दाङ बबई गाउँपालिका वडा नं. १ गंगटे, विष्ट टोलकी ३२ वर्षीया चोपा बुढाथोकी बबई नदीको किनारमा हातले खोल्सो खन्दै थिइन्। उनले खोल्सो खन्दै गर्दा त्यहाँको पानी पूरै धमिलियो। केहीबेरमा पानी फेरि संलियो। अनि उनले अम्खोराको सहायताले गाग्रीमा पानी भरिन्।
गाग्री भरिसकिएपछि घरतर्फ लागिन्।
केहीबेरमै ३३ वर्षीया बीमी कँवरले त्यही खोल्सोमा चोपाकै जसरी पानी भरिन्।
आज मात्रै होइन गंगटेवासीको यो दिनचर्या, बाह्रैमासे हो।
बबई गाउँपालिका अन्तरगत पर्ने दाङको सबभन्दा पश्चिम र सबभन्दा विकट मानिने गाउँ हो गंगटे।
गंगटेमा न पानीको सुविधा छ न नै बिजुली बत्तीको न बाटोघाटोको सुविधा न नै प्रहरी चौकीको।
चुनाव आउँदा मात्रै नेताहरूको लर्को लाग्छ नभए शून्य प्राय: हुन्छ गाउँ।
‘चुनाव आउँदामात्रै भोट माग्न नेताहरू सोध्दै खोज्दै आउँछन्,’ बीमी कँवरले भनिन्, ‘त्यसपछि कोही आउँदैनन्, भोट माग्दा भनेको कुरा कहिल्यै पुर्याउँदैनन्।’
बबईको हापुरे बजारदेखि गंगटे गाउँ २७ किलोमिटर पश्चिममा पर्छ। यो बीचमा कुनै प्रहरीचौकी छैन। झैझगडा होस् वा कुनै महिला हिंसासम्बन्धी घटना हुँदा गाउँघरमै मिलाइन्छ भद्र भलादमीहरूबाट।
गंगटे निवासी ३० वर्षीय यामप्रसाद कँवरले भने,‘गाउँका भद्र भलादमीले जे भन्छन् त्यही कानुन बन्छ यहाँ।’
गंगटेवासीले आफू बिरामी पर्दा प्रायजसो परम्परागत झारपात र जडिबुटी प्रयोग गर्छन्। स्वास्थ्य चौकी नाम मात्रकै छ। सिटामोल त पाउन गाह्रो छ भने अरू त के!
जंगलको बीचमा पर्ने यो बस्तीवासीले अहिलेसम्म बिजुली बत्तीले घर उज्यालो बनाउन पाएका छैनन्।
आगामी मंसिर १४ मा यो क्षेत्रमा पनि उपचुनाव हुँदैछ।
दाङको निर्वाचन क्षेत्र नं. ३ (२) अन्तरगत पर्ने गंगटेवासीले पनि मंसिर १४ गतेको उपनिर्वाचनमा प्रदेशसभा सदस्य चुन्न मतदान गर्दैछन्।
पूर्वनेकपा एमालेबाट निर्वाचित उत्तरकुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि फेरि यहाँका स्थानीयले नयाँ प्रदेश सदस्य चुन्नुपर्ने भएको हो।
उपनिर्वाचन हुनुभन्दा एक हप्ता अगाडि मात्रै त्यहाँको रौनक भने बेग्लै थियो। विद्युत जडानका लागि पोल ल्याइएको थियो भने डोजरले पोल ठड्याउनको लागि खन्दै बाटो।
यी देखेर स्थानीय खुसी हुनुपर्ने हो तर उनीहरूको मनमा अझै आशंका छ। गाउँ झिलिमिली हुने र बाटो बन्नेमा।
५६ वर्षीय स्थानीय भद्रवीर विकले भने, ‘तर खै बत्ती कहिले बल्छ केही भरोसा छैन,निर्वाचनको मुखमा भोट तान्नलाई मात्रै पोल ल्याया हुन् कि,भन्न सकिन्न।’
गाउँमा विकासको लागि पहल नभएको भने होइन तर ठेकेदार नै काम नलाग्ने भएपछि गर्ने के!न अनुगमन गर्ने निकाय न कारबाही अनि ठेकेदारलाई हाइसन्चो!
गत साल फागुन/ चैतदेखि फोन सेवा विस्तार गर्न गंगटे र सल्यान जिल्लाको कालीमाटीको सीमानामा पर्ने सिम्लेको लेकमा नमस्तेको टावर निर्माण सुरू गरियो। तर टावर बनाउने ठेकेदार एकाएक बेपत्ता भएपछि काम अलपत्र छ।
अहिले ठेक्काको जिम्मा काठमाडौं निवासी ठेकेदार पवन अधिकारीले ८ लाखमा पाएका छन्। तर उनले उपनिर्वाचनपछि काम गर्ने वचन दिएका बबई गाउँपालिका वडा नं. १ गंगटेका वडा अध्यक्ष खड्गबहादुर कँवर बताए।
कुनै पनि मिडियाको पहुँच नपुगेको हुँदा गंगटेका ‘लाटा सोझा’ जनता ठगिँदै आएको तर्क गर्छन् स्थानीय बुद्धि विक। यहाँका जनता यति सोझा छन् कि ठेक्कामा दिएको काममा पनि श्रमदान गर्छन्, अनि ठूला भनाउदाहरू उनीहरूको सोझोपनकै फाइदा उठाउने बताउँछन् उनी।
हालसम्म विकासका दृष्टिकोणले ‘गंगटे स्वीचअफ’ जस्तै अवस्थामा रहेको विकको तर्क छ। गंगटेवासीले राज्य र स्थानीय सरकारको समेत अनुभूति गर्न नपाएको उनको भनाइ थियो।
‘कि यहाँबाट हामीलाई स्थानन्तरण गरियोस्,हैन भने यहाँ पनि विकास गर्न राज्यले ध्यान देओस,’विकले भने ‘ अन्यथा गाउँगाउँमा स्थानीय सरकार आफैंमा मजागमात्रै सावित हुने छ।’
के साँच्चै उपचुनावपछि बौरिएला गंगटे?,के जनताको मतले फेरिएला गंगटेको काँचुली? त्यो भने हेर्न बाँकी छ।