शुक्रबार साँझदेखि रातभर परेको अविरल वर्षाले रुपन्देहीको अधिकांश क्षेत्र डुबानमा परेको छ। चुरे क्षेत्रबाट बग्ने रुपन्देहीका तिनाउ, रोहिणी, दावन, कंचन, डण्डा लगायतका नदीहरूको जलसतह बढेर आसपासका बस्तीहरू कटानमा परेका छन्।
त्यस्तै, बुटवल उपमहानगरपालिकासँगै तिलोत्तमा, सैनामैना, देवदह, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिका र सबै गाउँपालिकाहरू डुबानमा परेका छन्।
शुक्रबार रातभर परेको मुसलधारे वर्षा शनिबार बिहानैदेखि रोकिएर घाम लागेको भए पनि अधिकांश क्षेत्र अझै पनि जलमग्न छन्।
रुपन्देहीसँगै पाल्पा क्षेत्रमा पनि रातभर भीषण वर्षापछि चुरे भएर बग्ने सबै खोलाहरू उर्लिएपछि रातभर नदी किनारका बासिन्दा जागाराम बस्दै सुरक्षित स्थानतर्फ लागेका थिए।
बाढीको उच्च जोखिममा रहेका खोला आसपासका बासिन्दालाई राति नै सुरक्षित स्थानमा लगेको कारण केही घरटहराहरू बगाए पनि मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्क बहादुर खत्रीले नदी आसपासका मर्चवार, ओमसतिया, सियारी, मायादेवी, देवदह, तिलोत्तमा, लुम्बिनी साँस्कृतिक नगरपालिकामा बस्तीहरू डुबानमा परेको र केही घरहरू डुबान र कटानमा परेको जानकारी दिए।
तिनाउमा जलस्तर बढेर खतराको तह पार गरेसँगै बेथरी बजारमा समेत पानी पसेर पसलहरू जलमग्न भएका छन्।
त्यस्तै, बनगाई, मकरी, गैरगट्टी, गुरवनिया लगायतको क्षेत्र डुबानमा परेको छ। बाढीले मर्चवार जाने मुख्य सडक अवरूद्ध छ।
दक्षिणी क्षेत्रका खेतका फाँटमात्र होइन सहरी क्षेत्रका बस्तीमा पनि बाढी पसेर सडक र घरआँगन हिलाम्मे भएका छन्। बाढीले धान खेतीमा समेत ठूलो क्षति पुर्याएको छ।
वर्षाले रुपन्देहीको ओमसतिया गाउँपालिकाको वडा नम्बर ५ पिपरहिया पनि डुबानमा परेको छ। रोहिणी नदीमा पानीको सतह बढेपछि सो गाउँका १५ वटा वर्षाले लुम्बिनी साँस्कृतिक नगरपालिका १२ सुनवलका ४ वटा घरका पर्खाल भत्किएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रोहिणी, तिनाउ, दानव नदी बस्तीमा पस्दा ५० बढी घरहरू डुबानमा परी क्षति भएका छन्। अन्नपात, लत्ताकपडा, पशुचौपाया बगेका छन्।
रोहिणी नदी सुकुम्बासी बस्तीमा पस्दा रोहिण गाउँपालिका ५, पिपरहवामा १८ घर डुबानमा परेका छन्। गोठहरू भत्किएका छन् भने खाद्यान्न, लत्ताकपडा, केही पशुचौपाया पनि बगेको स्थानीयले जनाएका छन्।
यहाँ, बुंगुर, हाँस, खसीबोका बाढीले बगाएको छ। यस्तै, पाक्ने बेलाको धानबालीमा पनि ठूलो क्षति पुगेको छ।
त्यस्तै, लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १३ वडउलियास्थित बलिराम हरिजनको एक तले खरले छाएको कच्ची घर वर्षाले भत्किँदा हरिजनकी श्रीमती कुसुम हरिजनको दाहिने खुट्टा भाँच्चिएको छ।
लुम्बिनीकै वडा नम्बर १२ मा ४ वटा घरका पर्खाल भत्किएका छन्। तिलोत्तमा नगरपालिका ८ सातकुला नहरले ४५ वर्षीय ठाकुरप्रसाद थारुको ब्लक र जस्ताले बनेको एक तले कच्ची घर भत्काएको छ।
तिलोत्तमा गणेशनगरमा सुखौरा खोलाको बहाव बढेर गणेशनगरका धनबहादुर सार्की, रघुविर दमाई, मेन बहादुर रुचालको टिनले छाएको कच्ची घर बगाएको छ।
तिलोत्तमा १० मा रहेको पूर्णबहादुर गुरुङको कुखुराको खोरमा बाढी पस्दा रहेका ४ हजार कुखुरा मरेका छन्। खोरमा काम गर्ने ५ जना बाढीमा फसेपछि उनीहरूलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ।
देवदह नगरपालिका १० रम्बादेवीटोलमा चरंगे खोलाको बाढीले खोला छेउ रहेको राम श्रेष्ठको ३ कोठे १ तले ब्लक र जस्ताले बनाएको घर र घरमा रहेका २ वटा बाख्रा, ५–६ वटा कुखुरा, लत्ता कपडा, खाद्यान्न र अन्य सामान बगाएको छ।
सम्मरीमाई ५ देबन्डीको प्रभावती मल्लाहको टिन र फलामको डण्डीले बनाएको घर भत्किँदा ५ जना घाइते भएका छन्।
सम्मरीमाई र मर्चवारी गाउँपालिको भरवलिया, देबन्डी, मन्झरिया, लोहाटोला, बरगर टोला लगायतका क्षेत्रका १५ भन्दा बढी घरमा बाढीले क्षति पुर्याएको छ।
यस्तै, बुटवल उपमहानगरपालिका, १७ रानीगन्ज तिनाउ नदीले उमेश हरिजनको २ कोठे ब्लक र जस्ताले बनाएको घर, पुरुषोत्तम पुरीको २ कोठे ब्लक र जस्ताले बनाएको घर बगाएको प्रहरी नायब उपरिक्षक खत्रीले जानकारी दिए।
यता रातभरको वर्षापछि सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डमा आधा दर्जन बढी स्थानमा पहिरो झरेको छ।
तिनाउ गाउँपालिकाको चरचरे, पावरहाउस, पानीमिलसहित गौडेपुल नजिकै पहिरो खसेर सडक पूर्ण अवरूद्ध भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।