चैत महिनामै परीक्षा तोकिए पनि ६ महिनासम्म परिक्षा दिन नपाउँदा रुपन्देहीकी आकांक्षा भण्डारी चिन्तित थिइन्।
उनी लुम्बिनी बौद्ध विद्यालयमा बिए एलएलबी अध्ययनरत छिन्। पहिलो सेमेष्टरको परिक्षा दिएर दोस्रो सेमेष्टरमा पढ्न पाइएला भन्दाभन्दै उनको ६ महिना बित्यो।
तर गत आइतबारदेखि भने उनी परीक्षामा व्यस्त छिन्। तिलोत्तमा नगरपालिका जानकीनगरस्थित स्मृति बोर्डिङ स्कुलमा उनको परीक्षा केन्द्र तोकिएको छ। जहाँ उनीजस्तै १० जना विद्यार्थीले परीक्षा दिइरहेका छन्।
कोरोना संक्रमणपछि जारी लकडाउनका कारण नेपालका सबै स्कुल क्याम्पसको परीक्षा र पठनपाठन बन्द छ। केही विद्यालय र क्याम्पसमा इन्टरनेटको प्रयोग गरी अनलाइन माध्यमबाट पठनपाठन भइरहे पनि अधिकांश विद्यालय र क्याम्पसमा अनलाइन माध्यमबाट पनि पठनपाठन हुन सकेको छैन।
जसले गर्दा विद्यार्थीहरु कोरोना संक्रमणको त्राससँगै कहिले परीक्षा होला र माथिल्लो कक्षामा पुगिएला भन्ने चिन्तामा छन्। विद्यार्थीहरुको यस्तै समस्यालाई समाधान गर्न लुम्बिनी बौद्ध विश्वविद्यालयले कोरोना संक्रमणबाट जोगिन सबै सुरक्षा उपाय अपनाउँदै ‘डोर टु डोर’ परीक्षा शुरु गरेका छ।
आकांक्षा पनि त्यही ‘डोर टु डोर’ परीक्षामा सहभागी हुँदै बिए एलएलबीको पहिलो सेमेष्टरको परीक्षा दिइरहेकी छन्। मंगलबारसम्म तीनवटा विषयको परीक्षा दिएकी आकांक्षाले विहीबार पहिलो सेमेष्टरको परीक्षा सकिने बताइन्।
‘चैत महिनामै हुनुपर्ने परीक्षा भदौको अन्तिममा आएर दिन पाए पनि खुसी लागेको छ, हामीले त अनलाइनबाटै भएपनि पहिले नै परिक्षा लिए हुन्थ्यो भन्ने लागेको थियो, केही ढिलो भए पनि फिजिकल रुपमै परीक्षा भइरहेको छ’ उनले भनिन्।
आकांक्षा सँगै बिए एलएलबी र बुद्धिष्ट स्टडिजका ९० जना विद्यार्थीले अहिले डोर टु डोर परीक्षा दिइरहेका छन्।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार तिलक आचार्यले कानुन शंकायका ८० जना, बुद्धिष्ट स्टडिजका १० जना विद्यार्थीले डोर टु डोर परीक्षा दिइरहेको बताए। उनले विद्यार्थी र अभिभावकसँगको छलफल र सुझावपछि यो विधिबाट परीक्षा लिन सम्भव भएको बताए।
‘छ महिनासम्म परीक्षा लिन नसक्दा विद्यार्थी र अभिभावक तनावमा हुनुहुन्थ्यो, हामीले अनलाइनबाट वा व्यक्तिगत दूरी कायम गरेर भएपनि कसरी परिक्षा संचालन गर्न सकिन्छ भनेर गरिएको छलफल पछि डोर टु डोर परिक्षा विधि अपनाएका हौं’ आचार्यले भने।
अहिले बुटवलका ३ परीक्षाकेन्द्रसँगै कपिलवस्तु, गुल्मी, अर्घाखाँची, नवलपरासी र हुम्ला गरी आठ वटा केन्द्रबाट परीक्षा भइरहेको आचार्यले बताए।
कानुन शंकायमा पढ्ने हुम्लाका खड्क जैशीले सिमिकोटस्थित मानसरोवर बहुमुखी क्याम्पसको केन्द्रबाट परीक्षा दिइरहेका छन्। परीक्षा लिनको लागि विश्वविद्यालयबाट हुम्ला जान सम्भव नभएपछि सोही क्याम्पसका प्रमुख बसन्त रोकायालाई केन्द्राध्यक्षको जिम्मेवारी तोकिएको छ।
‘हरेक दिन परीक्षा शुरु हुनुभन्दा १५ मिनेट पहिले प्रश्नपत्र क्याम्पस प्रमुख रोकायालाई मेल गरिदिन्छौं, उहाँले विद्यार्थीलाई उपलब्ध गराउनुहुन्छ र विद्यार्थीले लेखेको उत्तरपुस्तिकालाई स्क्यान गरी तत्काल पठाउनुहुन्छ, अरु केन्द्रमा भने सोही दिन नै प्रश्नपत्र पठाउने गरेका छौं’ उनले भने।
कोरोना महामारीका कारण सबै विश्वविद्यालयको परीक्षा रोकिएको समयमा विद्यार्थीलाई पायक पर्ने स्थानमा यही शैली अपनाएर परीक्षा लिन सकिने आचार्य बताउँछन्। ‘अब पनि परीक्षा लिन सकिएन भने विद्यार्थीको एउटा सेमेष्टर ढिलो हुन्छ, अहिले यो विषय सामान्य लागे पनि विद्यार्थीको भविष्यमा यसले ठूलो असर गर्छ’ उनी भन्छन्।
रजिष्टार आचार्यले विद्यार्थीहरु भएको ठाउँहरु पत्ता लगाएर सम्बन्धित वडा समिति तथा विद्यालयलाई जिम्मेवारी दिएर पनि रोकिएका परीक्षा शुरु गर्न सकिने बताउँछन्।
विश्वविद्यालयले थोरै विद्यार्थी भएका शंकाय तथा सेमेष्टरको अनलाइन माध्यमबाट परीक्षा लिए पनि कानुन र बुद्धिष्ट स्टडिजमा धेरै विद्यार्थी रहेकोले अनलाइनबाट सम्भव नभएपछि यस्तो शैली अपनाइएको हो।
परीक्षा केन्द्र तोक्दा पनि एउटा केन्द्रमा १५ जना भन्दा बढी विद्यार्थी नबढ्ने गरी तोकिएको छ। साथै परीक्षा दिन आउने विद्यार्थी र परीक्षा लिने शिक्षकको स्वास्थ्य सुरक्षामा सावधानी अपनाउँदै सेनिटाइजर, मास्क, ग्लोभ्स तथा छात्राहरुलाई सेनिटरी प्याड समेत परीक्षा केन्द्रभित्रै निशुल्क उपलब्ध गराइएको छ।
परीक्षार्थीहरुको बीचमा पनि दुई मिटर भन्दा बढी दूरी कायम गरिएको र परीक्षा केन्द्रमा आउँदा र घर जाँदा समेत दूरी कायम गरे, नगरेको निगरानी गरिरहेको आचार्यले बताए।
त्यस्तै विद्यार्थीहरु परीक्षा दिएर गएपछि कोठा निर्मलीकरण गर्ने तथा विद्यार्थी र केन्द्राध्यक्ष बाहेक अरुलाई भित्र प्रवेश गर्न समेत अनुमति नदिएको उनले बताए।
लुम्बिनी बौद्ध विश्वविद्यालयले स्नातक तहमा कानून, बुद्धिज्म, भोट विषयमा परीक्षा सुरु गरेको छ। त्यस्तै स्नातकोत्तर तहमा म्युजोलोजी, आर्कोलोजी विषयको परीक्षा सुरु भएको छ। सातसय विद्यार्थी अध्ययनरत विश्वविद्यालयमा अहिले विभिन्न माध्यमबाट करिब ४ सय विद्यार्थी परीक्षामा सहभागी भएको आचार्यले बताए।