‘वीरभूमि नेपाल हो
मातृभूमि नेपाल हो
कर्मभूमि नेपाल हो’
यो राष्ट्रिय गीत बुधबार सार्वजनिक हुँदैछ। यो गीतको चर्चा अन्यभन्दा अलि अलग छ, किनकि यसलाई गाएकी छन् एमाले सांसद सिन्धु जलेसा बुढाथोकीले। गीत रचना उनकै बाबु प्रचण्डबहादुर बुढाथोकीले गरेका हुन्।
बुधबारै सांसद सिन्धुकै स्वर र रचनाको ‘तीजै आयो दिदी र बैनी, नाचौं है छमछम माइतीघरैमा’ गीत पनि सार्वजनिक हुँदैछ। पढाइ र कामको सिलसिलामा विदेसिएका महिलाको समस्या र वेदना गीतमा पोखिएको छ।
सिन्धुको संगीत यात्रा राजनीतिसँगै सुरु भएको हो। प्रेरणा भने आफ्ना बाबु भएको उनी बताउँछिन्।
२०२६ सालमा अर्घाखाँचीमा जन्मिएकी उनी २०२९ सालमा सपरिवार मधेस झरिन्। उनका बाबु नवलपरासीको बर्दाघाटमा शिक्षक मात्र थिएनन्, प्रगतिशील गायक पनि थिए।
तत्कालिन समय लुम्बिनी अञ्चलमा नेकपा मालेको प्रभाव निकै थियो। उनका बाबु पार्टीमा आवद्ध थिए र पार्टीकै लागि गाउँथे। बाबुको पछि पछि लागेर सिन्धु गाउँदै हिँड्थिन्।
बाबुको तालमा ताल मिलाउँदै प्रगतिशील गीत गाउँदै हिँड्ने सिन्धु आज राजनीति र संगीत दुवै क्षेत्रमा सक्रिय छन्।
आफूले कहिलेदेखि गाउन थालें भन्ने उनलाई ठ्याक्कै याद छैन। २०४० सालदेखि भने धेरै ठाउँमा गाउँदै हिँडेको उनी सम्झिन्छिन्।
‘नजाऊ–नजाऊ दाइ लाहुर, भन्दै छ ल हेर देउराली’ यस्तै–यस्तै सन्देशमुलक गीत गाउँदै हिँड्थिन् उनी। गीत गाएकै बेला कयौंपटक प्रहरीले लखेट्दा लगाएको चप्पलसमेत छोडेर भाग्नुपरेको अनुभव उनीसँग छ।
उनले २०४३ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा नेकपा मालेका तर्फबाट निर्वाचनमा लडेका उम्मेदवारका लागि गीत गाउँदै भोट मागेकी थिइन्। त्यतिबेला मालेले जनपक्षीय भन्दै चन्द्रपाणी खनाललाई उम्मेदवार बनाएको थियो।
‘२०४३ सालमा पञ्चायतको उपयोग गर्ने भनेर पार्टीले जनपक्षीय उम्मेदवार उठायो। त्यतिबेला जिल्लाभरी गाउँदै र नाच्दै हिँड्ने एउटी फुच्ची केटी थिएँ म,’ सिन्धुले सेतोपाटीसँग भनिन्, ‘चरीलाई नभुलौं दाजुभाइ, लगाऊँ छाप हाँगाको चरालाई, भन्दै मैलै थुप्रै ठाउँमा गाएँ।’
निर्वाचनमा गीत गाउँदै हिँडेपछि उनी माले राजीतिमा सक्रिय भइन्। पढाइलाई निरन्तरता दिदैं उनी २०४३ सालमै अखिल नेपाल महिला संघ नवलपरासीको जिल्ला सचिव भइसकेकी थिइन्।
२०४५ सालमा उनी बुटवल क्याम्पस पढ्न आइन्। २०४७ मा दिव्यज्योति बहुमुखी क्याम्पस स्ववियुमा कोषध्यक्षसम्म भइन्।
विद्यार्थी राजनीतिमा होमिएकी सिन्धुले गाउन भने छाडिनन्। क्याम्पसमै हुँदा पनि उनी विभिन्न ठाउँमा स्टेजमा गीत गाएकी छन्।
अहिले पनि पार्टीका कार्यक्रममा उनले नगाई हुँदैन। सबैले आग्रह गरेपछि उनी गीत गाउने मुडमा पुग्छिन् र आफूलाई रोक्न सक्दिनन्। सेतोपाटीसँग कुराकानी गर्दा पनि उनी बेलाबेला गुन्गुनाइरहेकी थिइन्।
प्रगतिशील, लोक, आधुनिक र बाल विधा गरी करिब ३५ वटा गीत गाइसकेकी उनलाई गायनले निकै फाइदा गराएको बताउँछिन्।
‘मैले सुरुदेखि राजनीति र गायन सँगसँगै ल्याएको छु,’ उनले भनिन्,‘आफूसँग कला भएपछि जुनसुकै ठाउँमा पनि घुलमिल हुन सकिने रहेछ। मलाई मेरो गायनले राजनीतिमा अघि बढ्न निकै मद्दत गरेको छ।’
पार्टीभित्र पनि आफ्नो कला र गलाको सम्मान भएको उनी बताउँछिन्। ‘मलाई पार्टीका सबै तहका नेता तथा कार्यकर्ताले चिन्नुहुन्छ। पार्टीको गहना भन्नुहुन्छ। यसले मलाई गर्व महसुस हुन्छ,’ उनले खुसी हुँदै भनिन्।
संगीतमा सक्रिय भएपछि यस क्षेत्रका व्यक्तिहरुसँग नियमित भेटघाट र छलफल हुने उनी बताउँछिन्। राजनीतिज्ञ भएकाले भेटमा कलाकारहरुले आफूलाई ‘सांसदज्यू’ भनेर बोलाउने गरेको उनले बताइन्। ‘उहाँहरु सधैं मलाई तपाईंले संसदमा हाम्रो प्रतिनिधित्व गर्नुहुन्छ, हाम्रो पनि आवाज उठाउनुहोला। एउटा गायक सांसद भएकोमा हामी खुशी छौं, भन्नुहुन्छ।’
सांसद र गायक दुवै भूमिकामा उभिन कसरी सम्भव भएको छ?
हाम्रो प्रश्नमा उनले भनिन्, ‘म सँग साधना छ। म बिनाकाम एक्लै बसेर एक कप चिया पनि खान्नँ। मैले यसरी नै समय व्यवस्थापन गरेकी छु।’ उनले थपिन् ‘मैले आउँदै गरेका गीत गाएकी मात्र छैन, गीतका भिडियोमा अभिनय पनि गरेकी छु।’
कलाकारिताले सांसदको भूमिका कमजोर त बनाउँदैन नि?
उनले सहजै उत्तर दिइन्, ‘मैले प्रत्यक्ष निर्वाचित सांसदले गर्ने भन्दा धेरै काम गरेकी छु। मेरो प्रयासमा विकास निर्माणका आयोजनाहरु थुप्रै परेका छन्। त्यसैले म गायक हुँदा सांसदको मेरो भूमिका कमजोर हुँदैन। बरु बलियो हुन्छ।’
सांसदको भूमिका उनले जिम्मेवारीपूर्ण तरिकाले निभाएको दावी गरिन्। उनले भनिन्, ‘म संसदका समितिमा हुनेदेखि अरु सबै खाले बहसमा सहभागी छु, बोलेको छु। मैले आफ्नो राजनैतिक पाटोमा काम गर्न कुनै कसर छाडेकी छैन।’
जीवनमा राजनीति र संगीत सँगै उदाएकाले यी दुवैलाई मिलाएर अघि बढ्नेमा उनी विश्वस्त छन्।