(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
लाल बहादुर बस्नेत ९० वर्षका भए। गुल्मीको इस्मा गाउँपालिकाका लालबहादुर अहिले बुटवल उपमहानगरपालिका वडा नं. ३ गोलपार्कमा बस्छन्। ढाका टोपी र कोटमाथी रामनामी लेखिएको पहेंलो गम्छा घाँटीमा बेरेर लौरो टेक्दै डुलिरहेका लालबहादुरसँग सेतोपाटीको लागि गरिएको भलाकुसारी।
नमस्ते बुवा, आराम हुनुहुन्छ?
आरामै भएर यत्तिको डुल्न सकेको छु।
बुवाको घर कहाँ हो नी?
मेरो घर त गुल्मीको इस्मा हो। अहिले यहि गोलपार्कमा बस्छु अब बुटवलमै घर भन्ने त होला नी।
बुटवलमा बस्न थाल्नुभएको कति वर्ष भयो?
बुटवल बस्न थालेको चार वर्ष भयो।
यहाँ कोसँग बस्नुभएको छ?
बुढेसकालमा बुढाबुढीलाई जहाँ छन् छोरा बुहारी त्यहीँ जान पर्ने रहेछ। काइँलो छोरासँग बस्छु।
घरमा को को हुनुहुन्छ?
मेरो परिवार दुई नाल हो। कान्छी श्रीमतीतिर एउटा छोरो छ। जेठी श्रीमतीतर्फ चारभाइ छोरा छन्। छोरीहरु दुई बहिनी छन्। सबैको बिहे भइसक्यो।
दुइटा विवाह कसरी गर्नुभयो?
मैले त दुइटा विवाह गर्न चाहेको थिइन। जेठी श्रीमतीबाट चार भाई छोरा र दुई बहिनी छोरी जन्मिएका थिए। कसैको एक वर्षमा, कसैको तीन चार वर्षमा गर्दै सबै छोराछोरीको मृत्यु भयो। घरभरिका ६ जना छोराछोरी बितेपछि हामी बुढाबुढी पागल जस्तै भएका थियौं। श्रीमानले दोस्रो विवाह गरेपछि छोराछोरी बाँच्छन् भनेर श्रीमतीलाई कसले भनिदिएछ। त्यसपछि आफ्नै बहिनी मागेर विवाह गरिदिइन्। कान्छी विवाह गरेपछि जेठीतर्फ चार भाइ छोरा, दुइटी छोरी र कान्छीतर्फ एउटा छोरा जन्मिए। अहिले सबै जना सकुशल छन्।
अहिले पनि श्रीमतीहरु हुनुहुन्छ?
उनीहरु त मलाई एक्लै छोडेर स्वर्गमा गए। कान्छी श्रीमती २०३८ सालमा बितेकी हुन्, जेठी बितेको पनि सात वर्ष भयो। उनीहरु धर्मात्मी रहेछन् छिट्टै मुक्ति पाए। म पापी भएर होला बाँचिरहेको छु।
एकपटक पाएको जीवन जति धेरै बाँच्यो त्यति धेरै राम्रो होइन र?
होइन नी! तपाईं जब मेरो उमेरको जति हुनुहुन्छ त्यसपछि बल्ल थाहा पाउनुहुन्छ। बुढेसकालमा एक्लो हुन साह्रै गाह्रो रहेछ। छोरा बुहारीले स्याहारसुसार त राम्रो गर्छन् तर, उनीहरुले जति स्याहार गरे पनि आफ्नो जोडी भएजस्तो नहुने रहेछ।
छोरा-छोरीहरुले कत्तिको सुख दिएका छन्?
सुख दिएका छन्। छोराछोरी मात्र होइन मेरा त बुहारीहरू पनि सद्दे परेका छन्। धेरै माया गर्छन्। सबै बुहारीलाई म आफैले मागेर, रोजेर छोराहरुलाई विवाह गरिदिएको थिएँ राम्रा परेछन्। धेरै खुसी छु।
अहिले दिन कसरी बिताउनुहुन्छ?
दिउसो एकछिन वरपर डुल्छु। अरु बेला कोठाभित्रै बस्ने सुत्ने त्यहि त हो।
पहिले के काम गर्नुहुन्थ्यो?
पहाडमा बसेको मान्छेले हलो कोदालो चलाउने त हो। केहि वर्ष भारतको आसाममा बसें। त्यहाँ पियन काम गर्थें। धेरै बस्न मन लागेन त्यसपछि घर आएर खेतीकिसानी गरेर बसें।
बस्नलाई पहाडमा रमाइलो की बुटवलमा?
रमाइलो त बुटवलमै छ। पहाडमा त जानै मन लाग्दैन। आफूले आर्जन गरेको सबै जग्गा जमिन बाँझो पल्टिएको छ त्यस्तो हेर्न किन जानू। घर, बंगालो सबैमा ताला लागेका छन्।
तपाईंलाई के खान मन लाग्छ?
अब के खान मन लाग्ने हो र! उमेर छँदा मन लागेको खान पाइएन। धेरै छोराछोरी थिए पहिले उनीहरूलाई खुवाएर बल्ल आफूले खाइन्थ्यो। अहिले खानेकुरा पाए पनि शरीरले नखा भन्छ। कसै गरे पनि दिन बित्दै गएपछि सबै कुराको रहर चाहना हराउने रहेछ।
तपाईंको स्वास्थ्य कस्तो छ?
स्वास्थ्य ठिकै छ भन्ने कि ठिक छैन भन्ने। ९० वर्षको उमेरमा अलि-अलि बिमार त हुने पनि भयो। १५/१६ वर्ष भयो दमको औषधी खान्छु।
तपाईंलाई निद्रा कत्तिको लाग्छ?
निद्रा लाग्छ। रातिमा एक-दुई पटक जाग्छु। कहिलेकाहीँ पिसाब लागेर जाग्छु। कहिले त्यतिकै निद्रा खुल्छ।
तपाईंलाई ठिक्क पैसामा यस्तो खान पाए हुन्थ्यो, लगाउन पाए हुन्थ्यो भन्ने केही छ?
लाउने खाने केही पनि रहर छैन। पैसा त छ नी मसँग। भत्ता बुझ्छु तर केहिपनि खर्च गर्न मन लाग्दैन। छोरा बुहारीहरुले पनि दिन्छन्।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
सबैभन्दा खुसी त बुवाआमाको काखमा हुँदा भइयो होला। त्यसपछि बैस छँदापनि खुसी भइयो। अहिले पनि खुसी छु। किन दुखी हुने हो र!
तपाईंको सबैभन्दा धेरै चित्त कहिले दुख्यो?
छोराहरुलाई छुट्याउने बेलामा मेरो भागमा थोरै खेत जिउनी भनेर राखेको थिएँ। छोराहरुलाई म जिउँदो छँदासम्म मसँगै रहन्छ मरेपछि त्यसैबाट पिण्ड चलाइदिनू र बाँकी रहेको बाँड्नु भनेको थिएँ। अहिले त्यो खेत बाँझो हुँदा धेरै चित्त दुखेको छ। छोराहरुलाई बाँडेर खेती गरे हुन्थ्यो भन्छु आफ्नै बाँझो छोडेर हिँडेका छन् मेरो खेतमा कसले खेती गरोस्।
तपाईंले जिउनी राखेको खेतमा कति धान उब्जिन्छ?
धेरै त छैन। छोराहरु सबैलाई सातआठ मुरी धान उब्जिने खेत दिएर मलाई चारपाँच मुरी उब्जिने मात्र राखेको थिएँ।
तपाइँलाई आफ्नो टोल समाज कस्तो लाग्छ?
टोल समाज राम्रो छ। वरपर डुल्दा भेट्दा मान्छेहरु बोल्छन्। मेरा साथीहरु त यहाँ धेरै छैनन्। अलि-अलि भएका बुढाहरु पनि कोही बिते कोही पहाडतिर गए। पहाडमा छँदा सबैले हाइहाइ गर्थे।
यहाँ कसैले हाइहाइ गर्दैन?
बजारमा कसले हाइहाइ गरोस्। बुढाबुढी देख्यो भने अलि उमेरका मान्छे उता फर्किन्छन्। बोल्न पनि खोज्दैनन्। बुढाको त दिनै गयो नी! आफ्नो चल्दा सम्म सबैले खोज्ने रहेछन् अब त मेरो केही चल्दैन अरूले किन खोजून् र!
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ, ठिक चलेको छ भन्ने लाग्छ?
राजनीति त त्यति राम्रो चलेको जस्तो लाग्दैन। मैले राणा शासनदेखि अहिलेको गणतन्त्र भन्ने सम्मको शासन देखें। राणाशासन, पञ्चायत, बहुदल, गणतन्त्र जे-जे भनेपनि नाममात्र फरक हुन् शासन उस्तै छ। राणा शासनमा ठूला बडाका अगाडि बस्दा खुट्टा उपरखुट्टी लगाएर बस्न पाइने थिएन।
ठूलो घर बनाएर बस्न पाइन्नथ्यो। पञ्चायत शासनमा पनि चोर डाँकामात्र थिए। अहिलेका पनि सबै त्यस्तै छन्। जनताका छोराछोरी दिनदिनै मरेका छन्। भारतमा लम्साल नानी (प्रकृति लम्साल) को त्यसरी मृत्यु भयो। त्यो हेर्दा मेरा आशु आए। सरकारमा भएकाहरुलाई कुनै मतलब छैन।
तपाईंलाई नेपालको नेताहरुमध्ये सबैभन्दा को मन पर्छ?
अहिलेका नेता त कोही पनि मन पर्दैन। पहिलेका मनमोहन अधिकारी मन पर्थे। हामी बुढाबुढीलाई भत्ता दिन सुरु गरिदिएका तिनैले हो। उतिबेला उनले १ सयबाट सुरु गरेको भत्ता अहिले ४ हजार पुगेको छ। बुढाबुढीलाई त्यसले धेरै राहत दिएको छ। हामीले खान पाएर हो की राम्रै काम गरेको भएर हो उनी एउटा मात्र सद्दे लाग्थ्यो। अरु मन पर्ने नेता त कोही पनि छैनन्। महेन्द्र राजा पनि मन पर्थे। महेन्द्र राजा आठ-दश वर्ष अरू बाँचेका भए नेपालको धेरै विकास हुने रहेछ।
तपाईंले चुनावमा भोट हाल्नु हुन्छ?
पहिले त हालेको थिएँ। गएको चुनावमा भोट दिन गईन। मेरो भोट लिष्ट गुल्मीमा छ मान्छे बुटवलमा छु। भोट हाल्न मात्रै गुल्मी जान सकिन।
अघिल्लो चुनावमा कसलाई भोट दिनुभएको थियो?
अघिल्लो चुनावमा भोट त गोकर्ण विष्टलाई दिएको हो।
अब अर्को चुनावमा कसलाई भोट दिनुहुन्छ?
चुनाव आउने बेलासम्म के भन्छ मनले त्यहिअनुसार गर्ने हो।
तपाइँको विचारमा सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले चोर डाँका सबैलाई पक्रेर कारवाही गरे हुन्थ्यो। पहाडका जग्गा जमिन बाँझो नराखी काम गर्न सक्नेलाई खेती लगाउन दिने व्यवस्था गरिदिए हुन्थ्यो।