ग्लोबल नेपाली
विराटनगरका सुजन लुइँटेल आठ वर्षअघि जापानी भाषा पढेरै जापान गएका थिए। तर त्यहाँ पुगेपछि भाषाकै समस्या भयो।
जापानी भाषामा कुरा गर्न खोज्दा शब्द नै फुरेन। नेपालमा सिकेको अनुसार केही शब्द र वाक्य जाने पनि जापानीसँग दोहोरो संवाद हुने गरी बोल्न गाह्रो पर्यो।
सामान किनमेलका लागि जाँदा भाषाकै कारण कठिनाइ भयो।
उनी एकपटक तेल किन्न पसलमा गए। उनीजस्तै भरखरै गएका दुई नेपाली साथी पनि सँगै थिए। उनीहरूले जापानी भाषामा तेल माग्न सकेनन्। अंग्रेजीमा भने तर बिक्रेताले बुझेनन्। उनीहरू रित्तै फर्किए।
हिँड्दै उनीहरूले जाँदा केही पर नेपाली रेस्टुरेन्ट देखे। त्यहाँ नेपालीहरूसँग भेट भयो। आफूलाई परेको समस्या सुनाए। उनीहरूले बताइदिएपछि बल्ल तेल किनेर लगे।
नेपालमा भाषा सिकेर गए पनि सुजन र उनका साथीलाई किन समस्या पर्यो त?
उनका अनुसार नेपालमा सिकेको भाषाले रैथाने जापानीसँग संवाद गर्न काम दिएन। सिकारूका औपचारिक शब्द रैथाने बोलीसँग नमिलेको उनले बताए।
'नेपालमा सिकेकाले जापानमा नपुग्ने रहेछ। सुरूका दिनमा त जापानीले बोलेको पनि बुझ्न गाह्रो, आफूले बुझाउन झन् गाह्रो भयो,' सुजनले भने, 'जापानमा भाषा जानेका नेपालीहरूको सहयोग लिन पाएपछि केही सजिलो हुँदै गयो।'
नेपालमा एक बीमा कम्पनीमा जागिर खाइरहेका सुजन पढाइका सिलसिलामा सन् २०१७ मा जापान गएका हुन्।
जापानमा उनको पढाइ जापानी भाषामै थियो। विद्यार्थीले हप्तामा बढीमा २८ घण्टा काम गर्न पाइन्छ। त्यति समयको काम पाउन पनि कठिन भयो। बल्लतल्ल उनले २२ घण्टा काम पाए। निर्देशन अनुसार सामान मिलाएर राख्नु उनको मुख्य काम थियो।

सुन्दा सजिलो भए पनि सामान मिलाउने काम गाह्रो थियो। भारी बोकेर हिँड्नुपर्ने होइन तर भारी बोकेजत्तिकै गाह्रो। गह्रौं सामान उचालेर मिलाउनुपर्थ्यो।
कमाइ ठिकै थियो, नेपाली रूपैयाँको हिसाबमा घण्टाको एक हजार रूपैयाँ।
उनले भने, 'एक वर्षको कलेज शुल्क नेपालबाटै तिरेर आएको थिएँ, त्यसमा ढुक्क थियो। अर्को वर्ष आफ्नै कमाइले तिर्नुपर्ने थियो। खानेबस्ने र अन्य दैनिक खर्चका लागि पनि कमाउनुपर्ने थियो।'
उनको काम रातिको थियो। नेपालमा छँदा बेलुका चाँडै सुत्ने बानी थियो। सुरूका दिनमा त बानी पर्न निकै कठिन भयो।
'नेपालमा हुँदा राति अबेरसम्म काम गर्ने बानी थिएन। जापानमा भने रात परेपछि काममा जानुपर्थ्यो,' उनले भने, 'दिउँसो तीन-चार बजे कलेजबाट आएर सुत्थेँ। अनि राति ९ बजेपछि काममा जान्थेँ। बिहान पाँच बजे आएर फेरि केही बेर सुतेर कलेज जान्थेँ।'
सुजन रेलमा केही बेर यात्रा गर्दा पनि भुसुक्कै निदाउँथे। उनी सुरूदेखि नै नागोया भन्ने ठाउँ बसेका हुन्। कामबाट फर्किँदा कहिलेकाहीँ थाहै नपाई आफू ओर्लिनुपर्ने स्टेसन कटेर टाढा पुग्थे। अन्तिम स्टेसनमा कर्मचारीले बोलाएको अनुभव पनि छ।
'ट्रेनमा जापानीहरू पनि निदाउँथे तर आफ्नो स्टेसन आएपछि कसरी हो, ठ्याक्कै थाहा पाउँथे र उठ्थे,' उनले भने, 'म चाहिँ भुसुक्कै हुन्थेँ।'
सुजनले केही महिनामा काम बदले। एउटा रेस्टुरेन्टको किचनमा सहयोगीको काम पाए। त्यो पनि सजिलो थिएन तर जापानी भाषा जान्न सजिलो भयो।
जापान पुगेपछि उनले भाषा सबैभन्दा ठूलो कुरा रहेछ भन्ने थाहा पाए। भाषामा अभ्यस्त भएर जापानीहरूसँग दोहोरो संवाद गर्न सक्ने भएपछि आफू अनुकूलको काम खोज्न सहज भयो।
सुजनका अनुसार जापानका रेल स्टेसनहरूमा जागिरको अवसरबारे जानकारी भएको पत्रिका राखिएको हुन्छ। त्यो निःशुल्क पढ्न पाइन्छ। त्यसमा कामको प्रकृति र रोजगारीदाताको फोन नम्बर लेखिएको हुन्छ।

जापानी भाषा पढ्न र लेख्न जान्नेले त्यही पत्रिकाबाट पनि नयाँ अवसर खोज्न सक्छ।
'काम जानेर मात्र हुँदैन, भाषा नजानेको व्यक्ति अन्तर्वार्तामा छनोट हुँदैन। आफू बसेको समुदायको भाषा जान्नु एकदमै महत्त्वपूर्ण हुन्छ,' उनले भने।
सुजनले विद्यार्थी भिसा परिवर्तन गरेर वर्किङ भिसा लिएका छन्। हाल उनी एउटा होटलमा काम गर्दैछन्।
भन्छन्, 'सधैं पढेर मात्रै पनि नहुने। चार वर्षदेखि वर्किङ भिसामा छु। होटल (लज) को फ्रन्ट डेस्कमा काम गरिरहेको छु।'
उनी कमाइबाट पनि सन्तुष्ट छन्। मासिक कम्तीमा तीन लाख नेपाली रूपैयाँ कमाउन थालेको उनको भनाइ छ।
सुजनको महिनामा ९ दिन बिदा हुन्छ। एकै हप्तामा चार दिनसम्म बिदा लिएर अर्को हप्ता पूरा काम गर्ने सुविधा पनि छ।
तीन वर्षयता सुजनकी श्रीमती पनि जापानमै छिन्। उनीहरूका एक छोरा छन्। कमाइको केही अंश छोराको पढाइमा खर्च हुन्छ। दैनिक खर्च छँदैछ। बचतबाट नेपालमा थोरै जमिन जोडेका छन्। केही पैसा बैंकमा जम्मा गरेका छन्।
सबैभन्दा ठूलो कुरा, आफूले जापानमा समय र श्रमको महत्त्व थाहा पाएको उनी बताउँछन्। अझै केही वर्ष जापानमै काम गरेर, राम्रो कमाइ भएपछि स्वदेश फर्किने उनको चाहना छ।
जापान जान चाहनेहरूलाई उनको सुझाब छ, 'जापानमा फटाफट कमाइ भइहाल्छ भन्ने सोच्नु हुँदैन। सुरूका दिनमा श्रम गर्न र दुःख बेहोर्न तयार हुनुपर्छ। मेहनत गर्दा कमाइ राम्रो हुन्छ।'
सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]