राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले सरकारले डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउने घोषणा गरेको ६ महिनासम्म पनि कार्यान्वयन नभएको बताएकी छन्।
सोमबार प्रतिनिधि सभाको शून्य समयमा डाँगीले डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउन माग गर्दै अर्थमन्त्रालयलाई समेत पत्राचार गर्दा प्रधानमन्त्रीले ६ महिनाअघि सामाजिक सञ्जालमा लेखेर शुल्क हटाउने घोषणा गरेको भएपनि अहिलेसम्म कार्यान्वयन नभएको गुनासो गरेकी हुन्।
त्यसकारण छिटोभन्दा छिटो शुल्क हटाउन उनले माग गरिन्।
'सरकारले यसरी बारम्बार बचन मात्रै दिने काम नगर्ने हो भने त्यसले जनताको विश्वास तोड्ने काम मात्रै गर्छ। छिटोभन्दा छिटो निःशुल्क बनाउन आवश्यक कदम चाल्न अनुरोध गर्छु,' उनले भनिन्।
सांसद डाँगीले गम्भीर घाइते भएका नेपाली राष्ट्रिय खेलाडी आशिष राईको उपचारमा पनि सरकारले ध्यान नदिएको बताइन्।
'खेलाडीले देशलाई विश्वसामू चिनाउँछन्। राष्ट्रिय झन्डा ओडेर मैदानमा उत्रिन्छन्। तर जब उनीहरू घाइते भए सरकार मूकदर्शक भएर बस्ने गरेको छ। राष्ट्रिय खेलाडीलाई सरकार आफैले बेवास्ता गर्छ भने खेल क्षेत्रको भविष्य कता जान्छ?,' उनले भनिन्।
खेलाडीलाई महत्वका साथ हेर्न र राज्यलाई आफ्नो जिम्मेवारी पूरा गर्न सांसद डाँगीले सुझाव दिइन्।