नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले महाधिवेशन गर्नुपर्छ भनेर माग गर्ने तर समयबद्ध रूपमा काम चाहिँ नगर्ने भनेर प्रश्न गरेका छन्।
उनले क्रियाशील सदस्यता नवीकरणमा भइरहेको ढिलाइप्रति लक्ष्य गर्दै समयमै सदस्यता नवीकरण गर्नुपर्नेमा जोड दिए।
‘क्रियाशील सदस्यता नवीकरण हुनुपर्यो, नयाँ क्रियाशील सदस्यता दिनुपर्यो, त्यसै त महाधिवेशन हुँदैन नि,’ कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका सिंहले लहानमा बिहीबार आयोजित कार्यक्रममा भने, ‘समयमा गर्नुपर्ने काम नगर्ने अनि समयमा महाधिवेशन हुनुपर्यो भनेर कराएर मात्रै हुन्छ?’
उनले विधानअनुसार ४ वर्षमा पार्टीको महाधिवेशन हुनुपर्ने भए पनि विशेष परिस्थितिमा एक वर्ष कार्यकाल थप गर्न सकिने बताए। विधान र संविधानले दिएको समयभित्रै १५ औं महाधिवेशन हुने उनको भनाइ छ।
‘पार्टी विधान र संविधानले दिएको समयभित्रै महाधिवेशन हुन्छ, राम्रोसँग मान्छे चिनेर महाधिवेशनमा मत दिनुहोला,’ उनले भने।
यसअघि २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा सिंह पनि सभापति उठेका थिए। त्यसबेला कसैले पनि पहलो चरणमा ५१ प्रतिशत मत ल्याउन सकेन। दोस्रो चरणमा भएको निर्वाचनमा सभापति पदमा उनले शेरबहादुर देउवालाई सहयोग गरेका थिए।