गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बललाई अपराधको अनुसन्धान गर्ने जिम्मेवारी विधेयकले नदिएको प्रष्ट्याएका छन्।
सोमबार सशस्त्र विधेयकमाथि प्रतिनिधि सभाको बैठकमा भएको छलफलपछि उठेका प्रश्नको जबाफ दिँदै गृहमन्त्री लेखकले सशस्त्र प्रहरीले कुनै पनि अपराधको अनुसन्धान नगर्ने बताएका हुन्।
उनले सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा खटिएका बेलामा अपराध नियन्त्रण गर्ने अधिकार भएको र त्यसपछि सम्बन्धित निकायमै बुझाउनुपर्ने बताए।
‘सशस्त्र प्रहरी बललाई कुनै पनि अपराधको अनुसन्धान गर्ने, मानिसलाई थुन्ने, मुद्दा अभियोजन गर्ने अधिकार हुँदैन, त्यो प्रहरीको अधिकार हो,’ उनले भने।
सीमा क्षेत्रको सुरक्षा गर्ने जिम्मेवारी पनि सशस्त्र प्रहरीकै भएकाले पनि त्यहाँ हुने आपराधिक गतिविधि नियन्त्रण गर्नका लागि पक्राउ गर्नेसम्मको अधिकार भएको उनको भनाइ थियो।
‘त्यो सीमा क्षेत्रमा खटिएको ठाउँमा अपराध हुँदा सशस्त्रले पक्राउ गर्छ र तत्काल सम्बन्धित निकायलाई बुझाउँछ। सशस्त्र प्रहरीले अपराधको अनुसन्धान गर्दैन। मान्छेलाई थुनामा राख्दैन। मुद्दा चलाउँदैन। तर आफू खटिएको ठाउँमा अपराध भइरहेको छ भने तत्काल अपराध नियन्त्रण गर्ने र सम्बन्धित ठाउँमा पुर्याउने हो,’ उनले भने।
प्रहरीले गर्ने अधिकारलाई कटौती गर्दै सशस्त्र प्रहरीलाई अपराध अनुसन्धान सम्मको जिम्मा दिएको भन्दै सांसदहरूले छलफलको क्रममा प्रश्न गरेका थिए।
त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरीको अधिकारको विषय दोहोरो भएको गृहमन्त्री लेखकले सुधार गर्न सकिने बताए।