जिल्ला अस्पताल गुल्मीका लागि हिमालयन एयरलाइन्सले उपलब्ध गराएको पिसिआर मेसिन एक महिनासम्म अस्पतालमै थन्किएर काठमाडौं फिर्ता गरिएको छ।
एयरलाइन्सले उपलब्ध गराएको उक्त मेसिन गुल्मी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रेसुङगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाललाई गत साउन ३ गते हस्तान्तरण गरेका थिए।
मन्त्री ज्ञवालीका स्वकीय सचिव जंग नेपालीले अस्पतालमा पिसिआर जडान गर्दा सफ्टवेयरमा आवश्यक केही उपकरण नदेखिएकाले भदौ ८ गते काठमाडौं फिर्ता ल्याइएको बताए।
ल्याब, जनशक्तिलगायतको व्यवस्था समेत भइनसकेकाले पनि आफैंले फिर्ता ल्याएको उनले सेतोपाटीलाई बताए ।
‘अहिले अस्पतालमा ल्याबको संरचना पनि तयार हुँदैछ, मेसिन जडान गर्दा पनि केही उपकरण सफ्टवेयरमा देखिएनन्, त्यस्तो अवस्थाको मेसिन जिल्लामा छोड्नुभन्दा उपकरण राखेपछि वा अर्को भए पनि पठाउने गरी काठमाडौं ल्याइएको हो’ उनले भने।
अहिले ल्याइएको मेसिनको उपकरण प्राप्त नभए अर्को नयाँ मेसिनका लागि हिमालयन एयरलाइन्ससँग छलफल भइरहेको र केही दिन भित्रैमा अर्को मेसिन पठाइने नेपालीले बताए।
‘मेसिन गुल्मी राखेर उपकरण पठाउँदा मिल्ने नमिल्ने ग्यारेन्टी हुँदैन, मेसिन यतै ल्याएपछि एउटा उपकरण मिल्न नसके अर्को राख्न सकिन्छ’ उनले भने।
जिल्ला अस्पताल तम्घासमा जनशक्ति समेत नभएको अवस्थामा प्रदेश ५ जनस्वास्थ्य प्रयोगशालाबाटै लगेर जडान गर्दा उपकरण नभएको पत्ता लागेको हो।
रेसुङगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले मेसिन आएपछि ल्याब र मेसिन सञ्चालनको लागि जनशक्ति तयार भइरहेको बताए। मरासिनीले नगरपालिकाले ल्याब र थप केही उपकरणका लागि ४५ लाख रुपैयाँ खर्च गरिसकेको जानकारी दिए।
अहिले अस्पतालमै मेसिन सञ्चालनको लागि केही जनशक्ति तयार भइरहेको र प्रदेश सरकारलाई पनि उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिए।
मेसिन जडान र संचालनको लागि रेसुङगा नगरपालिकालाई जिम्मा दिइए पनि भवनबाहेक ल्याब र जनशक्ति समेत तयार नभएको कारण मेसिनमा भएको कमजोरी ढिलोगरी पत्ता लागेको नेपालीले जानकारी दिए।
‘यहाँबाट त मेसिन मात्र पठाउने हो, त्यसलाई राख्ने भवन, आवश्यक अन्य संरचना र जनशक्ति जिल्लामै तयार गर्नुपर्ने हुन्छ, अरू संरचना तयार भइसक्दा मेसिन पनि गुल्मी पुगिसक्छ’ नेपालीले भने।