बुटवलका यमबहादुर थापा भारतीय सेनामा भर्ति भएको भए अहिले पेन्सन खाएर बसेका हुन्थे। सुवेदारबाट अवकाश पाएका उनका बुवा लालवीर थापा, हवल्दार बाजे जैबहादुर थापापछि उनका परिवारै भारतीय सेनामै जोडिए। यमबहादुरलाई पनि दबाब थियो।
'हामी लाहुरेका सन्तान। बाजे, बुवा, मावली बाजे, मामाहरू, ससुरा बुवा सबै लाहुरे। यस्तो परिवारमा जन्मिएपछि म लाहुरे नै होऊँ भन्ने अरूको चाहना हुनु स्वाभाविक हो,' यमबहादुर भन्छन्।
तर उनलाई अरू देशको सेवा गर्न मन थिएन। नेपालमै पनि उनलाई अरूको काम गर्न इच्छा भएन। अनि उनले आफ्नो सानैदेखिको रूचि नै पेसा बनाउने निधो गरे- कलाक्षेत्र।
आज उनको पहिचान यसैमा बनेको छ। उनले ढुंगा, सिमेन्ट र धातुमा जीवन खोज्न थालेको झन्डै तीन दशक भयो। भगवानका मूर्ति, सहिद, राजनीतिक दलका दिवंगत नेताका सालिक, बुद्ध लगायत दर्जनौं आकृति उतारिसकेका छन् उनले। अहिलेसम्म कति मूर्ति बनाए, सम्झना छैन।
'हिसाब राखेर पनि सकिँदैन। देवताका मूर्ति कति बनाएँ भन्ने गनिँदैन। ठूला सालिक ४० वटा जति बनाएको छु,' उनी भन्छन्।
बुटवल राजमार्ग चौराहमा लखन थापाको शालिक, भैरहवा देवकोटाचोक र बहुमुखी क्याम्पस तथा कपिलवस्तुको वाणगंगा लौगाईका लक्ष्मीप्रसाद देवकोटाका तीन वटा सालिक उनैले बनाएका हुन्।
त्यस्तै भैरहवाकै भानु माविमा भानुभक्त आचार्य, ट्राफिक चोकमा शंखधर शाख्वा, हिलपार्कमा अरनिको, पाल्पाको सत्यवतीमा सत्यवती बजै, दोभान पाल्पामै सहिद अविरल र चुमिमाया गुरुङ, बुटवलमा भूपि शेरचन, कृष्णसेन स्मृति ब्रिगेड, सैनामैना रूपन्देहीका लागि बनाएको कृष्णसेन इच्छुक र बुटवल बहुमुखी क्याम्पसमा विद्यार्थी सहिद देवीलाल पौडेलको सालिक ठड्याइसकेका छन्।
२०२९ सालमा गुल्मीको सत्यवती गाउँपालिका-२ थुम्का लाकुरीबासमा जन्मिएका यमबहादुरले सबभन्दा पहिले दुर्गा-भवानीको चित्र बनाएका थिए। कक्षा ४ मा पढ्दा ग्राफ गरेर बनाएको त्यो चित्र उनले लामो समय घरमै राखेका थिए। पछि कतै हरायो रे।
लाहुरे परिवारबाट आए पनि छोराको कलाक्षेत्रमा इच्छा देखेर बुवाले पनि केही भनेनन्।
'बुवालाई पनि खासमा फोटोग्राफीमा रूचि थियो। उति बेला क्यामरामा ब्ल्याक एन्ड ह्वाइट फोटो आउँथ्यो। बुवा फोटोमा रङ लगाएर रंगीन बनाउनुहुन्थ्यो। म नजिकै बसेर सिक्थेँ,' उनी भन्छन्, 'उहाँको पनि कलामा रूचि भएर होला भारतबाट घर आउँदा रङहरू ल्याइदिनु हुन्थ्यो। मैले बनाएका चित्र हेरेर प्रोत्साहन गर्नु हुन्थ्यो। त्यसैले पनि लाहुरेमा भर्ति हुन जबर्जस्ती गर्नु भएन।'
कसैको तस्वीर हेरेर दुरुस्त उतार्ने र सुहाउँदो रङ भर्दै जाँदा उनी मूर्तिकलामा आकर्षित हुँदै गए। गाउँघरमा मठमन्दिरका मूर्ति र सार्वजनिक स्थानमा ठड्याइएका सालिक उनी नियालेर हेरिरहन्थे। मूर्तिकलाप्रति आफ्नो रूचिलाई कक्षा ६ मा पढ्नुपर्ने पूर्व-व्यवसायिक शिक्षाले मलजल गरिदिएको उनी बताउँछन्।
'पूर्व-व्यवसायिक विषयमा एसट्रे, केरा, चरा, मानिस, सुन्तला बनाउनुपर्थ्यो। गृहकार्यका रूपमा यस्ता आकृति बनाउनुपर्दा पनि म राम्रो माटो कहाँ छ भन्दै वनजंगलतिर खोज्न जान्थे,' उनी सम्झिन्छन्।
कमेरो र कालोमाटो खोज्दै उनी खोलाखाल्सी पुग्थे। खरबारीमा धमिराले लगाएको माटो ल्याउँथे। माटो अलि धेरै भिजाएर नरम बनाउँथे। मिल्ने रङ भरेर दुरुस्तै बनाएर स्कुल लैजान्थे। मिहेनत गरेर बनाएका सामग्री हेरेर शिक्षकले पनि हौस्याउँथे।
'कुहेका काठमा धमिराले उठाएको माटो, खोलाखाल्सीमा कमेरो र कालिमाटो खोज्थेँ,' उनी भन्छन्, 'रूखमा बांगिएका हाँगाबिँगामा पनि म कला देख्थेँ।'
बेरिएका र बांगिएका हाँगाबिँगामा सर्प बेरिएजस्तै, चराजस्तै आकृति लाग्थ्यो रे। त्यस्तै काठ-दाउरा उनी घर ल्याएर रंगाएर राख्थे।
कलामा रूचि भए पनि गुल्मीको विकट गाउँमा जन्मिएका उनलाई एसएलसीपछि कलासम्बन्धी पढाइ कहाँ हुन्छ भन्ने थाहा थिएन। बुझ्दै जाँदा काठमाडौंमा ललितकला क्याम्पस छ भन्ने थाहा पाए।
नाताले बुवा पर्ने उनकै गाउँका भुवन थापा पनि कलामा रूचि राख्थे। यमबहादुरभन्दा दुई वर्ष पहिले एसएलसी सकेका भुवन उच्चशिक्षा तर्फ नलागी गाउँकै एउटा स्कुलमा पढाउन थालेका थिए।
'कलामा रूचि छ भन्ने थाहा पाएपछि उहाँले मलाई पर्खिनुभएको रहेछ। मैले एसएलसी सकेपछि आमाबुवालाई सम्झाएर दुवै जना पढ्न काठमाडौं आयौं,' उनले भने।
भुवन अहिले काठमाडौं विश्वविद्यालयमा अध्यापन गर्छन् भने यमबहादुर मूर्तिकलामा स्नातक गरेपछि बुटवलमै मूर्तिकलामा जमेर लागेका छन्।
उनी ०५८ सालमा बुटवल आउँदा त्यति बेला 'आर्ट' पेसा राम्रो चल्थ्यो। विभिन्न कार्यक्रमका लागि ब्यानर तथा पसल-व्यवसायका बोर्ड बनाउने चलन थियो। उनले पनि बुटवल ट्राफिकचोकमा 'इमेज आर्ट स्टुडियो' खोलेर काम थाले।
साइनबोर्ड, शिलापत्र र ताम्रपत्रबाट सुरू उनको स्टुडियाको चर्चासँगै यमबहादुरको सिप र क्षमता पनि निखारिँदै थियो। उनले मूर्ति पनि बनाउन थाले।
'त्यति बेला बुटवलमा मूर्ति र सालिक खासै बनाइन्थेन। साथीहरू यस्तो कला बेचेर बाँच्न सकिँदैन भन्थे,' उनी विगत सम्झिन्छन्।
उनीभन्दा पहिले बुटवलमा गोविन्दबहादुर चौधरीले मूर्तिकला चिनाउँदै थिए। यमबहादुर आएपछि बजार झनै फस्टाउँदै गयो। २०६०/६१ सालतिर कला-व्यवसायीहरू मिलेर 'लुम्बिनी फाइन आर्ट इन्स्टिच्युट' गठन गरे। यसमार्फत मूर्ति बनाउन, पेन्टिङ गर्न सिकाउन थाले।
यमबहादुरका अनुसार इन्स्टिच्युटमा विद्यार्थी बढ्न थालेपछि विभिन्न संघसंस्था, निजी विद्यालयले चित्रकला प्रतियोगिता गर्न थाले। चित्रकला र पेन्टिङकै लागि निजी स्कुलहरूले बेग्लै शिक्षक राख्ने चलन सुरू भयो। यमबहादुर आफैं पनि एभरेस्ट बोर्डिङ स्कुलमा सात वर्ष चित्रकला शिक्षक भए।
'पहिले स्कुलमा चित्रकला पढाउने शिक्षक हुन्थेनन्। अहिले सरकारीमा नभए पनि धेरै निजी स्कुलले राख्न थालेका छन्। यो सबै हामीले गरेको योगदान हो भन्ने लाग्छ,' उनी भन्छन्।
उनलाई आफ्ना सिर्जना सबै राम्रा लाग्छन्। त्यसमा पनि उनलाई मनपरेको सहिद कृष्णसेन इच्छुकको सालिक हो।
'रुपन्देहीको सैनामैनाका लागि भनेर बनाएको त्यो सालिक कहाँ लगियो थाहा छैन। तर त्यो बनाउँदा ज्यादै सन्तुष्टि मिलेको थियो। राम्रो थियो,' उनले भने, 'लक्ष्मीप्रसाद देवकोटा, लखन थापाको सालिक पनि मलाई मनपर्ने मध्येकै हुन्।'
उनी ढुंगा, सिमेन्ट र धातु कुँदेर मूर्ति र सालिक बनाउँछन्। रुपन्देही मात्र होइन, दाङ, अर्घाखाँची, गुल्मी, स्याङ्जा, चितवन, कपिलवस्तु लगायत जिल्लामा पनि उनले बनाएका मूर्ति र सालिक ठडिएका छन्।
यमबहादुर मूर्ति बनाउन मात्र सीमित छैनन्। देशका विभिन्न स्थानमा हुने मूर्तिकला कार्यशालामा पनि सकेसम्म भाग लिन्छन्। काठमाडौं, कीर्तिपुरको 'युद्ध स्मारक पार्कको मूर्ति कार्यशाला' र माडीको सोमेश्वरगढीमा भएको 'प्रस्तर मूर्तिकला कार्यशाला' आफू सहभागी महत्वपूर्ण कार्यशालाका रूपमा सम्झिन्छन्।
उनकै नेतृत्वमा राजधानीबाहिर पहिलो पटक २०६७ सालमा बुटवल, हिलपार्कमा 'राष्ट्रिय प्रस्तर मूर्तिकला' र २०७६ सालमा देवदहमा 'काष्ठकला कार्यशाला' भइसकेका छन्। त्यस्तै डेढ दर्जन स्थानमा सामूहिक कला प्रदर्शनी गरेका यमबहादुरको लुम्बिनीमा 'आर्ट, क्राफ्ट र फिलाटेली कला कार्यशाला'मा पनि सहभागिता थियो।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, काठमाडौंका प्राज्ञ सभा सदस्य समेत रहेका यमबहादुरलाई 'कमर्सियल आर्टिस्ट संघ'ले २०६७ सालमा हेमगंगा युवा प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिसकेको छ।
त्यस्तै २०५० सालमै ललितकला क्याम्पसद्वारा आयोजित मूर्तिकला प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गरेका उनले २०७५ सालमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानबाट श्रष्टा सम्मान पाइसकेका छन्।
भारतीय सेनामा भर्ति हुने पारिवारिक 'चेन' तोडेर मूर्तिकलामा लागेका यमबहादुर अहिले कलाक्षेत्रमै आफ्नो पारिवारिक 'चेन' जोड्दै छन्। उनकी श्रीमती ठमी थापा र साली नुमकला राहादी दुवैले शिक्षा संकायमा स्नातकोत्तर गरेका छन् भने छोरा कुशलले 'जे.टि.ए'। तर उनीहरू चारै जना आफूले पढेको विषयभन्दा मूर्तिकलामा रमाइरहेका छन्।
ठमी र नुमकला मार्बल र ताम्रपत्रमा प्रमाणपत्र र शिलालेख लेख्छन्। कुशल बुवासँगै मूर्ति कुँद्न सिकिरहेका छन्। खोला बगरका ढुंगामा छिना, हथौडा र मेसिन कुँदाएर मूर्ति र सालिक बनाउन सजिलो छैन। तर सिक्दै जाँदा सहज लाग्ने कुशल बताउँछन्।
पछिल्ला पाँच महिनायता कोरोनाका कारण सबै क्षेत्र अस्तव्यस्त छ। यमबहादुरको परिवारलाई भने कामको चटारोले फुर्सदै छैन।
'मलाई एक वर्षका लागि पुग्ने काम अर्डर भइसकेको छ,' उनी भन्छन्, 'बाहिर लकडाउन छ कि के छ, हामीलाई केही थाहा छैन।'
अहिले उनी रुपन्देही, सूर्यपुरा घटनामा मारिएका कांग्रेस नेता सहिद यादवनाथ आलोकको सालिक बनाउँदै छन्। धातुको ७ फिट अग्लो सालिकका लागि उनले गत फागुनमै १३ लाख रूपैयाँमा अर्डर लिएका थिए।
सिमेन्टको मूर्ति र सालिकका लागि ५० हजारदेखि ९० हजार रूपैयाँसम्म लिने उनले धातुको भने ४ लाखदेखि १४ लाख रूपैयाँसम्म लिने बताउँछन्। ढुंगा सजिलै पाइने भए पनि कुँदेर बनाउँदा धेरै मिहेनत लाग्ने भएकाले डेढदेखि दुई लाखसम्म लिन्छन्।
'समय, मिहेनत, जोखिम र लगानी केमा बढी पर्छ, त्यही अनुसार मूल्य निर्धारण गर्छु,' उनले भने।
ढुंगाको एउटा सालिक १५ दिनदेखि एक महिनामा पूरा गर्छन्। धातुको भने आधा कद बनाउनै डेढ-दुई महिना लाग्छ भने पूरा कद बनाउन चार-पाँच महिना लाग्न सक्छ।
'मूर्ति बनाउन सिपसँगै बल, धैर्य, मिहेनत, जाँगर चाहिन्छ। ढुंगाको काम मिलाउन जानिएन भने चोइटिने डर हुन्छ। उछिट्टिएर लाग्ने डर हुन्छ,' उनी भन्छन्, 'धातुमा पनि पोल्ने, पड्किने खतरा बढी हुन्छ। बनाउन सबभन्दा सजिलो त माटो र सिमेन्टकै हो।'
आफ्नो पेसाबाट सन्तुष्ट यमबहादुर नेपालमा मूर्तिकलालाई नागरिक र सरकार दुवै क्षेत्रले अझै बुझ्न नसकेको गुनासो गर्छन्। सञ्चारमाध्यमले कला भनेर गीतसंगीत र फिल्मी क्षेत्रलाई स्थान दिए पनि मूर्ति र चित्रकलालाई स्थान नदिएको उनको अनुभव छ।
'नेपालमा मूर्ति र सालिकको महत्व सबैले बुझेजस्तो लाग्दैन। मृत्यु भएका मानिसको वर्षौं पुरानो तस्वीर हेरेर त्यसैका आधारमा त्यस्तै देखिने सालिक बनाउने हो। चोकमा सजिलै ठडिएको देखिएजस्तो बनाउन सजिलो छैन,' उनी भन्छन्।