निर्वाचन आयोगले रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि २७ गतेसम्म दल दर्ता आह्वान गरेको छ। रूपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ।
‘कात्तिक १७ गते सम्पन्न हुने रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको रिक्त प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका राजनीतिक दललाई नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम आगामी साउन २१ गतेदेखिसाउन २७ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौँमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको छ,’ आयोगले भनेको छ।
दल दर्ताका लागि निवेदन दिँदा निवेदनमा खुलाउनुपर्ने विवरण तथा पेश गर्नुपर्ने कागजात:
(क) राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची – १२ बमोजिमको ढाँचामा निवेदन।
(ख) दल सम्बन्धी विवरण: राजनीतिक दलको पूरा र सक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सञ्जालको खाता।
(ग) दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या।
(घ) पछिल्लो पटक आयोग समक्ष दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र आर्थिक वर्ष ।
(ङ) उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न र उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार दिएको केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि,
(च) आर्थिक वर्ष २०८० /०८१ को वार्षिक लेखा परीक्षण प्रतिवेदन पेश गरेको मिति, तर,
(१) आर्थिक वर्ष २०८०/८१ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा एकीकरण वा गाभिनुपूर्वका दलको विवरण समेत देखिने गरी तयार गरिएको वार्षिक लेखा परीक्षण प्रतिवेदन।
(२) आर्थिक वर्ष २०८१/८२ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा साविकमा अलग अलग रहेका दलको वार्षिक लेखा परीक्षण प्रतिवेदन।
(छ) आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा दलको प्रमुख पदाधिकारीको दस्तखत।
(ज) उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्ने तोकिएको ढाँचामा पदाधिकारीको नाम थर, पद र सम्पर्क नम्बर सहितको दस्तखत नमूना।
(झ) दल दर्ताका लागि निवेदन पेश गर्दा संविधानको धारा २६९ को उपधारा (४) बमोजिमका शर्तहरू पूरा गरेको र यी शर्तहरू पूरा गर्ने प्रतिबद्धता जनाएको पत्र।
(ञ) दल दर्ताको निवेदन साथ प्रमुख पदाधिकारी वा प्रमुख पदाधिकारीले अधिकार दिएको व्यक्तिले प्रमाणित गरेको आयोगबाट स्वीकृत रुजु सूची (चेकलिस्ट)।