चिया पिइसकेपछि कपमा केही लेख्न 'चियाघर'का सञ्चालकले आग्रह गरे। कप माटोको थियो। माथिल्लो भागमा मार्करले 'सेतोपाटी' लेख्दै फेदतिर आफ्नो हस्ताक्षर ठोकेँ।
यहाँ चिया पिउन आउने प्रायः सबैले त्यसै गर्दा रहेछन्। चिया खाँदै गर्दा आफूले मिस गरिरहेका व्यक्ति वा वस्तुको नाम उल्लेख गरेर सजाइएका माटाका कपको लश्करै थियो।
'यी कप र हस्ताक्षर जहिल्यै यहाँ हुनेछन्, हटाउँदैनौं। तपाईं जहिले आए पनि हेर्न सक्नुहुनेछ,' चियाघरका सञ्चालक २४ वर्षीय समिर वली विश्वास दिलाउँदै थिए।
दाङको घोराहीमा गत महिनादेखि सञ्चालनमा आएको चियाघर धेरैका लागि नौलो र अलग छ। यहाँका फर्निचर लगायत सजावटका सबै सामग्री उपयोगहिन मानिने वस्तुबाट बनाइएको छ, अर्थात् पुनः प्रयोग गरिएका।
गाडी र मोटरसाइकलका टायरबाट बस्ने कुर्सी-टेबल बनेका छन्। भित्तामा कपदेखि गमलासम्म अड्याउने काम टायरबाटै भएको छ। जुटका बोरामा गरिएको आकर्षक पेन्टिङ भित्तामा सजाइएको छ। कुनै आकार नभएका काठका ठूटा बटुलेर काउन्टर बनाइएको छ।
यति मात्रै होइन, माछा राख्ने पेरूङ्गोको बीच खोलेर बल्ब बालिएको छ। नाङ्लो, ढाकी लगायत पुराना भएका सामग्री रंगरोगन गरी सजाइएको छ।
घोराही उपमहानगरपालिका-१२ का समिर हाल महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा राजनीतिशास्त्र पढ्दैछन्। विगत ६ वर्षदेखि बस समितिको कर्मचारीका रूपमा कार्यरत समिर बचेको समयमा आफ्नो व्यवसाय गर्छन्।
समिरलाई यस्तो आइडिया कसरी आयो त?
'यो सबै युट्युब हेरेर सिकेको हुँ,' उनले भने, 'उपयोगहिन वस्तुमा थोरै कला मिसाउन सके आकर्षक बनाउन र पुनः प्रयोग गर्न सकिन्छ भन्ने यसले उजागर गरेको छ।'
उनले धेरै टायर सडकबाटै उठाएर ल्याएको र केही भने २५ देखि ५० रुपैयाँमा किनेको बताए। आफूलाई आवश्यक परेमध्ये केही साइजका टायर भने अरू जिल्लाबाट समेत ल्याइएको उनले जानकारी दिए।
टायर रंगरोगन गरेर त्यसमा आकारअनुसार थोरै कपडा, शिशा, बलियो जाली आदि प्रयोग गरेर आकर्षक कुर्सी र टेबल बनेका छन्।
समिर भन्छन्, 'चिया त सबैले बेच्छन्, नयाँ र फरक केही गरौं भन्ने मेरो सोच हो। काम नलाग्ने सामान पुनः प्रयोग पनि हुने, अलग पनि देखिने।'
उनको चियाघरमा हाल १५/१६ प्रकारका चिया बन्ने उनले बताए। भविष्य ५०/६० प्रकार पुर्याउने उनको लक्ष्य छ।
दाङमा यस्तो सजावटका चियापसल नहुनाले चियाघर हेर्नै भनेर पनि ग्राहकको आकर्षण बढेको सञ्चालक समिर वली बताउँछन्।
चियाघरले चिया दिने माटोका कप दाङमै बनेका हुन्। तुलसीपुरको पर्सेनीमा वर्षौंदेखि कुमाल समुदायले माटाका भाँडाकुँडा बनाउँदै आएका छन्। २४ वर्षीय समिरले नयाँ ढंगले दाङमा चियाघर सञ्चालन गरेपछि त्यहाँको उत्पादनले पनि आज राम्रो बजार पाएको छ। उनले एउटा कप ३/४ रुपैयाँमा किन्ने जानकारी दिए।
'अब अलि ठूलो कप अडर गर्नुपर्छ भन्ने लागेको छ। केही महँगो पनि पर्नेछ,' उनले भने। तर उनले आफ्नो मागअनुसार कप पाउन नसकेको पनि गुनासो गरे। आवश्यक र भनेजस्तो कप नपाउँदा काठमान्डौं, चितवनतिरबाट किन्नु परेको समिरले बताए।
उनी दाङकै अर्को ठाउँबाट ल्याउने विकल्प खोजिरहेका छन्।