कोरोना महामारीका कारण ६ महिना बन्द रहेका अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका सामुदायिक विद्यालयहरू आइतबारदेखि खुल्न थालेका छन्।
कोरोना महामारीका कारण हतार-हतार गत वर्षको वार्षिक परीक्षा सकाएका विद्यालयहरू यस वर्षको आधा शैक्षिक सत्र सकिन लाग्दा पनि खुल्न सकेका थिएनन्।
आइतबारदेखि भने जनस्वास्थ्य मापदण्डको पालना गर्दै विद्यालयमा पठनपाठन सुरू गर्न थालिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले विद्यालयका शिक्षक तथा अभिभावकहरूसँगको छलफल र सल्लाहपछि विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए।
संघीय सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गर्दै जनस्वास्थ्य मापदण्ड पूरा गर्दै र शिक्षण विधिको प्रयोग गर्ने विभिन्न विकल्पसहित विद्यालय सञ्चालन गर्न स्थानीय तहहरूलाई अधिकार दिएको छ।
सोही अनुसार विद्यालयका प्रधानाध्यापक, अभिभावक तथा स्वास्थ्यकर्मीहरूसँगकोे छलफल र सल्लाहपछि विद्यालय सञ्चालन गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए।
‘लामो समयदेखि शिक्षणसंस्थाहरू बन्द भएको कारण विद्यार्थीहरू लाखापाखा लाग्ने खतरा बढ्यो, यसतर्फ सचेत हुँदै जोर-बिजोर रोल नम्बरको आधारमा तथा बिहान र दिउँसो दुई सिफ्टमा भए पनि कक्षा सञ्चालन गरौं भन्ने निर्णयमा पुगेका हौं,’ पोखरेलले सेतोपाटीसँग भने।
अहिले नियमित कक्षा सञ्चालन नभई शिक्षण सिकाइको रूपमा विद्यालय खोलिएकाले धेरै विद्यार्थी संख्या भएका कक्षाहरूमा जोर-बिजोर रोल नम्बरको आधारमा विद्यार्थीहरू विद्यालय आउने गरेका छन्।
विद्यार्थी संख्या थोरै भएका सानो कक्षाहरूमा भने हप्ताको ६ दिन नै सबै विद्यार्थीलाई बोलाउने गरिएको विद्यालयहरूले बताएका छन्।
थोरै विद्यार्थी भएका कक्षाहरूमा पनि एउटा कक्षाकोठामा २० जना विद्यार्थी नबढ्ने गरी एउटा बेन्चमा दुई जना मात्र विद्यार्थी राखेर कक्षाकोठाको व्यवस्थापन गरिएको छ।
भौतिक पूर्वाधार पर्याप्त रहेको र विद्यार्थी संख्या थोरै भएका विद्यालयहरूमा भने दैनिक पठनपाठन सञ्चालन गर्न गाउँपालिकाले निर्देशन दिएको छ। तर बालशिक्षाका कक्षाहरू भने अहिले सञ्चालन गरिएका छैनन्।
‘बालशिक्षाका बालबालिकाहरूलाई हात समातेर नै विद्यालय ल्याउने र घर लैजानुपर्ने भएको र जनस्वास्थ्य मापदण्डमा राख्न कठिन हुने भएकाले कक्षा सञ्चालन गरिएको छैन,’ गाउँपालिका अध्यक्ष पोखरेलले भने।
अध्यक्ष पोखरेलले कोरोना संक्रमणको कुनै जोखिम तथा अप्ठ्यारो अवस्था महशुस गर्ने बित्तिकै जुनसुकै बेला पनि विद्यालय बन्द गर्न सकिने जानकारी दिए।
‘विद्यार्थी तथा शिक्षकहरूमा कोरोना संक्रमणको कुनै लक्षण देखिए तत्काल क्वारेन्टिनमा राखी गाउँपालिका आफैंले पिसिआर परिक्षण गर्ने छ,’ उनले भने।
त्यस्तै, विद्यालयमा मास्क र हात धुने साबुन पानीको व्यवस्था गरिएको छ भने विद्यार्थीहरूलाई प्रार्थना गराउने, आपसमा जमघट भई खेलाउने र खाजा खुवाउने काम गर्न भने रोक लगाइएको छ।
छत्रदेव वडा नं. ७ भुस्काटामा रहेको सरस्वती माविका प्रधानाध्यापक ठाकुर पाण्डेले अहिले नियमित पठनपाठन सुरू भएको नभई विद्यार्थीलाई विद्यालयसम्म आउने वातावरण तयार गर्दै गृहकार्य दिने र हेर्ने गरी सिकाइ केन्द्रको रूपमा विद्यालय सञ्चालन गरिएको जानकारी दिए।
‘पुरानो शैलीबाट दैनिक विद्यालय आउने र पूरै समय कक्षाकोठामा बसी पठनपाठन गर्ने भन्दा पनि शिक्षकले गृहकार्य दिने र विद्यार्थीले गृहकार्य बुझाउने रूपमा मात्र विद्यालय सञ्चालन गरिएको छ,’ पाण्डेले भने।
कोरोना संक्रमणको जोखिमका कारण लामो समय विद्यालय बन्द हुँदा सबभन्दा बढी यसको मारमा विद्यार्थीहरू परेकाले कोरोनासँग सावधानी अपनाएर विद्यालय सञ्चालन गरिएको उनले बताए।
लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीहरूमा पढ्ने र गृहकार्य लेख्ने बानी हटिसकेकाले पुरानो अवस्थामा विद्यार्थीहरूलाई फर्काउने केही समय लाग्ने उनले बताए।
‘केही विद्यार्थीहरूले कक्षामा आएर पढ्न खोजे पनि अधिकांश विद्यार्थीहरूले पढ्नुपर्छ भन्ने कुरा नै बिर्सिसकेका छन्,’ उनले भने।
उक्त विद्यालयमा गतवर्ष चार सय विद्यार्थीले पठनपाठन गर्दै आएका थिए। तर यस वर्ष भने सबै विद्यार्थी सम्पर्कमा आइनसकेको प्रधानाध्यापक पाण्डेले बताए।
गाउँपालिकाका अनुसार छत्रदेव गाउँपालिकामा ४७ वटा सामुदायिक विद्यालयमा ६ हजार बढी विद्यार्थी अध्ययनरत् छन्। ती सबै विद्यालयहरू आइतबारदेखि शिक्षण सिकाइ केन्द्रका रूपमा सञ्चालन भएको गाउँपालिकाले जनाएको छ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकाले अघिल्लो सातादेखि नै जनस्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालयहरू सञ्चालन गरेको भए पनि अरु पालिकाहरूमा भने विद्यालय सञ्चालन हुन सकेका छैनन्।