वनभोज खान गएको दाङको बबई गाउँपालिकाका अध्यक्षसहितको टोलीको गाडीले ठक्कर दिएर एक महिलालाई घाइते बनाएको छ। प्रहरीका अनुसार घटना शनिबार साँझको हो।
गाउँपालिकाको रा१झ १५० नम्बरको सरकारी गाडीले बबई-५ की देवीकला भण्डारीलाई घाइते बनाएको हो। भण्डारीको दाहिने खुट्टा गाडीको टायरले किचिदिएको छ।
प्रहरीका अनुसार भण्डारीको खुट्टा भाँचिएको छ। गाडीले ठक्कर दिएपछि भण्डारीलाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो।
खुट्टामा प्लास्टर गरेपछि भण्डारी आइतबार घर फर्केकी छिन्। घटनामा संलग्न गाडीलाई नियन्त्रणमा लिइएको दाङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए।
शनिबार गाउँपालिका अध्यक्ष भूवनेश्वर पौडेलसहितको टोली गाउँपालिकाको वडा नम्बर ५ स्थित पुरन्धारा झरनामा वनभोज खान सरकारी गाडी लिएर गएका थिए। पिकनिक खाएर फर्किने क्रममा गाडीले महिलालाई ठक्कर दिएको थियो।
वनभोजबाट फर्किंदा चालकले गाडी चलाउन नसकेपछि अर्जुन परियारले गाडी चलाएका थिए। त्यसपछि तत्कालै प्रहरी पुगेर गाडी नियन्त्रणमा लिएको थियो।
तर, प्रहरीले कसैलाई पनि नियन्त्रणमा नराखेको शाहले बताए। घटनाबारे अनुसन्धान भइरहेको डिएसपी शाहले बताए।
आफूलाई ठक्कर दिएपछि ती महिलाले प्रहरीमा उजुरी दिएकी छिन्। उनले अत्यधिक मदिरा सेवन गरेर परियारले गाडी चलाउँदा आफूलाई ठक्कर दिएको भन्दै कारबाही गर्न माग गरेकी छिन्।