बोर्डिङका प्रिन्सिपलको कुटाइबाट खुट्टा भाँचिएका पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ३ पत्थरकल्लाका कृष्णप्रसाद आचार्य अस्पतालको बेडमा पल्टिएको २७ दिन भयो।
उनको पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-६ रानीनगरस्थित उज्जवल शिशु इङलिस बोर्डिङ स्कूलका सञ्चालक एवम् प्रधानाध्यापक दीपक कुँवरको कुटपिटपछि दाहिने खुट्टा भाँचिएको छ।
आचार्यले दुई वटा छोरालाई पढाउँदा लागेको ३० हजार रुपैयाँ शुल्क तीन-चार वर्षसम्म पनि नदिएको भन्दै प्रधानाध्यापक कुवँरले कुटपिट गरेको बताएका छन्।
‘गत साउन २८ गते म किनमेलको लागि रानीनगर बजार जाँदै थिएँ, बाटोमा भेटिएका कुँवरले विद्यालयमा तिर्नुपर्ने शुल्क तत्काल दिन भन्दै एकाएक कुटपिट गर्न थाल्नुभयो,’ बुटवलस्थित लुम्बिनी सिटी अस्पतालको २०८ नम्बर बेडमा पल्टिएका आचार्यले सेतोपाटीसँग भने।
पिट्ने क्रममा कुँवरले हात तान्दा फुत्किन खोजेको र चिप्लिएर लड्दा आफ्नो दाहिने खुट्टा भाँच्चिएको उनले बताए। अहिले आचार्यको भाँच्चिएको खुट्टाको अप्रेसन भइसकेको छ। खुट्टामा पाँच वटा टाँका लगाइएको छ।
आचार्यले २०६७ सालमा जेठा छोरा रामप्रसाद आचार्य र माइला छोरा लक्ष्मण आचार्यलाई २०७० सालमा बोर्डिङमा भर्ना गराएका थिए।
बोर्डिङ स्कुल भए पनि नेपाली माध्यमबाट अध्यन गर्ने गरी कक्षा ८ मा भर्ना भएका रामप्रसाद एसएलसी उत्तीर्ण भए पनि लक्ष्मणले भने सेन्टअप परीक्षामा फेल भएपछि एसएलसी परीक्षा दिन पाएनन्।
सेन्टअप परीक्षामा फेल भएपछि लक्ष्मणले पढाइलाई निरन्तरता नदिई एसी, फ्रिज लगायतका इलेक्ट्रोनिक्स सामान मर्मतको काम सुरू गरेका छन्। जेठो छोरा रामप्रसाद भने रोजगारीको लागि कुवेत गए पनि सम्झौता अनुसारको काम गर्न नदिएपछि सात महिनामै फर्किएर घर बसेका छन्।
खेती-किसान गरेर भए पनि छोराहरूलाई पढाएको शुल्क बुझाउँदै गएको र बाँकी पैसा पनि केही समयपछि दिन्छु भन्दा पनि एकाएक कुटपिट गरेको बताए। ‘तीन-चार वर्षसम्म उहाँले पैसा माग्नुभएको थिएन, बेला-बेलामा लगेर बुझाउँदै गरेपछि ३० हजारजति बाँकी थियो, त्यो दिन भने बजार हिँडेको मानिसलाई एकाएक तत्काल पैसा दिनपर्यो भनी कुटपिट गर्नुभयो,’ उनले भने।
खेतीपाती गरेर परिवार पाल्दै आएका आचार्य अस्पतालको बेडमा परेपछि तिन छोराहरूले उनको रेखदेख गरिरहेका छन्। दुई दाजुसँगै कान्छो भाइ भरत आचार्य पनि दिनरात बुवाको रेखदेखमा लागिरहेका छन्।
‘म बेडमा परेपछि विग्रिएका ईलेक्ट्रोनिक्स सामान मर्मत गरेर भए पनि दुईचार सय पैसा कमाएर ल्याउने छोरो पनि मेरै स्याहारमा लाग्नुपरेको छ, मेरो उपचार गरेको पैसा बुझाउन सकिएको छैन,’ आचार्यले भने।
अस्पताल आउँदा ऋण खोजेर ल्याएको सात हजार रुपैयाँ धरौटी राखेर भर्ना भए पनि त्यसयता अस्पतालमा पैसा बुझाउन नसकेको आचार्यले बताए। खुट्टाको अप्रेसन भइसकेको र घाउमा लगाइएको टाँका नजिकैको क्लिनिक वा स्वास्थ्य चौकीमा काट्न सकिने भएकोले उनलाई चिकित्सकले घर जान सुझाव दिएका छन्।
तर, झण्डै एक महिनासम्म औषधी उपचार गर्दा कति रकम लागेको छ, त्यो बुझाउन सक्ने अवस्था आफूको नभएको उनले बताए। आफ्नो अवस्था चिकित्सक र अस्पताल प्रशासनलाई जानकारी भए पनि पैसा बुझाउन नसक्दा घर जान्छु भन्न नसकेको आचार्यले बताए।
‘अस्पताल प्रशासनलाई मेरो अवस्थाबारे जानकारी छ, डाक्टरले अब घरमा गएर आराम गर्ने र औषधी खाने गरे हुन्छ भन्नुभएको छ तर पैसा नबुझाई घर जान्छु कसरी भन्ने,’ उनले भने।
अस्पतालमा आउजाउ गर्दा गाडीभाडा, तेल, होटलमा खाना लगायतको लागि ऋण खोजेरै बुझाउने गरे पनि उपचारको लागि लागेको खर्च ठूलो भएकोले बुझाउन नसकेको उनले बताए।
‘पहिलो दिन नै सात हजार धरौटी राखेर भर्ना भए पनि त्यसयताको औषधी, बेडचार्ज, अप्रेसन शुल्क, ल्याब परीक्षण लगायतको शुल्क कति भएको छ भनेर सोधेको पनि छैन, बुझाउन सक्ने अवस्था नभएपछि सोधेर मात्र के गर्ने भनेर यतिकै चुपचाप बसेका छु,’ उनले भने।
आफू अस्पताल भर्ना भएको झण्डै एक महिना पुग्न लागे पनि आफूलाई कुटपिट गर्ने दीपक कुँवरले भने कुनै चासो नदिएको आचार्यले बताए। ‘उहाँकै कुटपिटबाट खुट्टा भाँचिएर अस्पताल भर्ना भएको छु, तर उहाँले केही खोजबिन गर्नुभएको छैन,’ आचार्यले भने।
साउन २८ गते घटना भए पनि आचार्यले भदौ ९ गते जिल्ला प्रहरी कार्यालय कावासोतीमा दिएको जाहेरीको आधारमा प्रहरीले भदौ १० गते कुटपिट तथा अंगभंग सम्बन्धि मुद्दा दर्ता छ।
तर, मुद्दा दर्ता भएको १५ दिन बितिसक्दा पनि आरोपित दीपक कुँवर भने पक्राउ पर्न सकेका छैनन्। आचार्यले भने कुँवरलाई पक्राउ गर्नेतर्फ प्रहरीले चासो नदिएको गुनासो गरे। ‘गरिबका छोराछोरीले पढ्न त पाइएन, न्याय पनि नपाइने हो की भन्ने लागेको छ,’ आचार्यले गुनासो गरे।
यता जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले भने पीडितले भदौ ९ गते दिएको जाहेरीको आधारमा १० गते नै मुद्दा दर्ता भएको र आरोपितको खोजी भइरहेको बताए। ‘प्रहरीले पीडितको जाहेरीप्रति बेवास्ता गरेको होइन, हामी आरोपितको खोजतलास गरिरहेका छौं तर फेला परेको अवस्था छैन,’ रेग्मीले सेतोपाटीसँग भने।