राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पक्षधरले आज काठमाडौंमा गुट भेला गरेका छन्।
पार्टीभित्र मतभेद बढिरहेका बेला अध्यक्ष लिङ्देन पक्षधरले बिहीबार राखेको भेलामा १०० जनाभन्दा बढी नेताहरू सहभागी थिए।
बैठकमा संस्थापन इतरपक्षका प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, धवल शम्शेर राणा, कुन्ती शाहीलगायत नेताहरूलाई बोलाइएको थिएन।
अध्यक्ष लिङ्देन पक्षका हेमजंग गुरूङले राखेको भेलामा अध्यक्ष लिङ्देन पनि सहभागी भए, नेताहरूका कुरा सुने, भेलालाई सम्बोधन पनि गरे।
लिङ्देन पक्षका नेताहरूले 'पार्टीभित्रको अराजकताविरूद्ध कठोर बन्न' अध्यक्षलाई सुझाव दिएको एक नेताले बताए।
जबाफमा अध्यक्ष लिङ्देनले टिम एकढिक्का रहे र सबैको साथ सहयोग पाए आफू निर्मम ढंगले अघि बढ्ने बताएका थिए।
अध्यक्ष लिङ्देनले आफूलाई असहयोग गरेको भन्दै केही मनोनीत पदाधिकारीहरूलाई कारबाही गरेका थिए। त्यसपछि पार्टीभित्र मतभेद बढेको छ। नेताहरू माथि गरिएको कारबाही विधान विपरीत रहेको भन्दै फिर्ता लिन महामन्त्री धवल शम्शेर राणा लगायतको माग छ।
राप्रपामा पछिल्लो समय अध्यक्ष लिङ्देन पक्ष र महामन्त्री राणा पक्षधरले छुट्टाछुट्टै गुट भेला गर्दै आएका छन्। यस मतभेदलाई आगामी महाधिवेशनको तयारीका रूपमा पनि नेताहरुले अर्थ्याएका छन्।