नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएको विषयमा असन्तुष्टि जनाएका छन्।
आइतबार विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै पूर्वमहामन्त्री सिटौलाले कर्मचारीले गल्ती गर्दा मन्त्रीले राजीनामा दिँदै जाने भए राज्यव्यवस्थै नचल्ने बताएका हुन्।
‘कुनै पनि अड्डा अदालतको अथवा कुनै पनि कार्यालयको कुनै कर्मचारीले गल्ती गर्छ भने ऊ जबाफदेही हुन्छ। ऊ जिम्मेवार हुन्छ। त्यस्तो अवस्थामा कार्यालयको प्रमुखले राजीनामा दिनुपर्छ भन्ने कुरा उठायौं भने राज्यव्यवस्था चल्दैन,' सिटौलाले भने।
त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीले भिजिट भिसामा ठगी गरेको विषयमा गृहमन्त्री विवादमा तानिएका छन्।
पार्टीभित्रै पनि उनले राजीनामा दिनुपर्ने आवाजहरू उठ्न थालेका छन्।
शनिबार गृहनगर विराटनगरमा पत्रकारहरूसँगको कुराकानीमा शेखर कोइरालाले गृहमन्त्री लेखक मुछिएको प्रकरणमा पद छाडेर छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए।
शेखरले राजीनामा मागिरहेका बेला सिटौला भने गृहमन्त्रीको पक्षमा उभिएका हुन्।
यही विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले अनुसन्धान थालेपछि गृह मन्त्रालयले बिहीबार अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ८ जनालाई सरूवा गरेको थियो।
अध्यागमन विभागमा रहेका नासुहरू प्रेमप्रसाद पौडेल र वीरभद्र जोशीको काठमाडौं जिल्ला प्रशासन कार्यालयमा र नासु नरबहादुर थापालाई जिल्ला प्रशासन कार्यालय बाँके सरूवा गरिएको थियो।
त्यस्तै, सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठ, कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरूङ र धनराज उपाध्यायको कारागार व्यवस्थापन विभाग वा अन्तर्गतमा सरूवा गरिएको थियो।
त्यस्तै अन्य ६ जनालाई पनि गृहले अध्यागमनबाट तानेको थियो। यसअघि गृहले अध्यागमन प्रमुख तीर्थराज भट्टराईको जिम्मेवारी खोसेर गृहमा तानेको थियो। योसँगै गृहले अध्यागमन कार्यालयबाट १५ जनाको सरूवा गरिसकेको छ।
गृहमन्त्री लेखकले भने यो प्रकरणमा मात्रै नभइ आफू कुनै पनि आर्थिक प्रलोभनमा परेको देखिए राजनीतिबाटै बिदा हुने बताउँदै आएका छन्।