नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले संविधान जारी भइसकेको अवस्थामा विकास र समृद्धिको अभियानलाई सफल बनाउन नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह गरेका छन् ।
महोत्तरीको जलेश्वरमा बुधबार बिहान ओयाजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले अब नेपाली काँग्रेस विकास कार्यलाई द्रुत गतिमा अघि बढाउने बताएका हुन् ।
उनले देश संघीय संरचनामा गइसकेकोले समाजलाई भ्रष्टाचार मुक्त बनाउन पनि नेपाली कांग्रेसलाई जिताउनु पर्नेमा जोड दिए। उनले जनतालाई सेवा प्रदान गर्न सिंहदरबारको अधिकार गाँउ गाँउमा पुगेको दाबी पनि गरे।
अर्को प्रसंगमा नेता पौडेलले अन्य राजनीतिक दलहरूले समस्या मात्र राख्ने तर काँग्रेस समाधान खोज्ने पार्टी भएकोले यसैमाथि भर गर्न मतदातासँग अपिल गरे । नेपाली काँग्रेसका जिल्ला सभापति महेन्द्रकुमार रायको सभापतित्वमा सम्पन्न भएको सो चुनावी सभामा महामन्त्री शशांक कोइराला, रामचन्द्र तिवारी, वजरंग नेपाली लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता र चुनावी मैदानमा उत्रेका उम्मेदवारहरूको सहभागिता रहेको थियो ।