न्याय परिषदले उच्च अदालतमा २७ जना न्यायाधीश सिफारिस गरेको छ।
बिहीबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले २७ जनालाई न्यायाधीशलाई सिफारिस गरेको प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिए।
परिषदले अधिकांस जिल्ला अदालतका न्यायाधीशहरूलाई उच्च अदालतमा न्यायाधीशको रूपमा सिफारिस गरेको छ।
कतिपय कर्मचारी, सरकारी वकिल तर्फबाट पनि न्यायाधीश सिफारिस भएका छन्।
परिषदका सचिव यमबहादुर बुढामगर सिफारिसमा परेका छन्। उनलाई उच्च अदालत सुर्खेतको जुम्ला इजलासका लागि सिफारिस गरिएको छ।
सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अच्युत कुईकेल पनि न्यायधीशको सिफारिसमा परेका छन्।
उच्च अदालत पोखराका रजिष्ट्रार खड्गराज अधिकारी न्यायाधीशमा सिफारिस भएका छन्।
उच्च सरकारी वकिलको कार्यालय पाटनका सहन्यायाधिवक्ता शंकर खत्री पनि न्यायाधीशमा सिफारिस भएका हुन्।
अब परिषदले सर्वोच्चको लागि एक न्यायाधीश र उच्च अदालतका लागि दुई जना मुख्य न्यायाधीश नियुक्त गर्न बाँकी छ।
यसअघि बुधबार बसेको परिषदको बैठकले पूर्व नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरेलाई प्रशासकीय अदालतको अध्यक्षमा नियुक्त गर्न सिफारिस गरेको थियो।