राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिका सदस्यहरूलाई राजनीतिक प्रशिक्षण दिएको छ।
शुक्रबारदेखि सुरू गरेको प्रशिक्षण आइतबार सकिएको हो।
‘राजनीतिक प्रशिक्षणको पाठ्यक्रम केन्द्रीय समितिबाट स्वीकृत गरिएको थियो। नयाँ बन्दै गरेको संगठनलाई प्रशिक्षित गराउँदै जाने योजना रास्वपाले केन्द्रदेखि प्रशिक्षण आरम्भ गरेको हो। यसअघि उपलब्ध विज्ञको आधारमा प्रशिक्षण गर्दै आएको थियो,’ कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।
रास्वपाको स्वीकृत पाठ्यक्रमको पहिलो प्रशिक्षण केन्द्रीय कार्यालय वनस्थलीमा चलेको उनले सेतोपाटीलाई जानकारी दिए।
पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी)ले प्रशिक्षणको औचित्य र महत्त्वबारे बताउँदै प्रशिक्षण सुरू गरेका थिए।
प्रशिक्षणमा राजनीतिक, शासन प्रणाली समाज, सामाजिक न्याय र कानुन, अर्थराजनीति र भूराजनीति, सांगठनिक, जिम्मेवारी र लक्ष्य, प्रशासनिक व्यवस्थाबारे केन्द्रीय सदस्य तथा सांसदहरूलाई प्रशिक्षित गरिएको थियो।
‘प्रशिक्षणका ६ मुख्य शीर्षकहरूलाई १५ भागमा विभाजन गरी कुल ५६ वटा विषयहरूमा दुईदिने प्रशिक्षण सञ्चालन भएको थियो,’ बुर्लाकोटीले बताए।
प्रशिक्षणमा कक्षागत प्रशिक्षण, व्यावहारिक अभ्यास र दस्तावेज अध्ययनलाई विधिको रूपमा लिइएको उनले बताए। जसमा व्याख्यान, प्रस्तुति, र समूह छलफल, घटना अध्ययन, भूमिकानाटक, र सामूहिक कक्षा, सम्बन्धित पुस्तक, संविधान, र पार्टी दस्तावेजहरू अध्ययन जस्ता विधिहरु समावेश गरिएको बुर्लाकोटीले जानकारी दिए।
रास्वपाले केन्द्रीय प्रशिक्षणमा प्रयोग गरेको सामग्रीका आधारमा प्रदेश, जिल्ला र स्थानीय पालिका संगठनलाई समेत प्रशिक्षण दिने तयारी गरेको छ।
पार्टीले प्रशिक्षणको मूल्यांकन विधिसमेत बनाएर गरेको उनको भनाइ छ।