समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गइरहेको भन्दै रुपन्देहीका कतिपय पालिकाहरूले सोह्र श्राद्ध अर्थात् पितृपूजन कार्यलाई वैकल्पिक तरिकाले गर्न आग्रह गरेको छ।
सबभन्दा पहिले तिलोत्तमा नगरपालिकाले भदौ १३ गते विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको महामारी रोक्न भर्चुअल माध्यमबाट सोह्र श्राद्ध गर्न अपील गरेको थियो।
तिलोत्तमा नगरपालिकाको अपीलपछि सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिकाले पनि कोरोना संक्रमणलाई मध्यनजर गर्दै प्रविधिको प्रयोग गर्दै भर्चुअल माध्यमबाट पितृपूजा गर्न आग्रह गरेका थिए।
जिल्ला प्रशासन कार्यालयले रुपन्देहीमा लकडाउनको अवधि थप गरेको अवस्थामा आवातजावत गर्न समस्या हुनुको साथै श्राद्ध गराउने पुरोहितहरू धेरै स्थान जानुपर्ने भएकाले संक्रमणको जोखिम रहने भन्दै पालिकाहरूले त्यस्तो आग्रह गरेका थिए।
स्थानीय पालिकाहरूको यस्तो आग्रहपछि सामाजिक सञ्जालमा समेत त्यसको व्यापक आलोचना भए। तर बुधबारदेखि सुरू भएको सोह्र श्राद्धलाई रुपन्देहीका केही पुरोहितले भने भर्चुअल रूपमा सम्पन्न गरेका छन्।
सोह्र श्राद्धको पहिलो दिन अधिकांश पुरोहितहरू घरमै पुगेर श्राद्ध गराए पनि केही पुरोहितले भने प्रविधिको भरपुर उपयोग गरेर भर्चुअलको माध्यमबाट श्राद्ध गराएका छन्।
सैनामैनाका पण्डित कृष्णप्रसाद पोखरेलले नजिकका आफन्तको घरबाहेक अन्य ठाउँमा भर्चुअल माध्यमबाटै श्राद्ध गरेको बताए।
प्रविधिको उपयोग गरी विधि प्रक्रिया सिकाएर सोहीअनुसार पितृपूजा गर्न लगाएको उनले बताए।
महामारीको समयमा कतिपय महत्वपूर्ण काम इन्टरनेटको प्रयोगबाटै हुने गरेको उल्लेख गर्दै यस्तै अप्ठ्यारो समयमा नै प्रविधिको प्रयोग गर्नुपर्ने बताए।
तिलोत्तमाका पुरोहित ताराप्रसाद न्यौपानेले सम्भव भएका ठाउँमा आफूले पनि भर्चुअल श्राद्ध गरेको जानकारी दिए। ससुरालीमा आफैं गएर श्राद्ध गरे पनि अन्य ठाउँमा फोनबाट आवश्यक सामग्री जुटाउन लगाएर भर्चुअल श्राद्ध गरिदिएको उनले बताए।
तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाले पुरोहितलाई संक्रमणको जोखिमलाई ध्यानमा राखेर भर्चुअल श्राद्ध गर्न आग्रह गरेका थिए।
श्राद्धमा ब्राह्मणको मन्त्र र वचनले पनि पितृ सन्तुष्ट हुने हुँदा ब्राह्मणको मन्त्र र वचन नै प्रधान मानिने पुरोहितहरू बताउँछन्।
आचार्य पण्डित विष्णुप्रसाद ज्ञवाली महामारीको समयमा सबै सुरक्षित हुनलाई पनि भर्चुअल श्राद्ध गर्नु राम्रो मानिने बताउँछन्।
श्राद्धमा पितृका लागि महत्वपूर्ण मानिने तर्पण, पिण्डपूजा र पिण्डदान लगायतका पितृप्रतिको समर्पणका विधिहरू सिकाएपछि भर्चुअल माध्यमबाट पनि पितृपूजा गर्न सकिने ज्ञवालीले बताए।
सैनामैना नगरपालिका कोलोनीका नरध्वज कार्कीले नातिको सहयोगले इन्टरनेटको प्रयोग गरी आफूले भर्चुअल रूपमै श्राद्ध गरेको बताए।