रसुवाको बाढीले विस्थापित भएका ४ सय ८५ जनालाई सुरक्षित गन्तव्यतर्फ पठाइएको छ।
भोटेकोशीमा आएको बाढीले स्याफ्रुबेँसीदेखि टिमुरे रसुवागढीसम्म जाने सडकखण्ड अवरूद्ध छ।
सडक अवरूद्ध भएपछि जोखिममा रहेका स्थानीय तथा अन्य व्यक्तिहरूलाई सशस्त्र प्रहरीसहित अन्य सुरक्षा निकायले अस्थायी पद मार्ग निर्माण गरी सुरक्षित स्थानमा पठाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
‘भीरमा अस्थायी बाटो बनाएर डोरीको मद्दत दिएर सुरक्षित स्थानतर्फ पठाउने काम भइरहेको छ,’ उनले भने।
साथै, भन्सार कार्यालय यार्डमा फसेका २ वटा कन्टेनर र एउटा जाँच पासका लागि राखिएको गाडीलाई पनि सुरक्षित स्थानमा सारिएको छ।
असार २४ गते आएको बाढीले २० जनालाई बेपत्ता बनाएका थिए। जसमध्ये नेपाल प्रहरीका सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनमा फेला परेको छ।
अन्यको शव तथा मानव अंग फेला परेपनि सनाखत हुनसकेको छैन।
शव तथा मानव अंगलाई सनाखतका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ।