नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका बेला लिएको ऋणलाई अनुदानमा रूपान्तरण गर्न चीन सरकारसँग आग्रह गर्ने भएको छ।
आउँदो मंसिर १७ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमण गर्दैछन्।
उक्त भ्रमणका बेला पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लागेको करिब ३३ अर्ब ऋणलाई अनुदानमा बदल्न आग्रह गर्ने एजेण्डालाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ। सरकारले चीनको एक्जिम बैंकलाई विमानस्थल निर्माण गर्दा लागेको ऋण तिर्न सकेको छैन।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले दुई वर्षअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए। तर विमानस्थलको आम्दानीको तुलनामा चिनियाँ बैंकको ऋणको किस्ता धेरै भएपछि सरकारले पटक-पटक चिनियाँ पक्षसँग ऋणलाई अनुदानमा रूपान्तरण गरिदिन आग्रह गर्दै आएको छ।
‘यसपालि पनि हामीसँग अरू खास एजेण्डा तय भइसकेका छैनन्, छलफलकै क्रममा छन्,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले सेतोपाटीसँग भने, ‘तर पोखरा विमानस्थलको ऋणलाई अनुदानमा कन्भर्ट गर्ने प्रस्ताव तयार भइसकेको छ। प्रधानमन्त्रीले चीन भ्रमणका बेला प्राथमिकतासहित उठाउनु हुनेछ।’
अरू एजेण्डाहरूबारे पनि छलफल भइरहेको परराष्ट्रका ती अधिकारीले बताए। चीन सरकारको सहयोग र लगानीमा सञ्चालित परियोजनाबारे छलफल गर्न परराष्ट्र मन्त्री आरजु राणा देउवाले शुक्रबार सरोकारवाला पक्षहरूसँग छलफल गर्दैछिन्।