नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्।
बिहीबार रूपन्देही कारागार पुगेर भट्टराईले लामिछानेलाई भेटेका हुन्।
लामिछानेलाई भेटेर फर्केपछि भट्टराईले पत्रकारहरूसँग कुराकानी गर्दै लामिछानेलाई पत्रिका पढ्नसमेत नदिइएको बताए।
पञ्चायतमा समेत जेलमा पत्रिका पढ्न दिने गरेको उनको भनाइ थियो।
‘पत्रपत्रिका ल्याएर दिँदो पनि रहेनछ। हामी पन्चायतकालमा पनि पढ्ने गर्थ्यौं,’ उनले भने, ‘मैले एक जनालाई सोधेँ खै त्यस्तो आदेश छैन भन्नुभयो उहाँले। कमसेकम सूचनाबाट बञ्जित गर्न हुँदैनथ्यो। बस्ने ठाउँ पनि सोलिटरी कन्फाइनमेन्ट जस्तो रछ। जेल भनेपछि खुला ठाउँहरू हुन्छ।’
उनले यसबारे आफूले सम्बन्धित ठाउँमा भन्ने पनि बताएका छन्।
भाग्न सक्ने अवस्था नभएकाले लामिछानेलाई जेल बाहिरै राखेर मुद्दा लड्न दिनुपर्ने पनि बताए। ‘जनताको प्रतिनिधि भएको मान्छे भागेर पनि सुख पाउँदैन। अनुमान गरेर नै बाहिर नै गएर जमानतमा बाहिर राखेर मुद्दा पेस गर्ने यो व्यवस्था गर्नुपर्थ्यो,’ उनले भने।
लामिछाने सहकारी बचत रकम दुरूपयोगसम्बन्धी मुद्दामा रूपन्देही कारागारमा पुर्पक्षमा छन्।