राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबारको प्रतिनिधि सभा बैठक ‘सामान्य नहुने’ बताएको छ।
केन्द्रीय समिति बैठकको निर्णयबारे आइतबार पत्रकारहरूलाई जानकारी दिने क्रममा कार्यवाहक प्रवक्ता मनिष झाले भने, ‘पर्सीको (संसद्) बैठक सामान्य हुने छैन।’
व्यक्तिगत काम परेर आफू छिट्टै निस्केको तर बैठक जारी रहेको बताउँदै कार्यवाहक प्रवक्ता झाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि तानिएको विषयमा छलफल भएको जानकारी दिए।
‘यथास्थितिमा भ्रष्ट र तस्करले चलाएको गठबन्धनले देशलाई कतै पुर्याउँला जस्तो छैन, यो गठबन्धन नै एक अर्कालाई बचाउन र खुलिसकेका फाइल बन्द गर्नलाई बनेको हो भन्ने दाबी गर्ने अवस्थामा हामी पुगेका छौं,’ उनले भने।
गृहमन्त्री लेखकले भिजिट भिसा काण्डमा प्रमाणित भए राजनीति छोड्ने भनेकोप्रति पनि उनले कटाक्ष गरे।
‘प्रमाणित भयो भने गृहमन्त्रीले राजनीति छोड्ने होइन, जेल जाने हो,’ उनले भने।
कार्यवाहक प्रवक्ता झाले पुराना दल र नयाँ दलबीच फरक मापदण्ड लागु हुने हो भन्ने प्रश्नसमेत गरेका छन्।
‘तपाइँहरूको चाहिँ प्रमाणित हुनुपर्ने, अरूलाई चाहिँ अभियोजन दर्ता भएकै आधारमा थुन्न थाल्नुभा छ’, उनले भने, ‘नयाँ पार्टीलाई आरोप मात्रै लागे पुग्ने हो?’
रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा यतिबेला कारागारमा छन्।
गृहमन्त्री भिजिट भिसा प्रकरणमा मुछिएपछि रास्वपाले उनको राजीनामा माग्दै आएको छ। ऋणको भारीमा थिचिएको अर्थतन्त्रमा सुशासन मात्र एक मात्र विकल्प हो भनेर आन्दोलनमा जाने हो कि भन्ने विषयमा पनि छलफल भएको उनले जानकारी दिए।