नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले संविधान संशोधनमा माओवादीको कित्ता क्लियर रहेको बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले सत्ता पक्षले पटकपटक माओवादी केन्द्रलाई कित्ता क्लियर गर्न भनिरहँदा माओवादीको कित्ता पहिल्यैदेखि क्लियर रहेको बताएका हुन्।
'समाजवादी प्रणालीमा जान चाहन्छौं। हाम्रो कित्ता क्लियर छ। उत्पीडित जनताको हित गर्ने समाजवाद हाम्रो कित्ता हो,' उनले भने।
उनले माओवादी केन्द्रसँग सल्लाह नै नगरी संशोधन कुरा गरिएको पनि बताए। यद्यपि माओवादीको रोहबरबिना संविधान संशोधनको कुरा किमार्थ सम्भव नरहेको उनले बताए।
पौडेलले सुकुम्बासी सडक र खोल्साको जग्गा दिन लागेको विषयको पनि आलोचना गरे।
'बरू गिरिबन्धु टि-इस्टेटको जग्गा प्लटिङ गरेर सुकुम्बासीलाई दिइयोस्। छालाजुत्ता कारखानाको जग्गा दिइयोस्। माओवादी सहयोग गर्न तयार छ,' उनले भने।
पौडेलले लक्ष्यभन्दा एक खर्ब ३२ अर्ब कम राजस्व उठ्दा त्यसतर्फ ध्यान नदिई विपक्षीलाई कटाक्ष गरेर बसेको आरोप लगाए।
आगामी बजेटमा पनि आकार घटाउने र आफू अनुकूलका क्षेत्रमा मात्रै स्रोत सुनिश्चितता गर्ने गरी सरकारको तयारी गरेको उनले बताए।