नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले केन्द्रीय कमिटी बैठक दसैंपछि गर्ने प्रस्ताव गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले अहिले बर्खा रहेकोले केन्द्रीय कमिटी बैठक गर्न उपयुक्त नरहेको भन्दै दसैंपछि गरिने बताए।
भदौभरि संगठन सुदृढीकरण र जनपरिचालनका लागि विशेष अभियान सञ्चालन गर्ने प्रस्तावसमेत अध्यक्ष प्रचण्डको छ। उक्त अभियानको निष्कर्षसमेत समेटेर दसैंपछि केन्द्रीय कमिटी राख्न उपयुक्त हुने अध्यक्ष प्रचण्डको भनाइ छ।
‘आज अध्यक्षज्यूले विभिन्न एजेन्डाहरूमाथि बुँदागत रूपमा टिपोर्ट प्रस्तुत गर्नुभयो, भदौभर अभियान सञ्चालन गरेर दसैंपछि केन्द्रीय कमिटी बैठक राख्न उपयुक्त हुने उहाँको प्रस्ताव छ,’ उपमहासचिव हरिबोल गजुरेलले भने, ‘आज एजेन्डा राख्ने काम भयो, भोलिबाट त्यसमाथि छलफल हुनेछ। आज अध्यक्षबाहेक अरू कसैले पनि धारणा राख्नुभएन।’
उनका अनुसार आगामी केन्द्रीय कमिटी बैठकले महाधिवेशनबारे टुंगो लगाउनेछ। माओवादीमा उपमहासचिव जनार्दन शर्माले विशेष महाधिवेशन माग गर्दै आइरहेका छन्। तर अध्यक्ष प्रचण्डले अब विशेष महाधिवेशनभन्दा पनि महाधिवेशन नै गर्ने बेला भइसकेकोले दसैंपछिको केन्द्रीय कमिटीले यसबारे निर्णय लिने संकेत गरेका छन्।
२०७८ पुसमा माओवादीले राष्ट्रिय सम्मेलन गरेर ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने निर्णय गर्दै कार्यसमिति चयन गरेको थियो। प्रचण्डले आफूलाई अध्यक्ष घोषणा गरी त्यसको केही समयपछि पदाधिकारी घोषणा गरेका थिए। पूर्वप्रतिबद्धता अनुसार महाधिवेशन नभएको भन्दै उपमहासचिव शर्माले प्रचण्डको ध्यानाकर्षण गराउँदै आएका छन्।
‘अबको केन्द्रीय कमिटीले महाधिवेशनबारे निर्णय लिन्छ,’ उपमहासचिव गजुरेलले भने।
आजको बैठकमा अध्यक्ष प्रचण्डले समाजवादी मोर्चालाई माओवादीमै मिसाउनेबारे पनि कुरा राखेका थिए। समाजवादी मोर्चामा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलगायत दलहरू छन्। पछिल्लो समय अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पार्टी एकताबारे तारन्तार छलफल गरिरहेका छन्। यस कुरामा विप्लव भने असन्तुष्ट छन्। समाजवादी मोर्चालाई प्रचण्डले पार्टी विस्तारको अंग बनाउन खोजेको उनको आरोप छ।
माओवादी केन्द्रले भने पार्टी एकताका लागि प्रदेश-प्रदेशमा छलफल नै चलाइसकेको छ। उपमहासचिव गजुरेललका अनुसार कोशी र बागमती प्रदेशमा छलफल सुरू भइसकेको छ भने बाँकी प्रदेशमा पनि छलफल हुनेछ।
‘पार्टी एकताका बारेमा प्रदेशहरूमा छलफल चलिरहेको छ, तलको सुझाव कस्तो आउँछ, त्यसपछि मात्र एकताको रूपरेखा तयार हुन्छ,’ उनले भने।
स्थायी समिति बैठक तीन दिनसम्म चल्नेछ।
यो पनि: जनार्दनलाई पन्छाउन प्रचण्डको कसरत, दुई पटक भनिसके– तपाईं पार्टी छाडेर जानुस्!