नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरूसँग म्याजिक संख्या रहेको बताएका छन्।
शनिबार काभ्रे-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसदमा माओवादी केन्द्रको ३२ सांसद संख्या म्याजिक नै रहेको बताएका हुन्।
'हाम्रो संख्या फेरि पनि म्याजिक नै छ। हामी ३२ भएको हुनाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी। र विपक्षी दल भनेको गभर्नमेन्ट इन् वेटिङ भन्छ। पर्खिराखेको सरकार हो,' अध्यक्ष प्रचण्डले भने, 'त्यसकारण यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो फेरि। चिन्तित हुनुपर्ने कुनै कारण छैन।'
यसअघि सोही हलबाट आफूले माओवादीको ३२ जना सांसद संख्या जादुयी भनेको स्मरण गर्दै प्रचण्डले त्यतिबेला त्यो भन्नाले कांग्रेस र एमाले केही अत्तालिएको बताए।
'मेरो भनाइले उनीहरू अझै बढी तरंगित पनि भए होलान्। त्यो नभनेको भए पनि हुन्थ्यो होला। हाम्रो संख्या फेरि पनि म्याजिक नै छ,’ अध्यक्ष प्रचण्डले भने।