लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया सेवा शुरु भएको छ।
गत भदौ १ गते नियमित गर्भ परीक्षणका लागि अस्पताल आएकी बुटवल ११ की गर्भवतीलाई शल्यक्रिया गर्नुपर्ने भन्दै कोहलपुर पठाइएपछि व्यापक आलोचना भएको थियो।
त्यसको दुई साता नबिल्दै सोमबार रुपन्देही सिद्धार्थनगरकी २२ वर्षीया महिलाको शल्यक्रियाबाट बच्चा जन्मिएको छ।
यसअघि प्रदेश सरकारले संक्रमित महिलाको शल्यक्रिया मार्फत सुत्केरी गराउनुपर्ने अवस्था आएमा दोस्रो तहको रुपमा भिम अस्पताल भैरहवा र तेस्रो तहको रुपमा कोहलपुर मेडिकल कलेजलाई तोकेको थियो।
तर सोमबार भिम अस्पताल भैरहवाबाट नै रिफर गरिएकी गर्भवतीको बुटवलमै शल्यक्रिया गरिएको हो। अहिले महिला र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको र दुवैको लुम्बिनी प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बच्चाको पनि पिसिआर परीक्षण गरिने र महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि घर पठाइने बताए।
अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराईले कोरोना फैलिएपछि अस्पतालका अरु पुर्वाधारसँगै संक्रमित गर्भवतीको शल्यक्रियाको लागि छुट्टै अपरेसन कक्ष निर्माण गरी सेवा थालिएको जानकारी दिए।
विगत दुई महिनादेखि नै अपरेसन कक्षको निर्माण गरिए पनि सम्पन्न नभइसकेकाले बुटवलकी संक्रमित महिलालाई कोहलपुर पठाउनुपरेको भट्टराईले बताए।
लुम्बिनी प्रादेशिक अस्पतालमा मासिक झण्डै एकहजार महिलाहरु सुत्केरी हुन्छन्। एकजना संक्रमित गर्भवतीका कारण सयौं गर्भवतीलाई कोरोना संक्रमण फैलिन सक्ने भएकोले संक्रमितको लागि अलग्गै अपरेसन कक्ष निर्माण गरिएको भट्टराईले बताए।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गत आर्थिक वर्ष २०७६÷७७ मा ११ हजार चार सय ९३ जना महिलाले सुत्केरी सेवा लिए। त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ मा गत वर्षभन्दा एकहजार कमी अर्थात दश हजार चारसय १२ जना महिलाले सुत्केरी सेवा लिएका थिए।
रुपन्देहीको बुटवल र भैरहवामा समेत सुविधासम्पन्न निजी अस्पताल संचालनमा रहे पनि सरकारी तथा सबैभन्दा पुरानो अस्पताल भएकोले यहाँका चिकित्सक तथा नर्सिङ स्टाफहरुको अनुभव प्रति गर्भवती महिलाहरु बढी विश्वास गर्छन्।
प्रसुती अवस्थामा तत्काल आउनसक्ने जोखिमलाई पनि लामो अनुभवप्राप्त चिकित्सक र नर्सिङ स्टाफको टोलीले समाधान गर्न सक्छन् भन्नेमा महिलाहरु ढुक्क हुन्छन्।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले संक्रमित महिलाको लागि अलग्गै अपरेसन कक्ष निर्माण गरिएपछि बाहिर पठाउनुपर्ने समस्या हटेको बताए।
खनालका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा एकैदिनमा १८ जनाको शल्यक्रिया सहित ५७ जनासम्म महिलाले सुत्केरी सेवा लिएका छन्।