बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले कोरोनाको पिसिआर परीक्षणको शुल्क घटाएको छ। नेपाल सरकारले यसअघि तोकेअनुसार चार हजार पाँच सय रुपैयाँ लिँदै आएको अस्पतालले सोमबारदेखि लागू हुने गरी शुल्क घटाएको हो।
सोमबारदेखि शुल्क परिमार्जन गरी दुई हजार पाँच सय रुपैयाँमा पिसिआर परीक्षण गरिने अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए।
कतिपय अस्पतालहरूले शुल्क परिमार्जन गरेको र पछिल्लो समय पिसिआर परिक्षणको लागि आवश्यक किटको शुल्कसमेत घटेकोले शुल्क परिमार्जन गरिएको उनले जानकारी दिए।
प्रदेशको नेपालगन्ज प्रयोगशालामा दुई हजार दुई सय रुपैयाँमा पिसिआर परीक्षण हुँदा प्रादेशिक अस्पतालले भने ४ हजार ५ सय रुपैयाँ नै लिएको भन्दै सर्वत्र आलोचना भएको थियो। अस्पतालले नयाँ लागू गरेको शुल्क सोमबारबाट लागू हुनेछ।
यस्तै, सरकारले सरकारी अस्पतालहरूलाई पनि ५० प्रतिशत पिसिआर परीक्षणको शुल्क लिन पाउने अनुमति दिएको छ। दैनिक चार सय जनाको पिसिआर परीक्षण गर्ने क्षमता रहेको अस्पतालमा दुई सय जनाको शुल्क लिएर परीक्षण गर्न सकिने छ।
अस्पतालले नि:शुल्क र शुल्क लिएर गर्ने पिसिआरबारे मापदण्डसमेत बनाएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले ज्वरो आउने, स्वासप्रस्वास तथा खोकीको समस्या लिएर अस्पतालको ज्वरो क्लिनिकमा आएका विरामीको नि:शुल्क पिसिआर परीक्षण गरिने जानकारी दिए।
अस्पतालका चिकित्सकको सिफारिसमा दीर्घरोगी, आइसियूमा उपचाररत् तथा ६० वर्षमाथिको विरामीको पनि नि:शुल्क पिसिआर परीक्षण गरिने छ।
त्यस्तै, कोरोना संक्रमण पुष्टि भई आइसोलेसनको आइसियूमा भर्ना भएका र संक्रमण मुक्त भए-नभएको पुष्टि गर्न पनि पिसिआर परीक्षण नि:शुल्क गरिने छ भने आइसोलेसनमा बसे पनि लक्षण नदेखिएकाहरूको भने पिसिआर परीक्षण गर्न चाहे शुल्क लिएर परीक्षण गरिने डा. खनालले जानकारी दिए।
अस्पतालमा अप्रेसन गर्ने अवस्थाका आर्थिक अवस्था कमजोर भएका विरामी र संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाहरूको पनि नि:शुल्क परीक्षण गरिने छ।
पछिल्लो समय स्थानीय तहहरूले समेत आफूखुसी पिसिआर परीक्षण नि:शुल्क गर्ने घोषणा गर्न थालेको र वडा तहबाट समेत परीक्षणका लागि सिफारिस हुन थालेपछि लोड बढ्दै गएकोले मापदण्ड बनाइएको डा. खनालले बताए।
सरकारले हरेक अस्पताललाई उसको क्षमताको आधारमा सेवा प्रदान गर्न बाध्यात्मक गरेपछि लुम्बिनी प्रादेशिक अस्पतालले पनि आफ्नो अस्पतालमा आएका विरामीलाई प्राथमिकता दिएर पिसिआर परीक्षण गर्ने जनाएको छ।
अस्पतालले शुल्क तिरेर परीक्षण गर्न चाहनेहरुको पिसिआर रिपोर्ट २४ घण्टाभित्र र नि:शुल्क परीक्षण गर्नेहरूको भने ४८ घण्टामा रिपोर्ट उपलब्ध गराउने छ। तर, गम्भीर अवस्थाका विरामी र संक्रमण पुष्टि हुन नपाउँदै मृत्यु भएकाहरूको भने जिन एक्सपर्ट मेसिनको माध्यमबाट तत्काल पिसिआर परीक्षण गर्ने जनाएको छ।
गत असार २१ गतेदेखि कोरोनाको पिसिआर परीक्षण सुरू गरेको अस्पतालमा भदौ २७ गतेसम्म १२ हजार ९ सय ७५ जनाको पिसिआर परीक्षण गरिएको छ। तीमध्ये ९ सय ७७ जनामा कोरोना पोजेटिभ देखिएको डा. खनालले जानकारी दिए।
त्यस्तै, गम्भीर अवस्थामा अस्पताल आएका २ सय ८३ जनाको जिन एक्सपर्ट मेसिनबाट परीक्षण गरिएको छ। तीमध्ये ६९ जनामा कोरोना पोजिटिभ देखिएको छ। यसरी पिसिआर परीक्षण सुरू गरेको दुई महिनाको अवधिमा अस्पतालमा आएका १ हजार ४६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।