कोरोना संक्रमितको उपचारका लागि भन्दै प्रदेश ५ सरकारले रुपन्देही, दाङ र बाँकेका चार वटा अस्पतालमा आइसियूसहितको आइसोलेसन तयार गरेको भए पनि आइसियू सञ्चालनमा नआउँदा बिरामीहरूको उपचारमा समस्या भएको छ।
नेपालमा कोरोना संक्रमणले महामारीको रुप नलिँदै गत चैत १० गते बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले बुटवल, भैरहवा, दाङ र नेपालगञ्जका चार वटा अस्पतालमा भेन्टिलेटर र आइसियूसहितको आइसोलेसन तयार गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद बैठकले आइसोलेसन निर्माण गर्ने निर्णय मात्र गरेन, ती आइसोलेसन निर्माणको लागि मन्त्रीहरूलाई नै संयोजकको जिम्मेवारी समेत तोकिदिएको थियो।
सोही अनुरुप बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरी, भीम अस्पताल भैरहवामा सामाजिक विकास मन्त्री सुदर्शन बराल, केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डी दाङका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका लागि भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी खटिएका थिए।
मन्त्रीहरू संयोजक तोकिए पनि आइसोलेसन निर्माण समितिमा सबै अस्पतालहरूमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, अस्पताल व्यवस्थापन समिति, स्थानीय पालिका तथा जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधिलाई सदस्य राखिएको थियो।
सोही अनुसार सबै अस्पतालहरूले भेन्टिलेटर जडान गरी आइसियूसहितको आइसोलेसन तयार गरे पनि लुम्बिनी प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा बाहेक अन्यत्र आइसियू र भेन्टिलेटर प्रयोगमा आउन सकेका छैनन्।
सामाजिक विकास मन्त्री बरालको संयोजकत्वमा भीम अस्पताल भैरहवामा एउटा भेन्टिलेटरसहित पाँच बेडको आइसियू र २२ बेडको आइसोलेसन तयार पारिएको थियो। तर, आइसियू र भेन्टिलेटर प्रयोगमा नहुँदा कोरोना संक्रमणको साथै घरको छतबाट लडेर घाइते भएका रुपन्देहीको गैंडहवाका एक युवाको यसैसाता मृत्यु भयो।
अस्पतालमा भेन्टिलेटरसहितको आइसियू तयार गरिएको भए पनि क्रिटिकल केयर टिम नहुँदा आइसियू सञ्चालन हुन नसकेको अस्पतालले जनाएको छ।
अस्पतालका कोभिड-१९ फोकल पर्सन डा. सुमित प्रजापतिले दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर र आइसियू प्रयोगमा आउन नसकेको बताए।
त्यस्तै, सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीको संयोजकत्वमा बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा तीन वटा भेन्टिलेर र दस बेडको आइसियू निर्माण गरिएको थियो।
उक्त आइसियू र भेन्टिलेटर पनि अहिलेसम्म प्रयोगमा आएको छैन। बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले क्यान्सर अस्पतालमा अक्सिजन आवश्यक पर्ने बिरामी राखिए पनि आइसियू र भेन्टिलेटर आवश्यक पर्ने बिरामी कोहलपुर मेडिकल कलेजमा पठाउने गरिएको जानकारी दिए। श्रेष्ठले हाल पनि मेडिकल कलेजमा एक जना संक्रमितको भेन्टिलेटरको सहायताले उपचार भइरहेको बताए।
त्यही आइसियू पनि भेरी अस्पतालमा ल्याउने तयारी गरिएको छ। भौतिक पूर्वाधार विकास मन्त्री चौधरीले तत्कालीन अवस्थामा भेरी अस्पतालमा आइसोलेसन नभएकोले अवस्थामा क्यान्सर अस्पतालमा आइसियू बनाइएको र भेरी अस्पतालमा आइसोलेसन बनाइएपछि त्यही ल्याउने तयारी गरिएको जानकारी दिए।
त्यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीको संयोजकत्वमा दाङको बेलझुण्डीमा बनाइएको दुई वटा भेन्टिलेटरसहित पाँच बेडको आइसियू पनि अहिलेसम्म प्रयोगमा आउन सकेको छैन।
बेलझुण्डी अस्पतालका कोरोना फोकल पर्सन डा. सर्वेस शर्माले आइसियू सञ्चालन नभएको नभई आइसियूमा राख्नुपर्ने अवस्थाको बिरामी अहिलेसम्म नआएको दाबी ग।।
डा. शर्माले आइसियूमा राख्ने अवस्थाको बिरामी नआएको दाबी गरे पनि आइसियूको लागि आवश्यक जनशक्ति नहुँदा सञ्चालन हुन नसकेको बुझिएको छ। गत जेठ २१ गते कोरोनासँगै डेंगीको समेत संक्रमण देखिएका दाङका एक युवालाई आइसियूमा राख्नुपर्ने भएपछि बुटवल रिफर गरिएको थियो। उक्त घटनाले पनि बेलझुण्डीको आइसियू सञ्चालन हुन नसकेको पुष्टि गरेको छ।
बेलझुण्डी आइसोलेसनमै राखिएका दाङको बबई गाउँपालिका वडा नं. ६ का ३० वर्षीय ती युवालाई कोरोनासँगै डेंगीको समेत संक्रमित देखिएपछि आइसियू आवश्यक परेपछि बुटवल ल्याइएको थियो। जेठ २१ गते बुटवल ल्याइएका उनलाई करिब तीन साता आइसियूमा राखेर उपचार गरेपछि निको भएका थिए।
प्रदेश सरकारले चैत १० गते नै सबै अस्पतालहरूमा आइसियूसहितको आइसोलेसन निर्माणका लागि एक-एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। सोही अनुसार रकमसमेत निकासा भइसकेको अवस्थामा आइसियू सञ्चालनमा नआउँदा कोरोनाका गम्भीर अवस्थाका बिरामीको ज्यान जोखिममा परेको छ।
अहिले प्रदेश ५ का जुनसुकै जिल्लामा पनि आइसियूमा राख्नुपर्ने अवस्थाका कोरोना संक्रमित आएमा बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालमा ल्याउने गरिएको छ।
बुटवलमा चार वटा भेन्टिलेटरसहित १७ बेडको आइसियू रहेको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा दुई वटा भेन्टिलेटर मात्र रहेको अवस्थामा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले चार वटा भेन्टिलेटर र आठ वटा बेड उपलब्ध गराएपछि आइसियू निर्माण गरिएको थियो।
अहिले आइसियूमा बेडहरू थप गरी १७ वटा पुर्याइए पनि भेन्टिलेटर भने थप हुन सकेका छैनन्। प्रदेश सरकारले रकम उपलब्ध गराएका अस्पतालहरूले आइसियू निर्माण गरे पनि सञ्चालन गर्न नसकिरहेको अवस्थामा बुटवलमा भने जनशक्ति भएर पनि स्रोत साधनको अभाव भइरहेको छ।
बुटवलका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बेड र भेन्टिलेटरको अभावमा आइसियूमा राख्नुपर्ने अवस्थाका बिरामी पनि आइसोलेसनमा राखी उपचार गर्न बाध्य भएको बताए। डा. थापाका अनुसार बुटवलमा बनाइएको आइसियूमा हालसम्म ७० जना कोरोना संक्रमितले उपचार सेवा लिइसकेका छन्।
तीमध्ये १६ जना अहिले पनि उपचाररत् छन् भने आठ जनाको मृत्यु भएको छ। आइसियूमा सेवा लिएका ४६ जनाले कोरोना जितेर घर फर्किएका छन्। त्यस्तै, भेन्टिलेटरमा राखिएका १२ जनामध्ये आठ जनाको मृत्यु भए पनि चार जना निको भएर घर फर्किएको डा. थापाले जानकारी दिए।
संघीय सरकारले निजी अस्पतालहरूलाई समेत कोरोनाका बिरामीहरूको उपचार गर्न भनिरहँदा प्रदेश ५ सरकारले भने आफैंले उपलब्ध गराएका स्रोतसाधनको प्रयोग नहुँदा समेत बेवास्ता गर्दै आएको छ।
यता सूर्य नेपाल प्रा.लि.ले भेन्टिलेटर खरीद गर्न भन्दै प्रदेश सरकारले स्थापना गरेको कोभिड–१९ नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ उपलब्ध गराए पनि त्यो रकम कोषमै सीमित रहेको छ।
सूर्य नेपाल प्रा.लि.का उपाध्यक्ष रवि केसीले असार ३१ गते एक करोड रुपैयाँको चेक हस्तान्तरण गर्दै मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकमबाट भेन्टिलेटर खरिद गर्न आग्रह गरेका थिए।
प्रदेश ५ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.पुष्पराज पौडेलले कतिपय ठाउँमा जनशक्ति अभावमा आइसियू र भेन्टिलेटर सञ्चालन गर्न नसकिएको बताए। उपचार अभावमा बिरामीको मृत्यु हुने अवस्था भने नआएको उनले दाबी गरे।
पौडेलले दक्ष जनशक्ति नभएको ठाउँमा छिट्टै आपूर्ति गर्ने र उपकरण र आइसियू बेड अभाव भएको अस्पतालमा थप गर्ने गरी मन्त्रालयले काम अगाडि बढाएको बताए।