तीन दिनअघि ट्रकले एक छात्रालाई ठक्कर दिएपछि एकाएक अशान्त बनेको कोहलपुर मंगलबार बिहानदेखि सामान्य बनेको छ।
त्रिभुवन उच्च माविका शिक्षक ऋषि शर्माले मंगलबारदेखि विद्यालय सञ्चालनमा आएको र वातावरण सामान्य बन्दै गएको जानकारी दिए। स्थिति सामान्य बनेपछि यातायात, बजार र विद्यालय सञ्चालनमा आएका छन्।कोहलपुर नगरपालिका र कोहलपुर उद्योग वाणिज्य संघको संयुक्त प्रयासमा मंगलबार बिहान सद्भाव र्याली निकालिएको थियो।
बाँकेको कोहलपुरस्थित त्रिभुवन उच्च मावि कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई आइतबार ट्रकले ठक्कर दिएपछि एकाएक कोहलपुर अशान्त बनेको थियो। आक्रोशित विद्यार्थीले ठक्कर दिने ट्रकमा आगजनी गरेपछि स्थिति थप तनावग्रस्त बनेको थियो।
विद्यार्थी र शिक्षकमाथि प्रहरीले विद्यालय हाताभित्रै प्रवेश गरी दुर्व्यवहार र हातपात गरेपछि प्रहरी र विद्यार्थीको बीचमा झडप भएका थिए।
विद्यार्थीले झन्डै दुई दर्जन जति सवारी साधानमा तोडफोड गरेका थिए। इलाका प्रहरी कार्यालय कोहलपुरको क्यान्टिनमा तोडफोड र आगजनी गरेका थिए। त्यसक्रममा प्रहरीले झन्डै ६ सय राउन्ड हवाई फायर गर्नुको साथै दर्जनौं रबर गोली हानेको थियो। त्यसक्रममा आन्दोलनमा उत्रिएका दुई दर्जन विद्यार्थी घाइते भएका थिए। घाइतेहरूको काठमाडौं र कोहलपुरमा उपचार भइरहेको छ।
स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले आइतबार दिउँसो ३ बजेदेखि कर्फ्यू लगाएको थियो। सोमबार बसेको सर्वपक्षीय छलफलले घटनाबारे न्यायिक छानबिनका लागि गृह मन्त्रालयलाई आग्रह गर्ने, सरोकारवाला सम्मिलित समिति गठन गरेर क्षतिको विवरण संकलन गर्ने तथा क्षतिपूर्तिका लागि पहल गर्ने र दुर्घटनामा खुट्टा गुमाएकी छात्रा प्रकृति चन्दको उपचार खर्च राज्यले गर्ने तथा शिक्षादीक्षा र जीवनयापनका लागि उचित व्यवस्था गर्ने लगायतका ६ बुँदे निर्णय गरेको थियो।
आफ्ना बाबुसँगै भे ६ प २७४० नम्वरको स्कुटर चढेर विद्यालय पुगेकी १२ वर्षीया छात्रा प्रकृति चन्दलाई बिहान १० बज्दै गर्दा कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना २ ख ९४५९ नम्बर ट्रकले विद्यालयको गेट अगाडि ठक्कर दिएर गम्भीर घाइते बनाएपछि एकाएक कोहलपुरको माहोल तनावग्रस्त बन्न पुगेको थियो। चन्दको हाल काठमाडौंमा उपचार भइरहेको छ।