रूकुम पश्चिममा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
शनिबार दिउँसो काठमाडौंबाट राडि आउँदै गरेको प्र. ०१००५ ख ९९६६ नम्बरको बस आठबिसकोट नगरपालिका-११ रिठास्थित भेरि करिडोरमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका अनुसार बस सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा परी चालकसहित ९ जना घाइते भएका छन्।
घाइतेहरूकमा चालक धादिङका ३१ वर्षीय खड्कबहादर तामाङ, धादिङकै २८ वर्षीय भीमबहादुर भुलन, रूकुम पश्चिम आठविसकोट नगरपालिका- ९ का ३१ वर्षीय प्रकाश गौतम, दोलखाको भीमेश्वर नगरपालिका-७ २६ वर्षीय प्रकाश मगराठी, आठबिसकोट-११ का १७ वर्षीय गणेश रसाइली छन्।
त्यस्तै जाजरकोटको नलगाड नगरपालिका-८ का ४५ वर्षीय भिमकुमारी चदारा, १० वर्षीय मानबहादुर चदारा, मोरङका २८ वर्षका आकाश काफ्ले र जाजरकोटको नलगाड नगरपालिका-१२ का १५ वर्षीया सङकुमारी विक घाइते भएका छन्।
उनीहरू सबैको उपचार भइरहेको पश्चिम रूकम प्रहरीले जनाएको छ।