूलाई वृद्ध अवस्थाका बुवाहरूले पनि सघाउने गर्छन्।
‘आरनमा दुःख गरेको देख्दा छोराले काम नगर्नु भन्छन्, तर मनले मान्दैन। सानैदेखि गर्दै आएको काम हो सक्ने उमेरसम्म काम गरेरै खान्छु,’ उनले भने।
नयाँ पुस्ताले नयाँ तरिका ल्याउन सके आरन व्यवसायले निरन्तरता पाउने उनिहरूको अनुभव छ।
परम्परागत पेशालाई व्यवसायिक बनाउँदै लगेपनि गाउँपालिकाबाट सहयोग भने नमिलेको उनिहरूको गुनासो छ।
सरकारले परम्परागत रूपमा चलिरहेका यस्ता पेशालाई व्यवसायिक बनाउन सहयोग गरिदिए युवाहरु स्वरोजगार बन्न सक्ने उनीहरूको तर्क छ।