रूपन्देहीको सियारी गाउँपालिका-२ मुर्दहवा (दुर्गापुर)की ७० वर्षीया बेलासी केवटले धेरै वर्ष भोट हालेकी छन्। भोट हाल्ने बेला राजनीतिक दल र नेताहरू विभिन्न नारा लिएर उनको आँगनमा आउँछन्।
अस्तिपालिको नारा थियो- सिंहदरबारको अधिकार आफ्नै घर आँगनमा।
गाउँसम्म अधिकार आएको सुनेकी छन् उनले, अनुभूति गर्न भने पाएकी छैनन्। पाएकी हुँदी हुन् त ७० वर्षदेखि अँगेनामा ठोस्दै आएको 'गुइँठे जिन्दगी' मा परिवर्तन आउँदो हो!
काठमाडौंदेखि गाउँसम्मका सिंहदरबारले विकास, बिजुली जस्ता कुरा गर्छन्। कहिले चुल्होमै ग्यास आउने बनाउँछौं भन्छन्, कहिले बिजुली चुल्होको कुरा गर्छन्।
बेलासीलाई भने चुल्हो गुइँठाले मात्रै बल्छ भन्ने थाहा छ।
संसारमा चुल्हो बाल्ने जिनिस र चुल्हो आफैं कति फेरिए भन्ने उनलाई भेउ छैन। पाँच वर्षकी हुँदा बिहे गरेर दुर्गापुर आएकी उनले गुइँठाको धुँवा र गन्धमै खाना पकाएर जीवनका सात दशक बिताइन्।
रूपन्देहीको महत्वपूर्ण सडक बेलबास–बेथरी सडकखन्ड छेउमै पर्ने बेलासीको गाउँ दुर्गापुरमा बाटा भने साँघुरा छन्। बस्तीभित्रका साँघुरा सडकदेखि सुरू हुन्छ घर-गोठको दलान। पहिले गोठ आउँछ त्यसँगै जोडिएर मान्छेको घर!
घरका भित्ता र छानामा गोबरका गुइँठा सुकाइएका छन्। केही भित्तामा उक्काइएको गुइँठाको टाटा देखिन्छ। गोबरमा पराल र गहुँको भुस मुछेर बनाइएका गुइँठा नै हो उनीहरूको भान्छा तयार गर्ने इन्धन!
गत हप्ता दुर्गापुर गाउँ पुग्दा बेलासीकी छिमेकी लालमती केवट गोबरमा भुस मुछेर गोठको भित्तामा सुकाउँदै थिइन्। सौर्यऊर्जा, ग्यास, गोबरग्यास भनेको बुझ्दिनन्।
१६ वर्षीया ऋषा केवटलाई भने मट्टितेलका चुल्हो, गोबरग्यास र ग्यासबारे थाहा छ। उनकी आमा नजिकैको गाउँमा किराना पसल चलाउँछिन्। बुवा गाउँका वर्षामा माछा मार्न र हिउँदमा गिट्टी-बालुवा लोड गर्न जान्छन्। कक्षा १० पढ्ने ऋषाको घरमा गाईभैंसी छैन। तर काकीले दिएको गोबरबाट गुइँठा बनाउने बताउँछिन्।
'बुवाआमा काममा जानुहुन्छ। त्यसैले हाम्रो घरमा भैंसी छैन। तर आगो बाल्न काकीको घरबाट ल्याएको गोबरबाट बनाउँछु,' उनले भनिन्।
स्थानीय इलाइची केवटलाई पनि ग्यास हुन्छ भन्ने थाहा छ। यो पनि थाहा छ, त्यो आफ्नो बर्कतले धान्दैन। माछा मार्दामार्दै डुबेर उनका पतिको २ वर्षअघि मत्यु भयो। हुर्किंदै गरेका दुई छोरी र एक छोराको पालनपोषण जिम्मेवारी इलाइचीको एक्लो थाप्लोमा छ। सम्पत्तिको नाममा गाउँदेखि अलि टाढा दुई कठ्ठा खेत छ।
'खाना पकाउन सजिलो त ग्यासमा हुन्थ्यो। तर किन्न पैसा चाहियो, घरमा कमाउने कोही छैन,' उनले भनिन्, 'दुई कठ्ठा खेतमा केरा लगाएको छ। त्यही बेचेर बल्लतल्ल दालचामल किन्न पुग्छ। ग्यास कसरी सक्नु?'
उनी जेठाजु र देवरको परिवारसँगै एउटै घरमा कोठा बारेर बसेकी छन्। गाउँका अधिकांशको अवस्था यस्तै हो। साँघुरो घरमा मानिसलाई ओत लाग्ने ठाउँ हुन्न, वर्खायाममा गुइँठा जोगाउन झनै सकस छ।
गुइँठालाई ओत कसरी दिने- बस्तीभरीका महिलाको चिन्ता हो यो।
'पानीमा भिज्यो भने पग्लिइहाल्छ। थोरै चिसो भए पनि सल्किँदैन। खाना पकाउन आफैंलाई दुःख हुन्छ। त्यसैले गुइँठा घरभित्रै राख्नुपर्छ,' उनले भनिन्।
घरभान्साको जिम्मेवारी महिलाको भागमा परेपछि चिन्ता पनि उनीहरूलाई नै ज्यादा। गुइँठाबाट निस्किने हानिकारक धुँवाको मारमा पनि महिला नै धेरै पर्छन्।
जिल्ला स्वास्थ्य कार्यालय, रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार लामो समय धुँवामा बस्दा श्वासप्रश्वासमा मात्र होइन फोक्सो, मुटु, कलेजो लगायत अंगमै असर पुग्छ। महिलाको गर्भमा रहेको बच्चा कम तौलको जन्मिने, जन्मिएपछि पनि कुपोषण समस्या हुने पनि उनले बताए।
'गुइँठाको मात्र होइन, धुवाँ जेसुकैको भए पनि हानिकारक छ। यसले एउटा अंग मात्र हानी गर्दैन, आँखा, छाती, फोक्सो, मुटु, कलेजो लगायतमा असर गर्छ। फोक्सोको क्यान्सर समेत हुन सक्छ,' गिरीले भने।
गुइँठाको धुँवामा बानी परेका महिलालाई भने डाक्टरका कुरा सामान्य लाग्छन्।
'धुँवाले आँखा पिरो हुने, सास थुनिएजस्तो हुने अलिअलि त भइहाल्छ नि। यसमै बानी पर्यो,' इलाइचीले भनिन्।
सियारीको दुर्गापुरसहित बुटवल उपमहानगरपालिकाको मोतिपुर, तिलोत्तमालगायत दक्षिणी क्षेत्रका अधिकांश पालिकामा वनजंगल मासिँदा गुइँठाले दाउराको काम गर्दै आएको छ।
बेलासी र इलाइचीजस्ताको चुल्हो कहिले फेरिन्छ, थाहा छैन।
सरकारको प्राथमिकतामा पनि महिलामैत्री विकास निर्माणका काम पर्दैनन्। हुन त भातभान्साको काम महिलाको मात्रै होइन। सरकारले न यो काम पुरूषको पनि हो है भनेर समाजलाई बुझाउने सन्देशमूलक कार्यक्रमलाई प्राथमिकता दिन्छ, न चुल्होचौकोलाई सजिलो बनाउने विकास नीति बनाउँछ।
गैरसरकारी संस्था महासंघका उपाध्यक्ष सुमित्रा शर्माका अनुसार चुल्होचौकाको विषय मात्र होइन खानेपानी, सरसफाई तथा महिला र बालबालिकाको स्याहारसुसार र स्वास्थ्य समस्या समेत महिलाका मात्र समस्या हुन् भन्ने आम बुझाइ छ।
'भौतिक विकास मात्रै विकासको सूचक मानेर सामाजिक विकास वेवास्ता गर्ने गरिएको छ। भौतिक विकास पनि महिलाको सजिलोका लागि छैनन्,' उनले भनिन्।
महिलाहरू नीतिनियम बनाउने, बजेट बाँडफाँट गर्ने, योजना छनोट गर्ने स्थानमा पुगे पनि उनीहरूको हैसियत माथि उठ्न नसक्दा महिलामैत्री विकासका योजना बन्न नसकेको उनको ठहर छ। तर स्थानीय तहको नेतृत्वमा एउटा महिला अनिवार्य र ३३ प्रतिशत सहभागिता हुनुपर्ने भनिएको छ। यसले भोलिका दिनमा महिलाका पक्षमा अझै सशक्त काम गर्नेमा उनी आशावादी भने छिन्।
सियारी गाउँपालिकाका अध्यक्ष अयोध्याप्रसाद थारू छोटो समयमै धेरै क्षेत्रमा काम गर्नुपर्दा सबैतिर पुग्न नसकेको बताउँछन्।
'गाउँपालिकाले गुइँठा विस्थापितको योजना बनाएको छैन,' उनले भने, 'प्रदेश सरकार र गाउँपालिकाको आफ्नै श्रोतबाट भए पनि एउटा बस्तीलाई नमूना रूपमा लिएर ऊर्जामा सहयोग गर्न भने सकिन्छ।'
सरकारले अहिले ऊर्जा उत्पादन र माग दुवै बढाउने लक्ष्य लिएको छ। प्रदेश ५ सरकारले नै ऊर्जा क्षेत्रका लागि चालु आर्थिक वर्षमा २५ करोड ६० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। जसमध्ये विद्युत पहुँच नपुगेका बस्तीमा अनुदानमा घरेलु सौर्य ऊर्जा प्रणाली जडानका लागि ७ करोड ४० लाख, ऊर्जा दक्षता भएका विद्युतीय सामग्री अनुदानमा ५० लाख र बायोग्यासमा आधारित विद्युत् प्लान्ट निर्माणमा ५० लाख छुट्टयाएको छ।
त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत सशर्त अनुदानमा सुधारिएको चुल्हो, बायोमास प्रविधि जडानका लागि १० लाख, सौर्य ऊर्जा प्रविधि जडान ३० लाख तथा बायोग्यास जडानका लागि पनि १५ लाख विनियोजन गरेको छ। सबभन्दा बढी विद्युत पहुँच नै नपुगेका क्षेत्रमा भने ग्रामीण एवम् सामुदायिक विद्युतीकरणका लागि १० करोड छुट्टयाएको छ।
प्रदेश योजना आयोगका सदस्य डा. विष्णु गौतमले सबै प्रदेशवासीमा आधुनिक ऊर्जा पहुँच पुर्याउने लक्ष्य पूरा गर्न बिजुली र सुधारिएको चुल्होले गुइँठा प्रतिस्थापन कार्यक्रम ल्याउन लागिएको जानकारी दिए।
'रूपन्देही, कपिलवस्तुलगायत जिल्लामा वनजंगल मासिँदै गएको छ। गुइँठा बाल्ने प्रचलन कायम छ। प्रतिस्थापन गर्न विद्युतीय चुल्हो र भाँडा वितरणको योजना बनाउन जरूरी छ,' उनले भने।
ऊर्जा क्षेत्रमा छुट्टयाएको सोही बजेटबाट पनि वितरण गर्न सकिने उनले बताए। अहिले विद्युत उत्पादन बढिरहेकाले खपतमा पनि जनता आकर्षित गर्नुपर्ने उनी बताउँछन्।
नेपाल सरकारले सन् २०३० भित्र सबै नेपालीमा स्वच्छ ऊर्जाको पहुँच पुर्याउने लक्ष्य लिएको छ। तर काठमाडौंको सिंहदरबारको लक्ष्य होस् वा आँगनको सिंहदरबारको, यसबारे बेखबर छिन् बेलासी केवट!