इलाका प्रहरी कार्यालय बुटवलका थप ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि भदौ १० गते हिरासतमा रहेका १५ जना थुनुवा र ४ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
थुनुवा र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा आएका र लक्षण देखिएका प्रहरीमा गरिएको परीक्षणमा सोमबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जवानदेखि जुनियर अधिकृतसम्म २४ जनाको स्वाब संकलन गरिएकोमा १९ जनाको परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजिटिभ आएको जानकारी दिए। स्वाब संकलन गरिएका ५ जनाको रिपोर्ट आउन बाँकी छ।
इलाका प्रहरी कार्यालयमा १ सय ५० भन्दा बढी प्रहरी छन्। तीमध्ये पहिलो चरणमा संक्रमितको सिधै सम्पर्कमा रहेका, लक्षण देखिएका र तल्लो तहका प्रहरी कर्मचारीको स्वाब संकलन गरी परीक्षण गरिने राठौरले बताए।
कोरोना नियन्त्रण अभियानसँगै दैनिक सर्वसाधारणको प्रत्यक्ष सम्पर्कमा पुग्नु पर्ने र आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्नुपर्ने भएकोले सुरक्षाकर्मी कोरोना संक्रमणको उच्च जोखिममा रहेका छन्।