जनमत पार्टीका अध्यक्ष सिके राउतले रूपन्देही–३ मा आफ्नै उम्मेदवार उठाउने बताएका छन्। रूपन्देही–३ मा संघीय लोकतान्त्रिक मोर्चाका तर्फबाट नागरिक उन्मुक्ति पार्टीले साझा उम्मेदवार खडा गर्ने तयारी गरिरहँदा जनमतले अलग्गै उम्मेदवार तय गर्ने राउतले बताएका हुन्।
‘भ्रममा नपरौं, जनमत पार्टीले मेचीदेखि महाकालीसम्म आफ्नै उम्मेदवार उठाउने रणनीति अन्तर्गत रूपन्देही–३ मा पनि आफ्नै उम्मेदवार उठाउनेछ। यस अगाडिको निर्वाचनमा अरू पार्टीहरू कांग्रेस वा एमालेको गठबन्धनमा सामेल भई चुनाव लड्दा जनमत पार्टी एक्लै नै चुनाव लड्दै आएको छ र गठबन्धन गरेको पूर्व अनुभव छैन,’ राउतले भनेका छन्।
जनमत पार्टी संघीय लोकतान्त्रिक मोर्चासँग संविधान संशोधन र अधिकार तथा पहिचानको आन्दोलनमा खडा नै रहेको उनले प्रष्टीकरण दिएका छन्।
‘मोर्चा लुज एलायन्सको रूपमा त्यसका लागि नै गठन भएको थियो र यो चुनावी मोर्चा होइन भनेर हामी गठन हुनुअगाडि र घोषणा हुँदादेखि नै स्पष्ट थियौं,’ राउतको भनाइ छ।