प्रदेश ५ का विभिन्न जिल्लाहरूमा फरक-फरक घटनामा ७ जनाको शव फेला परेको छ।
रुपन्देही, कपिलवस्तु, बाँके र बर्दियामा फरक-फरक घटनामा आइतबार सात जनाको शव फेला परेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ।
५ नं. प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राज कुमार वैदवारका अनुसार रुपन्देहीको देवदह नगरपालिका वडा नं. १२ कनपरास्थित रोहिणी खोला किनारमा महिलाको शव भेटिएको हो।
अन्दाजी ५०/५५ वर्षको उमेर देखिने शव सडेको अवस्थामा फेला परेकोले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।
रुपन्देहीकै सैनामैना नगरपालिका वडा नं. ४ का ५७ वर्षीय कृष्ण बहादुर थापा जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी चौकी दोभान पाल्पाको टोलीले थापाको शवलाई पाल्पाको तिनाउ गाउँपालिका वडा नं. १ झिंगामारास्थित जंगलमा फेला पारेको हो।
त्यस्तै, बुटवल उपमहानगरपालिका वडा नं. ६ शान्तिनगरस्थित तिनाउ खोलाको किनारमा नवजात शिशु (बालिका) को शव फेला परेको छ।
अन्दाजी ५/६ महिनाको जस्तो देखिने उक्त शिशुको शव प्लाष्टिकमा पोको पारेर फालेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।
त्यसैगरी, रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. ४ फर्साटिकरमा एक जना पुरूषको करेन्ट लागेर मृत्यु भएको छ।
स्थानीय राधा आचार्यको निर्माणाधीन घरमा प्लाष्टर गरिरहेका शुद्धोधन ३ दोगाना बस्ने ४० वर्षीय तारा सिंह थारुले बिजुलीको नांगो तार छुन पुग्दा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
उनलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएकोमा अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १ मा डेन्टल अस्पताल नजिकै गजेन्द्र भण्डारीको घरको रेलिङ वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ५ का १९ वर्षीय धनबहादुर थारु छन्।
करेन्ट लागेपछि उपचारको लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. २ को बसपार्कस्थित लक्ष्मी हार्डवयर नजिकै अन्दाजी ६०/६५ वर्षको पुरूषको शव फेला परेको छ।
मधेशी मूलको जस्तो देखिने उक्त शव कस्को हो भन्ने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।
त्यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ५ मा जगतियामा आफ्नै माछा पोखरीमा डुबेर १३ वर्षीय बालिकाको मृत्यु भएको छ।
स्थानीय पञ्चराम थारुको १३ वर्षीया छोरीको घरदेखि एक किलोमिटर पूर्व रहेको माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।