नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ थालनी गर्ने कार्यक्रम सोमबार झापाको बनियानीमा हुँदै थियो।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले उद्घाटन गरेको अभियान सुरूआतको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बोल्दाबोल्दै रिसाएर माइक छाडेपछि कार्यकर्ताले खल्लो महसुस गरेका छन्।
बोल्दाबोल्दैको मन्तव्य नटुंग्याई कार्यक्रमका उद्घोषकसँग रिसाएका श्रेष्ठ त्यत्तिकै बसेका थिए।
कचनकवलको बनियानीमा आयोजित कार्यक्रमलाई वरिष्ठ उपाध्यक्ष श्रेष्ठ सम्बोधन गरिरहेका थिए।
उनले बोलिरहेकै बेला कार्यक्रमको सञ्चालकसमेत रहेका माओवादी झापाका संयोजक राजु आचार्य अग्नी श्रेष्ठको नजिकै गएर उभिए।
‘अग्नीजीले उहाँलाई केही भन्नुभएकै थिएन, नारायणकाजी एक्कासि आवेशमा आउनुभयो, तपाईं मलाई मन्तव्य छोट्याउनुस् भन्नलाई अगाडि देखापरेको भन्दै उहाँ रिसाउनुभयो,’ माओवादी झापाका एक नेताले भने, ‘त्यति भनेर उहाँ थप नबोली रिसाउँदै गएर आफ्नो कुर्सीमा बस्नुभयो।’
श्रेष्ठले मन्तव्य टुंग्याउनलाई तपाईं उभिएको हो भनेर सोध्दा झापा संयोजक आचार्यले होइन भनेका थिए। तर, श्रेष्ठ भने रिसाएर मन्तव्य नटुंग्याई माइक छाडेर हिँडेका थिए।
नारायणकाजीपछि बोलेका अध्यक्ष दाहालले भने ‘केही मिस अन्डस्ट्यान्डिङ भएको’ बताएका थिए। बनियानीपछि माओवादीले झापाको राजगढमा कार्यक्रम आयोजना गरेको थियो।