काठमाडौं महानगरपालिकाले चार वटा वडामा फोहोरलाई जैविक र अजैविक प्रकारमा वर्गीकरण प्रक्रिया सुरू गर्ने भएको छ। नगरमा बढ्दो फोहोर समस्या समाधान गर्न दीर्घकालीन कार्यक्रम सुरू गरिएको महानगरका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।
'फोहोर व्यवस्थापनका दीर्घकालीन समाधान खोज्दा वर्गीकरण आवश्यक देखियो,' श्रेष्ठले भने 'हाल चार वडामा सुरू गर्न लागिएको कार्यक्रम पाइलट प्रोजेक्ट हो।'
महानगरका १२, १८, १६ र २१ नम्बर वडामा यो कार्यक्रम पहिलो पटक सञ्चालन हुन लागेको उनले जानकारी दिए।
'यी वडामा सफल भयो भने ३२ सै वडामा यो योजना लागू गरिने छ,' उनले भने, 'केही समय भने लाग्ला।'
उनकाअनुसार उपभोक्ताले कम्तिमा पनि कुहिने र नकुहिने गरी दुई भागमा फोहोर वर्गीकरण गर्नुपर्नेछ। यसनिम्ति फरक-फरक डस्टबिनमा राख्न सकिन्छ। महानगरले डस्टबिन किन्न केही सहयोग पनि गर्ने उनले बताए।
'भान्साको कुहिने र अरू फोहोर अलग भए धेरै सजिलो हुन्छ। कुहिने फोहोर आफ्नै बारीमा वा मल बनाएर प्रयोग गरे झनै राम्रो,' उनले भने, 'हामीलाई जनताले सहयोग गर्नुपर्छ। यो काममा जोडबल हुँदैन। सबैले सहयोग गरे सफल हुन्छौं।'
नकुहिने फोहोर भने प्रकृतिअनुसार विभिन्न भागमा वर्गीकरण गरेर पुनः प्रयोगमा ल्याइने उनले बताए। पुनः प्रयोगमा ल्याउन नसकिने मात्र डम्पिङ साइटमा पठाइनेछ।
यसअघि पर्वतको कुश्मा नगरपालिकाले फोहोर वर्गीकरण गरी व्यवस्थापन सुरू गरेको थियो। कुश्माको कामको चौतर्फी प्रशंसा र अनुशरण भइरहेको छ।
काठमाडौं उपत्यकामा 'ब्लु वेस्ट म्यानेजमेन्ट' कम्पनीले पनि केही वर्षदेखि शंखरापुर र कीर्तिपुर नगरपालिकाको फोहोर संकलन गरी व्यवस्थापन गरिरहेको छ। साथै ठूल्ठूला होटलका फोहोर व्यवस्थापनमा पनि कम्पनीले काम गर्दै आएको छ।
कम्पनीले फोहोरलाई प्रकृतिअनुसार छुट्याएर ८० प्रतिशतभन्दा धेरै पुनः प्रयोगमा र १५ प्रतिशतभन्दा कम मात्रै ल्याण्डफिल साइटमा पठाउने गरेको कम्पनीका प्रबन्धक नवीनविकास महर्जनले जानकारी दिए।
'अब हामी स्रोतबाटै कुहिने र नकुहिने वर्गीकरण गर्ने प्रयासमाछौं,' उनले भने, 'स्थानीयलाई फोहोर वर्गीकरणको आवश्यकता बुझाउन गाह्रो छ। तर आह्वान गरेका छौं। बुझिसकेपछि प्रभावकारी पनि बन्दै जान्छ भन्ने विश्वास छ।'
सहरको ६० प्रतिशत कुहिने फोहोरलाई घरमै मल बनाउन सकिने महर्जन बताउँछन्। उनले फोहोरबाट मल बनाउने तरिका पनि सिकाए।
कुहिने र नकुहिने फोहोरलाई घरमा बेग्लाबेग्लै राख्ने। कुहिनेलाई स-साना टुक्रा बनाएर छिपछिप पानीसँग कम्पोष्ट बिन वा खाल्डोमा राख्ने। यसरी बनेको मल आफ्नै बारीमा हाल्ने वा बिक्री गर्न सकिन्छ।
'पुनः प्रयोग गरेर पनि बाँकी रहेका फोहोर नगरपालिकाका गाडीमा राख्ने हो भने फोहोरै कम संकलन हुन्छ। थुपार्ने ठाउँ कम चाहिन्छ,' नवीनले भने, 'घरघरबाटै यो पहल नथालेसम्म हाम्रो फोहोर समस्या कहिले सुल्झिँदैन।'
कम्पनीले अन्य नगरपालिकासँग समेत फोहोर व्यवस्थापनमा सहकार्य गर्ने योजना बनाएको महर्जनले बताए।