बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफू पद र फोटो टाँस्नको लागि मात्रै मुख्यमन्त्री नभएको बताएका छन्।
नेपाल किसान महासंघ बागमती प्रदेशको प्रथम अधिवेशनलाई बिहीबार उद्घाटन गर्दै उनले पारदर्शी, उत्तरददायी र जनताप्रतिको जिम्मेवारी भएर काम गर्ने लक्ष्यसहित आफू मुख्यमन्त्री भएको बताए।
‘म पदको लागि, फोटो टाँस्न मुख्यमन्त्री भएको होइन। त्यसकारणले मैले पहिले नै सन्देश दिइसकेको छु, अहिलेसम्म अरू मुख्यमन्त्रीले के गरे गरेनन्, तपाईंहरू हेर्नुहोला। मैले पहिलो निर्णय नै बागमती प्रदेशभित्र रहेका गरिब, विपन्न, सिमान्तकृत, दलित, चेपाङ, जिरेल, भोटे, बनकरिया मध्येका छोराछोरीलाई अहिले २ वटा मेडिकल डाक्टर, २ वटा आयुर्वेद डाक्टर, २ वटा पशु चिकित्सक डाक्टर गरी ६ वटा डाक्टर प्रदेश सरकारले पढाउने निर्णय गरेँ। १० जना गरिबका छोरीहरूलाई नर्स पढाउने निर्णय गरिसकेँ,’ उनले भने।
साथै उनले मुख्यमन्त्रीको हैसियतले पाउने सुविधा नलिने बताए।
(न्युज एजेन्सी नेपाल)