नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा भेटवार्ता भएको छ।
पछिल्लो समय आरोप–प्रत्यारोपमा उत्रँदै एकले अर्कालाई पार्टी छाड्न भन्दै आएका नेपाल–खनालबीच शनिबार बिहान पौने दुई घन्टा कुराकानी भएको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।
अध्यक्ष नेपाललको जनकपुर जाने पूर्वनिर्धारित कार्यक्रम भएकाले संवाद छिट्टै टुंगिएको नेताहरूले बताएका छन्।
‘उहाँहरूबीच संवादको थालनी भएको छ। एक अर्काविरूद्ध नबोल्ने समझदारी पनि भएको छ,’ पाण्डेले सेतोपाटीसँग भने, ‘शनिबार धेरै लामो कुराकानी भएन। फेरि छिट्टै बस्ने र बाँकी विषयमा समझदारी कायम गर्ने भन्ने भएको छ।’
पाण्डेले दोस्रो तहका नेताहरूले भेटको सहजीकरण गरेको बताए।
‘पछिल्लो समय जेजति कुरा बाहिर आए, त्यसले वातावरण बिगार्ने देखेर दुई नेतालाई संवादमा राखेका हौं,’ पाण्डेले भने, ‘भेटका लागि म, प्रमेश हमाल, घनश्याम भूसालले सहजीकरण गरेका थियौं। हिजोको भेटमा उल्लेखनीय रूपमा बताउनुपर्ने केही छैन, अब अर्कोपटक बस्ने बैठकले एउटा आकार दिनेछ।’
यसैबीच शनिबार नै सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमबीच भेटवार्ता भएको थियो।
खनाल निवास डल्लुमा झन्डै ६ घन्टा चलेको छलफलमा पार्टीलाई एकताबद्ध बनाउने विषयमा कुराकानी भएको नेता गौतमले जानकारी दिए।
‘हामी पुराना साथी हौं, लामो समयदेखि कुरा पनि भएको थिएन, पार्टीकोभन्दा ज्यादा व्यक्तिगत कुराकानी भयो,’ गौतमले सेतोपाटीसँग भने, ‘त्यसरी बाहिर चर्चा गर्ने गरी कुनै कुरा भएको छैन। पार्टीलाई एकताबद्ध बनाउने, कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने कुरा भयो।’