कास्की प्रहरीलाई शुक्रबार दिउँसो ४ बजे 'ठूलो मात्रामा सुन र चाँदीको अवैध कारोबार भइरहेको' सूचना आयो।
पोखरा महानगरपालिका वडा नम्बर २, ३, ४ र ९ का विभिन्न ठाउँमा यसरी कारोबार भएको सूचना आएपछि प्रहरीले टोली गठन गरेर नाम राख्यो– अपरेसन यलो मेटल।
शुक्रबार साँझदेखि मध्य रातसम्म चलेको अपरेसनबाट प्रहरीले चार वटै ठाउँबाट ठूलो मात्रामा सुन र चाँदीसहित ११ जना भारतीय नागरिक पक्राउ गर्न सफल भएको छ।
कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार पक्राउ परेका व्यक्तिहरूबाट ६ किलो ४ सय ग्राम सुन, ४४४ तोला चाँदी र नगद ५ लाख १४ हजार ६६५ रूपैयाँ बरामद गरेको छ।
त्यसमध्ये केही काँचो सुन रहेको र केही गरगहना बनाएर ल्याएको पाइएको प्रहरीले बताएको छ।
बरामद गरिएको सुनको मूल्य झन्डै ११ करोड (१० करोड ९७ लाख) रूपैयाँ रहेको एसपी ओलियाले बताए।
सुनचाँदी र नगदसहित ११ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भारतको पश्चिम बंगालका राजेन्द्र रामचन्द्र जगताप, मनिकलाल आदक, सन्दिप ढाव, सोमनाथ पाल, दीपक सामन्त, गोविन्दा दिण्डा, असित वर, तापस सामन्त, उज्वल भोमिक, सुनिता पवार र प्रोभास माझी छन्।
उनीहरू विगत केही समयदेखि पोखरामै बसोबास गरेको देखिएको पनि एसपी ओलियाले बताए।
'हामीले बरामद गरेको सुनचाँदी कारोबार अवैध हो कि होइन भनेर परीक्षण गर्दा वैधता खुल्ने बिल र कुनै कागजात भेटिएन,' एसपी ओलियाले भने, 'वैधानिकता खुल्ने कागजात अनुसन्धानका क्रममा पनि पेस गर्न सकिन्छ नि।'
बरामद गरिएको सुनचाँदी र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटबल पठाउने प्रहरीले तयारी गरेको छ।

