बुटवलमा थप एकजना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।
शनिबार रातिदेखि ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएर आइतबार बिहान साढे सात बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवल आएका उनको दिउँसो साढे १२ बजे मृत्यु भएको हो।
लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बुटवल उपमहानगरपालिका वडा नं. ५ का ६१ वर्षीय पुरूषको मृत्यु भएको बताए।
डा. थापाका अनुसार बिहान अस्पताल आएका उनलाई जिन एक्सर्पट मेसिनमार्फत् कोरोना स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।
डा. थापाले ती पुरूषको तीन वर्ष पहिले मुटुको शल्यक्रिया गरिएको र लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको जानकारी दिए।
उनलाई आइसियूमा राख्नुपर्ने भए पनि बेड अभावका कारण आइसोलेसनमा उपचार भइरहँदा मृत्यु भएको हो।
‘यसअघि मुटुको शल्यक्रिया गरिएको र उच्च रक्तचाप तथा मधुमेह समेत भएको कारण बिरामीलाई आइसियूमा राख्नुपर्ने भएपछि अन्यत्र ‘रिफर’ गरे पनि लैजाने तयारी गर्दैगर्दा मृत्यु भयो,’ डा. थापाले भने।
बुटवलमा भएको आइसियूका १७ वटै बेडमा बिरामी भर्ना भएका कारण गम्भीर अवस्थामा आइसोलेसनमा भर्ना भए पनि आइसियूमा राख्न नसकिएको डा. थापाले जानकारी दिए ।
योसँगै बुटवलभरि कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ। कोरोना विशेष आइसोलेसन अस्पतालमा मृत्यु हुनेको संख्या ९ पुगेको छ।